काठमाडौं- केही समयअघिसम्म खाना पकाउने ग्यास अभावको समस्या रहेको गुनासो आउने गरेकोमा अहिले खाद्यान्न अभावको गुनासो बढी आउन थालेको छ।
उपभोक्ताको गुनासो सुन्न भन्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कार्यान्वयनमा ल्याएको उपभोक्ता अधिकार व्यवस्थापन सूचना प्रणाली(सिआरएमआइएस) मा पछिल्लो समय दैनिक २५ देखि ३० वटाको हाराहारीमा खाद्यान्न अभावसम्बन्धी गुनासो आउने गरेका छन्।
कोरोना त्रासका कारण गत चैत ११ गतेबाट देशभर लकडाउन लागू भएपछि मुलुकको आपूर्ति प्रणाली ठप्पप्राय छ। अत्यावश्यक वस्तु बाहेकको बजार पूर्ण रुपमा बन्द छ। अत्यावश्यक दैनिक उपभोग्य वस्तुको पनि बिक्री वितरण सहज रुपमा भइरहेको छैन। जसकारण खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको अभावका गुनासो बढ्न थालेका छन्।
मंगलबारसम्ममा कन्जुमर एप्लिकेसनमा उपभोक्ताका ८ सय बढी गुनासो दर्ता भएका छन्। सबैभन्दा धेरै नेपाल आयल निगमसँग सम्बन्धित गुनासाहरु आउने गरेका छन्।
त्यस्तै खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको अभाव, कालोबजारी, बढी मूल्य र अनियमितता, इन्टरनेट स्लो चलेको लगायतका गुनासोसमेत आउने गरेका छन्। गत चैत १७ गतेदेखि चैत २० गतेसम्मा ग्यास अभावको दैनिक १ सयको हाराहारीमा गुनासो आउने गरेकोमा अहिले घटेर ग्यास अभावका दैनिक २० देखि ३० वटा गुनासो आउने गरेका छन्।
उपभोक्ता अधिकार सूचनामा आएका गुनासोमध्ये ७० प्रतिशत सम्बोधन भएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।