छब्बीस दिन भइसक्यो । म घरबाट एक पाइँला बाहिर निस्किएकी छैन । झ्यालबाट आँखै अगाडिको चौर चहार्छु । सुकेका घाँसमा हरियो थपिदैछ। सँगै जोरपैयुँ बैंसले उन्मुक्त फुलिरहेछन्। रुखमुनि कालो ढाडे बिरालो हाइ काडिरहेछ। चराहरुको चिरिबिरिसँगै एक हुल घामकिरी र पुतली लुकामारी खेलिरहेछन्। चौरले एक्लै तापिरहेको चैतको पारिलो घामको औधी आशक्ति जागेर आउँछ। सोच्छु, एक टुक्रा घाम आफूमा समाहित गरिआउँ। तर, यो झ्याल छोडेर उता अर्को ढोका खोल्दै एक तला तल ओर्लिएर गेट खोलेर सडकबाट पार्कभित्र छिरेर चौरसँग अलिकति घाम सापटी माग्ने जाँगर चल्दैन।
पारी सुनसान उत्तानो पल्टिएको सडक हेर्छु। सधैं थरिथरिका मान्छे र सवारीसाधनले भरिभराउ सडक अहिले ६ दिनदेखि थकाइ मारिरहेछ। वरपरका छरछिमेकी सवै घर-घरमा थन्किएका छन् । पल्लो घर र वल्लो घरका छिमेकी कहिलेकाहीँ आ-आफ्नो छतबाट यो उच्चाट्लाग्दो बाध्यात्मक थुनाइको गुनासो गर्छन् । तर, किन-किन मलाई यो लकडाउन प्यारो लाग्न थालेको छ, आफ्नो लाग्न थालेको छ।
चार कोठाको फ्याल्टमा म एक्लै छु। न म बाहिर निस्कन सक्छु, न कोही भित्र पस्न। एक्लै छु, अनि खुशी पनि। चामलको भात पकाएर अपवादमा खाने गरेकी छु। धेरैजसो त थुक्पा बनाएर खाने गर्छु, किनेमा मिसाएर। बटुकामा थुक्पाको झोलमाथि तैरिएका किनेमाका टुक्रा हेर्छु, अनि आफैं अतितका स्मरणमा तैरिन थाल्छु। ताम्सानु, मकालु हिमाल काख छेउछाउ अवस्थित गाउँ । त्यही गाउँमा हो पहिलो पटक थुक्पा खाएको किनेमा मिसाएर।
म मैतिदेवीमा फूपूसँग बस्न थालेको एक वर्ष भइसकेको थियो। बुवाको दरबन्दी बनेपाको स्कुलमा थियो। उतै बस्नुहुन्थ्यो र बेलाबखतमात्र यता आउनुहुन्थ्यो। पहिले म बुवासँगै बस्थें। पछिल्लो एक वर्षचाहिँ ढुक्कै फुपुसँग। चैतको महिना थियोे। म स्कुलको अन्तिम वार्षिक परीक्षा सकाएर बसेकी थिएँ। बुवा पनि स्कुलको वार्षिक परीक्षा सकाएर आउनुभएको थियो। आउँदो वैशाखदेखि बुवाको कार्यस्थल दुर्गम हिमाली भेगमा तोकिएको रहेछ।
बुवा फुपूलाई त्यही सुनाउँदै हुनुहुन्थ्यो। साथै मलाई सँगै लैजाने कुरा पनि। फुपुले काउली काट्दै गरेका आफ्ना हात र चक्कु टक्क रोकेर भन्नुभयो, 'कस्तो कुरा गर्छस् तँ पनि। कता कुनाकाप्चाको गाउँमा च्यापि हिंड्छस् तँ यस्लाई। न बस्ने आफ्नो घर, न खाने आफ्नो खाना। १० पूरा पुग्न लागी। ठूली हुँदैछे। मसँगै बसोस। घरको कामकाज सिक्छे, व्यवाहारिक बन्छे। यस्को आमा समान हुँ म। आमा जस्तै बाउ काँ हुन सकिन्छ र भाई!'
बुवाले पुलुक्क मतिर हेर्नुभयो। मेरा आँखा खै कसरी पढ्नुभयो कुन्न? भन्नुभयो, 'सबथोक गुमाएर बुढेसकालमा यो एउटी पिउसी छे। मसँगै हिडोस्। जिन्दगी बुझ्छे, जिन्दगीका अफ्ठ्यारा बुझ्छे। अफ्ठयाराले झन् खारिन्छे। जिन्दगीका पाठ सिक्नु सबैभन्दा ठूलो हो। अरु कुरा त ईच्छा भए जैले पनि सिक्न सक्छे दिदी यस्ले।'
फुपुले लामो सास फेर्दै भन्नुभयो, 'अब लान्छु भनेरै आएको रहेछस्। तँलाई रोक्न कस्ले पो सकेको छ र आजसम्म? त्यै यस्को पढाई बिग्रेला कि भन्ने चिन्ता पनि हो । कता यहाँको स्कुल, कता त्यो गाउँको स्कुल।'
बुवाले एक टुक्रा काउली हातमा खेलाउदै फुपुलाई सम्झाउनुभयो, 'त्यै त चुनौती हो नि दिदी। म जुन स्कुलको प्रमुख भएर जाँदैछु। त्यहीँ स्कुलमा आफ्नो सन्तानलाई पढाउने हिम्मत राख्न सक्दिन भने, त्यो स्कुललाई विश्वास गर्न सक्दिन भने म आफैंलाई कसरी विश्वास गर्न सक्छु? '
फुपुले हार मान्नुभयो, 'लु ! लु ! अब मैले के भन्नु?हुन त जति राम्रो पढेलेखेपनि छोरी मान्छेलाई त्यै हो। आफूले त्यत्रो पढियो। ई ! यसरी डुक्रीनु परेको छ।'
मेरो मन खुसीले बुरुक्क उफ्रियो। झन्डै मेरा खुट्टा पनि। कसरी बुवाले मेरा आँखा दुरुस्तै पढ्न सक्नुभयो। बिना शब्द, बिना आवाज। आमामात्र हैन, बुवा जस्तो पनि यो संसारमा अरु कोही हुँदैनन्।
जति खुसी म बुवासँगै जान पाएकाले भएकी थिएँ, त्यति नै फुपुको घरमा नबस्न पर्ने भएकाले पनि थिएँ। हो, फुपुले मलाई आफ्ना दुईछोरा सरह नै माया गर्नुहुन्थ्यो, एक आमाले जस्तै । तर फुपाजु। फुपाजुले मलाई माया गर्नुहुन्थ्यो तर एक बुवाले जस्तो हैन। फुपाजुका आँखामा म बुवाको माया हैन अरु नै केही देख्थें। सानै थिएँ, ठम्याएर किटानी गर्न सक्दिनथें। फुपाजुको मायाले बिझाउँथ्यो, चिमोट्थ्यो, लाज लगाउँथ्यो।
फुपाजु, 'खै, खै नानीलाई माया गरौँ' भन्दै आफ्ना दाह्री मेरा गाला, घाँटी अनि पेटमा दल्नुहुन्थ्यो। 'मेरी नानी कति राम्री' भन्दै मेरा गाला, नितम्ब अनि पेट चिमोट्नुहुन्थ्यो। 'मेरी नानी हाँसी, हाँसी' भन्दै जबर्जस्ती घाँटी, काखी अनि पेटमा काउकुती लगाउनुहुन्थ्यो। म रुनु न हाँस्नु हुन्थेँ, भित्र रुन्थे, बाहिर हाँस्न सक्दिनथे। मेरा लुगा फेरिदिन जहिल्यै अग्रसर हुनुहुन्थ्यो फुपाजु।
म लाजले भुतुक्कै हुन्थें तर उहाँलाई लाज लाग्दैन्थ्यो। मेरा आँखाले लाख बिन्ती गर्थे फुपाजुलाई। ५० वर्षका फुपाजु बुवा भन्दा ४ बर्ष जेठो हुनुहुन्थ्यो तर मेरा आँखा पढ्न सक्ने ४ प्रतिशत क्षमता र परिपक्वता पनि उहाँमा थिएन। बिरामी हुँदा हेरचाह गर्दा बाहेक, हात समातेर बाटो हिडाउदा बाहेक, स्याबासी दिँदा बाहेक बुवाले कहिल्यै पनि फुपाजुले जस्तो माया गर्नुभएन।
न मलाई न अरु कसैलाई । तर उहाँले जति माया मलाई कसैले गर्दैनन् भन्ने कुरा उहाँको आँखामा टड्कारो देखिन्थ्यो। साच्चिकै, बुवाजस्तो यो संसारमा अरु कोही हुँदैनन्।
काठमाडौंबाट प्रस्थान गरेको लगभग ५ दिनपछि बुवा र म ताम्सानु गाउँ पुग्यौं। चिसो ताम्सानु न्याना मान्छेहरुले भरिएको रहेछ। सानो गाउँले बजारबाट सुरु हुने ताम्सानु गाउँ बजारबाट छिटफुट बस्ती हुँदै माथि स्कुलमा गएर टुंगिदो रहेछ। बजारबाट बस्ती सुरु हुने ठाउँमा बुवा र म बस्ने क्वाटर थियो। क्वाटरबाट बजार पस्ने मुखैमा खाजा खाना खाने पसल थियो, लाकफुटी र पासाङफुटीकी आमाको पसल। पुगेको दिनै लाकफुटी र पासाङफुटीकी आमाले किनेमा मिसाएको थुक्पा दिइन्, चौंरीको आलो छुर्पीसँग गोरुको सुकुटीको अचार दिइन्।
ठस्स गनायो। ग्यासट्राइटिस भएको मान्छेला हावा छाडे भन्दा खराब । मैले पुर्लुक्क बुवातिर हेरे। बुवाले 'मीठो छ, खाइहेर त' भन्नुभयो। साँच्चै! उधुम गनाएपनि स्वाद अत्यन्त मीठो थियो, त्यहाँका मान्छेका मुस्कानझैँ। पसलमै मेरा साथी पनि बने-लाकफुटी र पासाङफुटी। जुम्ल्याहा दिदिबहिनी। अनुहार, जिउडाल सब दुरुस्त तर बानी व्यवहारमा भने अनगिन्ती अन्तर। लाकफुटी अन्तर्मुखी र अल्पभाषी थिई भने पासाङफुटी मुफट र बाह्यमुखी।
लाकफुटी सानो स्वरमा मलाई 'सताक्षी’ भन्थी। पासाङफुटी ठूलो स्वरमा ' ओ सहरकी केटी’ भनेर बोलाउँथी। पासाङफुटी लाकफुटीको कपाल तानिदिन्थी, कापी च्यातिदिन्थी, लाकफुटीको भागको उसिनेका आलु र जिम्बुको अचार खाइदिन्थी। यही व्यवहारिक भिन्नताले मात्र म लाकफुटीलाई लाकफुटी र पासाङफुटीलाई पासाङफुटी भनेर छुट्याउन सक्ने भएकी थिएँ।
८ कक्षासम्म पढाई हुने स्कुलको ७ कक्षामा हामी सातैजना विधार्थी थियौं। सबैभन्दा सानी भएकीले या सम्भवत: हेडसरकी छोरी भएकीले शिक्षक, विध्यार्थी सबैले मलाई माया गर्थे, ख्याल राख्थे। सबैभन्दा माया त मलाई लाकफुटीले गर्थी। स्कुल जादा सँगै जान्थ्यौं, एउटै बेन्चमा बस्थ्यौं अनि फर्कदा सँगै फर्कन्थ्यौं। बुवा अरु सरहरुसँग गफिँदै अगाडि हिंड्नुहुन्थ्यो। पासाङफुटी र अरु विद्यार्थी हल्ला गर्दै हिँड्थे। लाकफुटी र मेरो ध्याउन्नचाहिँ बाटो वरपर फलेका किम्बु र ऐसेलु खानमा हुन्थ्यो।
लाकफुटी पाकेका ऐसेलु र किम्बु छानेर टिप्थी र सुरुमा मलाई खान दिन्थी अनि मात्र आफू खान्थी। उकालोमा मेरो झोला बोकिदिन्थी, मेरा खुट्टामा लागेका जुका आफ्ना हातले निकालिदिन्थी, मेरा फ्रकमा लागेका कुरो टिपिदिन्थी। साथीको भन्दा बढ्ता आमा र दिदीको माया र हेरचाह ऊ मलाई दिन्थी।
शान्त र सरल लाकफुटी पढाइमा कमजोर थिई। लाकफुटीमात्र किन पासाङफुटी अनि कक्षाका सबै पढाइमा कमजोर थिए। गणित र अङ्ग्रेजी बिषयमा त झनै कमजोर। मैले ५ कक्षामा हल गरिसकेको बिजगणित यहाँको सर आफैं हम्मेहम्मे मिलाउनुहुन्थ्यो। विद्यार्थीलाई बुझाउन सक्नु त परको कुरा। गणित बिषय पढाउने भए नि सरको मनपर्ने बिषय भने विद्यार्थीलाई सजायँ दिनुथियो।
चेप्टे खेलाएर , टाउकोमा ट्वाक हानेर, भाटाले चाकमा हानेर। चेप्टे जोडीमा खेल्न पर्थ्यो। एकअर्कालाई जोडले चेप्ने हड्डी दुख्नेगरी, कुस्ती खेलेजस्तै। मैले कहिल्यै चेप्टे खेल्न परेन। न त टाउकोमा ट्वाक र चाकमा भाटा खान नै। तर गणित सर मेरा नाक, गाला र कपाल भने बेलाबखत सुम्सुम्याउनुहुन्थ्यो। यत्तिकै, त्यत्तिकै, बिनाकारण । मेरा आँखाले बारम्बार भन्थे उहाँलाई, 'मलाई तपाईंको छुवाई मन पर्दैन।' तर उहाँमा ती पढ्न सक्ने सामर्थ्य थिएन। किनकि उहाँ मेरो बुवा हुनुहुन्थेन। साँच्चै भनेको बुवाजस्तो संसारका सवै कहाँ हुन्छन् र!
एकदिन खाजा खाने बेलामा लाकफुटी र पासाङफुटीको झगडा पर्यो। लाकफुटीले मेरो लागि वाजिपा ल्याएकी रहिछे। निकाल्दै थिई, पासाङफुटीले खोस्न खोजी। दुईजनाको तानातानमा वाजिपा सब भुइँमा पोखियो। पासाङफुटी 'खा तेरो सिनो उठाएर' भन्दै थिई, लाकफुटी हुर्रर गएर कालोपाटीमुन्तिर राखेको पानीको जग उठाएर ल्याई अनि भएभरको पानी पासाङफुटिको टाउकोमाथि खन्याइदिई।
रिसले उग्र पासाङफुटी लाकफुटीको कपाल लुछ्दै थिई। गणित सरले देख्नुभयो। पहिले दुबैको चाकमा भाटाले हान्नुभयो, टाउकोमा कैयौंपटक ट्वाक हान्नुभयो अनि चेप्टे खेलाउनुभयो। अन्त्यमा स्कुल र चौरको एक पाटो पासाङफुटीले अनि अर्को पाटो लाकफुटीले सफा गरिसकेर मात्र घर जान पाउने सजायँ तोक्नुभयो। बुवा दुई दिनको कामले सदरमुकाम जानुभएको थियो। नत्र यो सव हुन दिनु हुन्नथ्यो। बुवा भनेको बुवा नै हुनुहुन्थ्यो सवैका लागि।
छुट्टी भयो। पासाङफुटीले आफ्नो सजायँ सकिसकेकी थिई। किनभने उसलाई सानो पाटो परेको थियो। लाकफुटी अझै सफाई गर्दै थिई। सबै विद्यार्थी घरतिर लागे। पासाङफुटी आफ्नो र लाकफुटीको झोला च्यापेर बुकुर्सी मारी। म भने अड्किरहे। अन्ततः गणित सरले मेरो झोला पियन दाईलाई थम्याइदिदै क्वाटरसम्म छोडिदिन भन्नुभयो। मैले लाकफुटीतिर हेरे। उसले पनि पिलपिल आँखाले मतिर हेरी। म जाउँ, नजाउँको दोसाँधमा परें। गणित सरले बिस्तारै घचेट्दै, ' जाउ, जाउ यति सफा गरिसकेपछि घर पठाईदिहाल्छु नि' भन्नुभयो।
पियन दाईले एक हातमा मेरो झोला अनि अर्को हातले मलाई डोर्याउँदै क्वाटरसम्म लिएर आउनुभयो। लुगा फेरें। अनि लाकफुटीका पिलपिल आँखा र बुवाका मायालु आँखा हेर्दै ओछ्यानमा भुसुक्क निदाएँ। कसैले मलाई झक्झकाएर बिउझायो। पासाङफुटी रहिछे। भनी 'ओ आमाले बोलाको छ खाना खान'। अनि दगुरिहाली । घडी हेरे। ६:४० भएको रहेछ। लाकफुटी नि घर आईसकी होली त। ऊ नआएर किन पासाङफुटी आई मलाई बोलाउन। मसँग रिसाइ कि के हो लाकफुटी? मनमा चस्का पस्यो। मुख धोएँ अनि ४ मिनेटमा पसल पुगें। लाकफुटी र पासाङफुटीकी आमाले खण्डेथालमा भात, मागु मिसाएको मासको दाल र झ्याउ मिसाएको सुंगुरको मासु राखिदिइन्। सँगै टिम्मुरको अचार पनि।
अरु बेला लाकफुटी नि मसँगै खाना खान्थी। 'लाकफुटि खै त ?' लाकफुटि र पासाङफुटिकी आमाले कति सजिलै पढिन मेरा आँखा (आमा जो हुन्)। भनिन्, 'लाकफुटी खाँदैन रे आज। अघि भर्खर भर्खरको आइमरेको पो आज घर। तिमारु सँगै आएनछ आज है। गाभा टिप्न मुन्टिगाको भन्दैथ्यो। एक थोपो ल्याइमरेको चाइँ हैन। माथि सुतिबसेको छ। बेराम पो भैगयो कि। खाना खाइहालेर यसो सोधीहेर्नू नि नानीले।'
हतारहतार खान सिध्याएर म माथी गएँ र सिरकभित्र गुटुमुटु घोप्टो परेकी लाकफुटीलाई बिस्तारै हल्लाएँ। लाकफुटीले सुस्तरी सिरक हटाई अनि मतिर हेरी। रुदाँरुदाँ उसका आँखा आलुचाभन्दा राता भएका थिए।
हेर्दाहेर्दै उसका आँखा पिलपिलाउन थाले र ऊ मेरा काखमा घोप्टो परेर क्वाँक्वाँ रुन थाली। मैले उसलाई आँसुले मेरा काख भिजाउन दिइरहें। केहिबेर पछि ऊ अलि साम्य भई। उठी अनि मसिनो हिक्का छोड्दै सुनाई, 'सताक्षी कसैलाई नभन्ने है। तिमीहरू सप्पै हिँडेपछी सरले मसँग चेप्टे खेल्नुभयो। सजायँ दिने हैन, माया गर्ने। मलाई कस्नुभयो हुँहुँहुँ अनि गालामा गाला जोड्नुभयो। अनि… म थर्रर कापेँ। फुपाजुका दाह्री मेरा गालामा बिझाए। अरु सुन्न सकिनँ। लाकफुटी रुँदै थिई। म जुरुक्क उठें, हतारहतार तल झरे अनि गुर्रर कुदेर एक निमेषमै क्वाटर पुगे। रातभरि मेरा आँखाबाट लाकफुटीका आँसु खसिरहे।
अहिले पनि यदाकदा थुक्पाको झोलमा लाकफुटीका आँसुका नुनिलो स्वाद भेट्छु म। ऊ कहाँ होली, के गर्दै होली यो सब सोचिराख्दिनँ म। उसका नुनिला आँसु थुक्पाको झोलसँग सिनित्त पिइदिन्छु। सोच्नलाई मसँग आफ्नै विषय छन्, रुनलाई आफ्नै आँसु पर्याप्त छन् । किचेनको झ्यालबाट पल्लो छिमेकीको बरन्डामा फस्टाएको मुन्तलाको बोट हेर्छु। गल्लल हाँसेको सुन्छु, लाजले राता अनुहारहरु देख्छु।
ताराबारीस्थित लिटिल फ्लावर हाइएर सेकेन्डरी स्कुल। कक्षा ९, सेक्सन ए । विषय प्रजनन शिक्षा। पढाउँदा पढाउँदै बिना कुनै प्रसङ्ग सर भन्नुहुन्छ, 'यो कक्षाका सबै केटीसँग अहिले सुन्तला छ । सताक्षीसँग चै मुन्तला छ। अलि सानै भएर।'
अनि हाँस्नुहुन्छ हा, हा, हा। लगभग सबै केटा विद्यार्थी हाँस्छन गल्लल। केटीहरु लाजले राता हुन्छन्। म न हाँस्न सक्छु, न त लजाउन नै। किनकी न त म हाँस्नुको कारण बुझ्छु, न त लजाउनुको नै।
अहिले बुझ्छु म, मुन्तला, सुन्तला अनि भोगटेको तात्पर्य। बुझ्छु अनि रातो हुन्छु। लाजले हैन रिसले, आक्रोशले। सरकी छोरी थिई, त्यही स्कुलमा पढ्ने। यस मानेमा सरसर मात्र नभएर एक पिता पनि थिए। भगवानले सवै बुवालाई किन बुवा जस्तै बनाउँदैनन्! किचेनको झ्याल ढ्याम्म लगाउछु र अर्को कोठाको झ्यालबाट सडक निहार्न थाल्छु।
आवतजावत ठप्प छ। सुनसान सडक एकलास पल्टिरहेछ। यो त्यहीँ सडक हो जसमा हरेक बेलुकीपख ४\५ जना ठिटा भेला भई ओहोरदोहोर गर्ने ठिटीहरुलाई जिस्काईबस्थे। लकडाउनले उनीहरुको त्यस नित्यकर्ममाथि पनि बन्देज लागेको छ। सोच्छु, क्या मज्जा आउँदो हो अपरिचित, अन्जान बाटो हिंड्नेलाई जिस्काई बस्नुमा। फेरि सोच्छु, यो मेरो वास्ताको विषय होइन। जसलाई जिस्काइन्छ, उनीहरुलाई फरक पर्दैन भने मैले आफ्नो टाउको किन दुखाइबस्नु।
के उनीहरुलाई साँच्ची फरक नपरेकै हो त? फरक पर्ने भए त प्रतिवाद गर्थे होलान् नि ! मैले पनि त प्रतिवाद गरेकी छैन। बसको खाँदाखाँदमा अनावश्यक फाइदा उठाउनेलाई, भीडभाडमा यत्तिकै छोएर हिँड्नेलाई अनि अन्य कैयन फेरिहस्तिलाई जबकि धेरै फरक पर्थ्यो र पर्छ मलाई)। 'यस्तै त हो' भनी थन्काएकी छु कतिप्रायलाई दिमागको एक कुनामा।
तर एक घटनालाई बने यत्तिकै मिल्काउन सकिनँ, थन्काउन सकिनँ। कुरा ७ महिना अगाडिको हो । अफिसको सहकर्मीले नसाको सुरमा ममाथि दुर्व्यवहार गर्यो। मैले तत्काल प्रतिवाद गर्न सकिनँ। किन? म आफैंलाई थाहा छैन। आत्तिएँ, केही सोच्न सकिनँ, केही गर्न सकिनँ। त्यहाँबाट उठेर हिंड्न सिवाय। घर आए अनि खुब रोएँ। दुई दिन अफिस गइनँ।
रोइरहें। आफैंलाई खोतलिरहें अनि खोजिरहें। तेस्रो दिन सरासर अफिस गएँ। ऊ अरु सहकर्मीसँग हँसीमजाक गरेर बसिरहेको रहेछ । मलाई हेरेर मुस्कायो। अनि अरुसँग हाँस्न थाल्यो। त्यो हाँसो मेरो अस्तित्व, मेरो आत्मसम्मान माथिको थियो। माथा रन्कियो मेरो । डेस्कमा रहेको बोत्तल उठाएँ, उसको साम्मुने गएँ र भएभरको पानी उसको टाउकोमाथी खन्याइदिएँ। उसको विरुद्धमा कार्यालय प्रमुखलाई लिखित उजुरी पनि दिएँ। उसले यति भन्न सक्यो, ' किन ठूलो बनाउने ! बलात्कारै त थिएन नि!'
थाहा थियो उसको सामर्थ्य छैन भन्ने तर पनि जवाफ दिएँ आँखाले, ' हो बलात्कार थिएन । तर बलात्कार भन्दा कम पनि थिएन।' घर आएँ अनि भित्तामा टाँगिएको बुवाको फोटो हेरें। यसपटक मैले बुवाका आँखा पढें। भन्नुभयो, ' स्याबास छोरी ! मलाई गर्व छ तिमीमाथि।' अनि म मुस्काएँ।
अहिले पनि मेरो ओठबाट एक टुक्रा मुस्कान फुत्कियो। भित्ताको फोटोमा बुवा पनि मुस्कुराईरहनु भएको रहेछ। बुबाको भौतिक शरीर यस संसारमा नरहेको दुई वर्ष पुग्न लाग्यो। फुपुले कति बल गर्नुभयो। एक्लै नबस, हामीकहाँ आएर भनेर। म मानिनँ। भेट्न भने गएँ र जान्छु, यदाकदा।
जाँदा फुपाजुलाई पनि हेर्छु धित मर्नेगरी। उहाँ मेरा आँखामा आँखा जुधाउन सक्नुहुन्न। प्यारालाइसिसले घोप्टिएको आधा शरीरझैँ आँखा पनि घोप्टिनै रहन्छन्। मलाई छुन सक्नुहुन्न, ' नानीलाई माया गरौं' भन्न सक्नुहुन्न। तर मेरा आँखाले भने प्रशस्त भन्न सक्छन् उहाँलाई, ' म त्यो सानी नानी रहिनँ। माया र वासनाको फरक छुट्टयाउन सक्छु।'
फूपू फोन गरिराख्नुहुन्छ, सोधिराख्नुहुन्छ, ' नानी कसरी बित्दै छ लक डाउन? सकस त छैन नि? एक्लै छेस्!' म बताउन सक्दिनँ फुपुलाई, लक डाउन सकस र बाध्यता हैन प्यारो बनेको छ भनेर। कोचाकोच बसको सकस भोग्न परेको छैन, भीडभाडमा जान परेको छैन। न म बाहिर निस्कन सक्छु। न कोही भित्र आउन पाउँछन्। न कसैको ओहोर न, दोहोर नै। बस् एक नितान्तता छ, विशुद्ध मेरो।
स्वयंलाई पढ्ने, खोतल्ने अनि बुझ्ने मौका दिएको छ लकडाउनले। एक्लै अनि सुरक्षित छु। एक अदृश्य हात छ मेरो शिरमाथि। जसले मलाई जिन्दगीका अफ्ठ्यारासँग जुझ्ने प्रेरणा दिइरहन्छ। संसारमा बुवा जस्ता कोही हुँदैनन्, हुनै सक्दैनन्। केही नभनिकनै भन्न मन लाग्छ, 'फूपू ! मलाई लकडाउन प्यारो छ । म खुसी छु। लक डाउन भित्रपनि, लकडाउन बाहिर पनि।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।