काठमाडौं - नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोड रुपैयाँ सहयोग गरेको छ।
आइक्यान अध्यक्ष कृष्णप्रसाद आचार्यका अनुसार उक्त सहयोग रकम मंगलबार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव महेन्द्र गुरागाईंमार्फत सरकारलाई हस्तान्तरण गरिएको छ। आइक्यान परिषदको गत चैत ३० गते बसेको ‘भर्चुअल’ बैठकले कोराना कोषमा १ करोड रुपैया सहयोग गर्ने निर्णय गरेको थियो।
परिषद बैठकले चालु आर्थिक वर्ष र आगामी आर्थिक वर्षको बैदेशिक भ्रमण नियन्त्रण र अन्य खर्चहरु कटौति गर्ने समेत निर्णय गरेको छ।
कमजोर आयस्रोत भएका तथा कोरोना भाइरसको प्रभावले विद्यार्थीलाई पर्न सक्ने आर्थिक समस्यालाई सम्बोधन गर्न नियमित छात्रवृत्तिबाहेक थप राहत कोष स्थापना गर्ने निर्णय पनि गरेको छ।
‘यसबाट कमजोर आर्थिक अवस्था भएका विद्यार्थीहरुलाई केही राहत पुर्याउने हाम्रो विश्वास छ,’ आचार्यले भने।
आइक्यानले अध्ययन प्राविधिक समिति बनाउने
आइक्यानले कोरोना भाइरसको प्रभावले लेखा व्यवसायमा पर्ने प्रभावका विषयमा अध्ययन गर्न प्राविधिक समिति बनाउने निर्णय गरेको छ।
कोरोना भाइरसको प्रभावपछि व्यावसायिक परामर्शमा विशेष ध्यान दिनुपर्ने देखिएकोले त्यसको रणनीति तयार गर्न प्राविधिक समिति बनाउन लागिएको आचार्यले जानकारी दिए।
लेखा व्यवसाय र लेखा तथा लेखापरीक्षणमान कार्यान्वयनमा पर्ने प्रभावका विषयमा पनि समितिले अध्ययन गर्नेछ।
विद्यार्थीका लागि भर्चुअल कक्षा चलाउने
आइक्यानले ‘अनलाइन लर्निङ्ग प्लेटफर्म’ तयार गरी भर्चुअल टे«निङ्गका साथै विद्यार्थीका लागि ‘भर्चुअल’ कक्षा व्यवस्थापन भएको छ।
भविष्यमा पनि यसरी नै तालिम तथा विद्यार्थीलाई कक्षा संचालन गर्न सक्ने गरी व्यवस्थापन गर्न लागिएको आइक्यानको तयारी छ।
आइक्यानले विदेशी लेखा व्यवसायी संस्थासँग सहकार्य गरेर सदस्यलाई भर्चुअल ट्रेनिङ र सो का आधारमा सदस्यले अनिवार्य रुपमा लिनु पर्ने अनवरत व्यावसायिक शिक्षा (सिपिई) को क्रेडिट आवर प्रदान गर्ने समेत निर्णय गरेको आचार्यले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।