काठमाडौं- नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोड रुपैयाँ सहयोग गरेको छ।
आइक्यानको परिषदबाट मिति २०७६ चैत्र ३० गते भर्चुअल बैठक मार्फत सरकारले स्थापना गरेको कोषमा तत्काल सहयोग उपलब्ध गराउने निर्णय गरेको र सो रकम आज प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए।
बैठकले चालु आर्थिक वर्ष र आगामी आर्थिक वर्षको वैदेशिक भ्रमणसहित नियन्त्रण गर्न सकिने अन्य खर्चहरु कटौती गर्ने समेत निर्णय गरेको छ। यसैगरी कोरोना भाइरसको प्रभावले लेखा व्यवसायमा पर्ने प्रभावका विषयमा अध्ययन गर्न प्राविधिक समिति बनाउने निर्णय पनि बैठकले गरेको छ।
कोरोना भाइरसको प्रभावपछि व्यावसायिक परामर्शमा विशेष ध्यान दिनुपर्ने देखिएकोले सो को रणनीति तयार गर्ने उद्देश्यसहित अध्ययन गर्न लागिएको उनले बताए। यसैगरी लेखा व्यवसाय र लेखापरीक्षणका मापदण्ड कार्यान्वयनमा पर्ने प्रभावका विषयमा पनि समितिले अध्ययन गरिने भएको छ।
यस्तै अनलाइन लर्निङ्ग प्लेटफर्म तयार गरी भर्चुअल ट्रेनिङका साथै विद्यार्थीका निमित्त भर्चुअल कक्षाको व्यवस्थापन गर्ने गरी आवश्यक व्यवस्था मिलाउने निर्णय पनि बैठकले गरेको आचार्यले बताए। भविष्यमा पनि यसरी नै तालिम तथा विद्यार्थीलाई कक्षा संचालन गर्न सक्ने गरी व्यवस्थापन गर्ने आइक्यानको तयारी रहेको छ।
संस्थाले विदेशी लेखा व्यवसायी संस्थासंग सहकार्य गरेर सदस्यलाई भर्चुअल ट्रेनिङ र सोका आधारमा सदस्यले अनिवार्य रुपमा लिनुपर्ने अनवरत व्यावसायिक शिक्षा वापतको रकम प्रदान गर्ने समेत निर्णय गरेको उनले बताए।
आइक्यानले कमजोर आयस्रोत भएका तथा कोरोना भाइरसको प्रभावले विद्यार्थीहरुलाई पर्न सक्ने आर्थिक समस्यालाई सम्बोधन गर्न नियमित छात्रवृत्ति बाहेक थप राहत कोष स्थापना गर्ने निर्णय पनि गरेको छ। ‘यसले विद्यार्थीहरुलाई केही राहत पुर्याउनेछ भन्ने हाम्रो विश्वास छ,’ अध्यक्ष आचार्यले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।