काठमाडौं- करोनाबाट प्रभावित कर्जाको प्रोभिजनिङ गर्दा बैंकहरूको लाभांश वितरणयोग्य नाफा १२ अर्ब ४१ करोड रूपैयाँमात्रै देखिएको छ। कतिपय बैंकहरूको यस्तो नाफा ऋणात्मक देखिएको छ। बैंकहरू पिच्छे नै कोरोनाबाट प्रभावित कर्जालाई फरक-फरक हिसाबले प्रोभिजनिङ गर्दा लगानीकर्ताहरू अन्योलमा देखिएका छन्।
समान नाफा हुँदा कुनै बैंकको लाभांश वितरणयोग्य नाफा कसैको धेरै देखिन्छ भने कसैको ऋणात्मक छ। यसमा बैंकहरूले आफूखुसी चलाखी गरेको पूर्वबैंकर सुरज अधिकारीले आरोप लगाए। बैंकिङ क्षेत्र एउटै‚ समस्या पनि एउटै तर गणना विधि भने फरक हुनुले बैंकका सिइओहरूले आफूखुसी चलाखी गरेको अधिकारीको तर्क छ। ‘सबैको समस्या एउटै, लेखा प्रणाली एउटै तर नाफा गणना विधि किन फरक?,’ उनले भने।
कोभिड १९ बाट प्रभावित कर्जालाई बैंकहरूले कसरी लिएका छन् त्यसै आधारमा उनीहरूको प्रोभिजनिङ फरक फरक देखिएको प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बताए। ‘बैंकहरूले ब्याज गणना गरेअनुसार नाफा फरक-फरक देखिँदै आएको छ,’ उनले भने।
कोभिड १९ले भविष्यमा पुर्याउने जोखिमलाई व्यवस्थापन गर्न भन्दै अधिकांश बैंकले अहिले नै प्रभिजनिङ गरिरहेका छन्। कोभिड १९ को प्रभाव विस्तारै कम हुँदै गएपछि अहिले प्रभिजनिङ गरिएको रकम वितरणयोग्य नाफामा परिणत हुने शेरचनले बताए।
अधिकांश ऋणीले नेपाल सरकारबाट अझै केही राहातको स्किम आउँछ भन्ने आशाले कर्जाको ब्याज तथा किस्ता भुक्तानी नगरेको शेरचन बताउँछन्। नेपाल राष्ट्र बैंकले चैत मसान्तमा ब्याज भुक्तानी गर्ने ऋणीहरूलाई १० प्रतिशत छुटको व्यवस्था गरेको थियो। तर ऋणीहरूले अझै ठूलो स्किम आउने आशामा सक्नेले पनि ब्याज तथा किस्ता तिरेका थिएनन्। यसको प्रभाव तेस्रो त्रैमाशिक वित्तीय विवरणमा देखिएको शेरचन बताउँछन्।
कोभिड १९ को प्रभाव अझै केही समय रहिरहने देखिन्छ। असार मसान्तसम्म पनि यस्तै अवस्था रहिरह्यो भने कुनै पनि बैंकहरूले साधारणसभा नै गर्न नसक्ने अधिकारीको विश्लेषण छ। ब्याज छुटले ठूला लगानीकर्ता लाभान्वित हुन्छन्। तर साना लगानीकर्ता सबैभन्दा धेरै प्रभावित हुने अधिकारीले बताए। यस्तो समयमा साना लगानीकर्ताहरू विरोधमा उत्रन सक्छन्।
बैंकरहरूले नेपाल राष्ट्र बैंकको दुई प्रतिशत छुट गर्नैपर्ने बाध्यात्मक व्यवस्थाको झोंकमा मनलाग्दी वितरणयोग्य नाफा सार्वजनिक गरेको विश्लेषकहरूको आरोप छ। यो समय कतिपय बैंकका सिइओले आफ्नो विगतको नराम्रो ‘पर्फर्मेन्स’ ढाकछोप गर्ने अवसर पाएको अधिकारीको विश्लेषण छ। कोरोनाले प्रभावित पार्नुभन्दा अगाडिदेखि नै बिग्रिएका कर्जालाई पनि कोरोनाकै कारणले बिग्रिएको भन्दै उन्मुक्ति पाउने अवस्था आएको उनले बताए। त्यस्ता सिइओले बैंकको वितरणयोग्य नाफालाई कम देखाएको उनको आरोप छ।
कतिपय बैंकहरूले अहिलेलाई ऋणात्मक देखाएर भविष्यमा उपलब्धि भएको देखाउन पनि जबरजस्ती ऋणात्मक विवरण सार्वजनिक गरिरहेका छन्। यदि कोरोनाको प्रभाव सामान्य हुँदै गयो भने उनीहरूले अहिले जति पनि 'वाचलिस्ट'मा राखिएको छ‚ ती सबै ऋणलाई असल ऋणभित्र गणना गर्न सक्छन्।
नेपाल राष्ट्र बैंकले भने कोरोनाबाट प्रभावित कर्जालाई प्रोभिजनिङ के/कसरी गर्ने भन्नेतर्फ निर्देशन जारी गरेको छैन। बैंकहरूले कोरोनाबाट प्रभावित कर्जालाई जोखिम व्यवस्थापनका लागि छुट्याए पनि त्यस कर्जालाई खराब कर्जाअन्तर्गत भने गणना गरेको पाइँदैन। अधिकांश बैंकको खराब कर्जामा खासै परिवर्तन छैन। तर लाभांश वितरणयोग्य नाफा भने धेरै कम छ।
नेपाल राष्ट्र बैंक, बैंकर, बैंकका लगानीकर्ता तथा व्यापारीहरू बीचमा राम्रो सम्बन्ध छैन। बैंकर र व्यवसायी एउटै हुँदा कता बढी लाभ हुन्छ त्यतैतिरको लबिङ गरेका छन्। नेपालको बैंकिङ क्षेत्रमा अधिकांश ठूला व्यापारीकै लगानी छ।
बैंकहरूको ७० प्रतिशतभन्दा माथिका कर्जा ठूला लगानीकर्ता व्यवसायीमा नै प्रवाह हुने गरेको छ। उनीहरू अहिले उद्योग व्यवसाय बचाउन ५ प्रतिशतसम्मको ब्याज छुटको माग गरिरहेका छन्। बैंकको सेयरमा लगानी गर्ने लाखौं साना लगानीकर्ता यसको प्रत्यक्ष मारमा पर्छन्। त्यस्तै बैंकको ब्याजदर घटाउन माग गर्ने व्यवसायीहरूको दबाबले आफ्नो स-सानो निक्षेप बैंकमा जम्मा गर्ने साना लगानीकर्ता मारमा पर्छन्।
नेपालको बैंकिङ क्षेत्र ठूला व्यवसायीको नियन्त्रमा पुगेको विज्ञहरू बताउछन्। अहिले बैंकको कुनै पनि निर्देशन व्यापारीले प्रधानमन्त्रीमार्फत अर्थमन्त्री हुँदै राष्ट्र बैंकसम्म आउँछ। यसको धेरै थोर राजनितिक वृत्तले पनि लाभ पाउँछन्।
अहिलेको दुई प्रतिशत ब्याज छुटको स्किम पनि व्यापारीले प्रधामन्त्रीमार्फत अर्थमन्त्री हुँदै राष्ट्र बैंकलाई बाध्यात्मकरूपमा जारी गर्न लगाएको आरोप लाग्दै आएको छ। अहिलेको अवस्थामा वास्तविक पीडित ऋणीलाई दुई प्रतिशतको छुटले केही पनि राहात प्रदान गर्दैन। पर्यटन उद्योग क्षेत्रका व्यवसायीहरूलाई केही समयका लागि पुरै ब्याज छुट दिए पनि तङ्ग्रिन सक्दैनन्। उनीहरूका लागि नीतिगत प्याकेजको आवश्यकता पर्ने अर्थविद्हरू बताउँछन्।
बैंकको नाफा र वितरण योग्य नाफाबीचमा तुलना
बैंकको नाम (विवरण रु.०००) | चैत२०७६ | फरक (%) |
वास्तविक नाफा | वितरण योग्य नाफा |
नविल बैंक | ३‚१५८‚६८६ | २‚०९५‚२८४ | ३४ |
ग्लोबल आइएमई बैंक | ३,१५३,९४६ | ५७९,५०५ | ८२ |
राष्ट्रिय बाणिज्यबैंक | ३,०३६,२९५ | १,१५८,१६६ | ६२ |
एनआइसी एशियाबैंक | २,५०२,४९६ | ४०७,४९८ | ८४ |
नेपाल इन्भेष्टमेन्ट बैंक | २,४९५,५२७ | २४७,१५४ | ९० |
एभरेष्ट बैंक | २,३५२,६५७ | ९४३,६६१ | ६० |
हिमालयन बैंक | २,३१७,११४ | ८२८,७६३ | ६४ |
कृषि विकास बैंक | २,०४०,०२३ | १,२५८,८१० | ३८ |
प्राइम बैंक | २,०३०,६७५ | ६४१,२१४ | ६८ |
नेपाल बैंक लिमिटेड | १,९९६,५८३ | -६१,९८३ | १०३ |
एनएमबी बैंक | १,८८३,२८३ | ५८७,७०८ | ६९ |
स्यार्डर्ड चार्टर्ड बैंक | १,८०२,५९५ | १,३१३,३३३ | २७ |
सानिमा बैंक | १,६१८,७२२ | ५७६,७०० | ६४ |
प्रभु बैंक | १,४६१,१६२ | ७७४,९८१ | ४७ |
मेगा बैंक | १,४५१,०९० | ४५९,८४७ | ६८ |
नेपाल एसबिआई बैंक | १,४३८,२११ | १०४,३९२ | ९३ |
सिद्धार्थ बैंक | १,३३९,९८३ | -१५३,२१० | १११ |
माछापुच्छ्रे बैंक | १,१६६,८५५ | १८८,२१७ | ८४ |
एनसिसी बैंक | १,१६५,८८६ | ३०५,३२९ | ७४ |
सिटिजन बैंक | १,०९१,२४५ | ४१०,९६६ | ६२ |
लक्ष्मी बैंक | १,०८९,९७७ | -४१०,१०९ | १३८ |
कुमारी बैंक | १,०१२,७१३ | ४५०,००० | ५६ |
नेपाल बंगलादेश बैंक | १,००५,०१० | २८,०१५ | ९७ |
सनराइज बैंक | ९३५,२८३ | -१७५,५२० | ११९ |
सेञ्चुरी बैंक | ९१५,७७९ | १३४,११५ | ८५ |
बैंक अफ काठमाण्डू | ८७३,४९३ | -९०,८८३ | ११० |
सिभिल बैंक | ३६०,५३४ | -१९०,७३२ | १५३ |
जम्मा | ४५,६९५,८२३ | १२,४११,२२१ | ७३ |
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।