काठमाडौं- सभामुख अग्नीप्रसाद सापकोटासँगको छलफलमा सांसदहरुले संसद विकास कोषका नाममा छुट्टाइएको पुर्वाधार कोषको रकमलाई कोरोना प्रभावित कोषमा रुपान्तरण गर्न सुझाव दिएका छन्।
तत्काल ‘इ पार्लियामेण्ट’ सुरु गर्न सुझाव दिएका छन्। आज कार्य व्यवस्था परामर्श बैठकमा यस्तो सुझाव दिएका हुन्। दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरुको समस्यालाई तत्काल सम्बोधन गर्न पनि उनीहरुले सुझाव दिएका छन्।
सरकारले विगतमा गरिएका भिडियो कन्फ्रेन्स सफल अभ्यासजस्ता भर्चुअल माध्यमबाट संसदका गतिविधिहरु सञ्चालन गर्न ई–पार्लियामेण्टको अभ्यासलाई अघि बढाउनु पर्ने र यसको तयारीका लागि सचिवालयबाट आवश्यक बजेट तथा प्राविधिक तयारी गर्न निर्देशन दिनुपर्ने सुझाव उनीहरुले दिएका छन्।
संसदका बैठक सञ्चालनका लागि सावधानी अपनाउन डिसइन्फेक्सन गेटलगायतका पूर्वाधार तत्काल व्यवस्था गर्नुपर्ने‚ स्वास्थ्य र सुरक्षाको क्षेत्रमा काम गर्ने जनशक्तिलाई विश्वासमा लिन उनीहरुको सुरक्षा र उत्प्रेरणाको आवश्यक व्यवस्था गर्नुपर्ने सुझाव बैठकमा आएको प्रवक्ता रोजनाथ पाण्डेले बताए।
नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिमा स्वास्थ्य र सुरक्षा क्षेत्रमा सक्रिय संस्था र विशेषज्ञहरुको प्रतिनिधित्व हुनुपर्ने माग गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।