काठमाडौं- कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिसँग जुध्न एसियाली विकास बैंक (एडिबीले) छुट्याएको कोषको आकार तीन गुणाले बढाएको छ।
एडिबीले यसअघि ६.५ अर्ब अमेरिकी डलर बराबरको प्याकेज घोषणा गरेकोमा अब त्यसलाई बढाएर २० अर्ब डलर पुर्याइएको छ।
एडिबीले मार्च १८ मा ६.५ अर्ब डलर बराबरको प्याकेज घोषणा गरेको थियो। सोमबार त्यसमा १३.५ अर्ब डलर थपेको छ। आफ्ना सदस्य राष्ट्रहरुको समष्टिगत अर्थतन्त्र र स्वास्थ्य क्षेत्रमा परेको प्रभावसँग जुध्न रकम बढाइएको उसले प्रेस विज्ञप्तीमार्फत जनाएको छ। २० अर्ब डलरमा २.५ अर्ब डलर सहुलियतपूर्ण र अनुदान समावेश छ।
एडिबीले अप्रिल ३ मा सार्वजनिक गरेको मूल्यांकअनुसार कोरोनाले विश्व अर्थतन्त्रमा २.३ प्रतिशतदेखि ४.८ प्रतिशतसम्म प्रभाव पर्ने उल्लेख छ। एसिया क्षेत्रको वृद्धिदर गत वर्षको ५.२ प्रतिशतबाट यो वर्ष २.२ प्रतिशतमा झर्ने उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।