काठमाडौं- नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको खर्च हुन बाँकी सबै रकम कोरोना रोकथाम तथा नियन्त्रण केन्द्रीय कोषको खातामा स्थानान्तरण गर्न आग्रह गरेका छन्।
मंगलबारको कार्यव्यवस्था परामर्श समितिको बैठकमा लिखित सुझाव राख्दै सांसद बडुले १९ अर्ब ८० करोडबाट खर्च नभएको रकम कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा जम्मा गर्न आग्रह गरेका हुन्।
संसद सचिवालयले ‘इ पार्लियामेन्ट’को अवधारणालाई क्रमशः अभ्यास गर्नुपर्ने सुझाव समेत दिएका छन्। बाह्य मुलुकहरुबाट देशभित्र प्रवेश गरेकाहरुलाई निश्चित अवधिका लागि अलग अलग राख्न सरकारसँग आग्रह गरेका छन्। नेपाल प्रवेश गरेकाहरुको सम्पर्कमा रहेका व्यक्तिहरूको कन्ट्याक्ट ट्रेसिङ गर्न सुझाएका छन्।
रोकथाम एवं नियन्त्रणमा थप नयाँ रणनीति तयार गर्नु सरकारको प्रमुख दायित्व भएपनि सरकारकोे कार्य प्रभावकारी र पारदर्शी रूपमा नदेखिएको उनले सभामुखलाई लेखेको पत्रमा उल्लेख गरेका छन्।
स्वदेश फर्किने क्रममा सीमा नाकाहरुमा अलपत्र परेकाहरुलाई शिविरमा अव्यवस्थित संक्रमणको जोखिम हुने समेत ध्यानाकर्षण गराएका छन्। स्वास्थ्य परीक्षण गराई अभिलेख सहित आ-आफ्नो स्थानीय तहमा २१ अनिवार्य क्वारेन्टाइनमा राख्न सुझाव दिएका छन्।
लकडाउनको अवधिमा किसानले उत्पादन गरेका अत्यावश्यकीय कृषि उपजलाई सहज रूपमा बजार र उपभोक्तासम्म पुर्याउने कार्य गर्न सरकारलाई सुझाव दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।