काठमाडौं– काठमाडाैंकाे पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने तीन जनामा र्यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) गर्दा कोरोना पोजिटिभ देखिएपछि प्रशासनले उक्त अपार्टमेन्टमा आवतजावत पूर्ण बन्द गरेको छ। आरडिटीमा काेराेना पाेजिटिभ देखिएका मध्ये एक जनाकाे पिसिआर जाँचमा रिपाेर्ट भने नेगेटिभ आएकाे छ।
उक्त अपार्टमेन्टमा बस्दै आएकाले दैनिक उपभोग्य वस्तु किनमेल गर्नका लागि वैकल्पिक प्रबन्ध गर्न सरकारसँग आग्रह गरेका छन्। साेमबार उक्त अपार्टमेन्टमा बस्नेमा काेराेना पाेजिटिभ देखिएसँगै आवतजावतमा प्रतिबन्ध लगाइएकाे हाे।
सोमबारसम्म बिहान ८ बजेसम्म खुल्ने गरेका पसलसमेत मंगलबारदेखि पूर्णरुपमा बन्द गरिएको छ। आइ ब्लकमा बस्दै आएका धर्म सुवेदीले सामान अर्डर गरी ल्याउन पाउने भनिएको तर विधि तय नभएको बताए।
‘लकडाउनको समयमा हिजोसम्म ८ बजेसम्म किनमेलका लागि छुट भएकाले अपार्टमेन्टमा बस्नेहरु निस्कन्थे।’ सुवेदीले भने, ‘अब त बाहिर निस्कने क्रम पनि बन्द भयो। अत्यावश्यक चिज ५/७ दिनलाई पुग्छ होला। त्यसपछि बढी अप्ठ्यारो पर्छ।’
उक्त क्षेत्रमा प्रहरीले अपार्टमेन्टका साथै कोलोनीसमेत बन्द गरेको छ। सोमबार अघि सडकमा एकाध व्यक्ति देखिए पनि मंगलबारदेखि सडकमा हिड्ने समेत देखिएका छैनन्।
चैत ५ मा बेलायतबाट आएका एकै परिवारका तीन जनामा र्यापिड टेस्टका क्रममा एन्टीबडी पोजिटिभ देखिएको थियो। पाटन अस्पतालमा भर्ना गरिएका तीनमध्ये दुई जनामा काेराेना भाइरस संक्रमण भएकाे पुष्टि मंगलबार भएको छ। सनसिटीका पाँच ब्लक मध्ये उनीहरु ‘ए’ ब्लकमा बस्दै आएका थिए।
संक्रमितहरु चैत ५ गते आएका हुन्। बेलायतबाट आउनासाथ उनीहरु सेल्फ आइसोलेसनमा बसिरहेका थिए। वडा कार्यालयले सोमबार विदेशबाट आएकाहरुको खोजी गर्ने क्रममा परीक्षण गर्दा संक्रमण देखिएको हो। सुवेदीले भने, ‘संक्रमित देखिएकाहरु पहिलेदेखि नै सचेत थिए।’ उनीहरुकै परिवारमा कार्यरत एक कामदारको परीक्षण भने भएको छैन।
अपार्टमेन्टमा बस्नेहरुको व्यवस्थापनका लागि गठन भएको सनसिटी वेलफेयर सोसाइटीको चैत ८ मा निर्वाचन भएको थियो। उक्त कार्यक्रममा संक्रमण पहिचान भएका आए/नआएको खुलेको छैन।
यसपटक विवाद भएर अधिवेशनको समय सरेको थियो।
अर्थमन्त्री डा युवराज खतिवडाका छाेरा वेलफेयर सोसाइटीकाे निर्वाचनमा पदाधिकारीका प्रतिस्पर्धी थिए। अर्थमन्त्री खतिवडा भने त्यहाँ नगएको बताइएको छ।
सनसिटिको युनिटमा पाँच सय परिवार बस्ने क्षमता छ। त्यसमध्ये चार सय परिवार बरिसरहेको बताइएको छ। छोराछोरी बेलायत भएका उनीहरु समय/समयमा आउजाउ गर्थे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।