काठमाडौं- अर्घाखाँची सिमेन्टले प्रदेश ५ सरकारद्वारा स्थापित कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषका लागि ५१ लाख रुपैयाँ बराबरको नगद सहयोग प्रदान गरेको छ। कम्पनीका संचालक राजेश अग्रवालले प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई नगद चेक हस्तान्तरण गरेका हुन्।
प्रदेश ५ का नागरिकको स्वास्थ्य रक्षाका लागि कोरोना भाइरसको नियन्त्रण तथा संक्रमित व्यक्तिहरुको उपचारका लागि प्रदेश ५ सरकारले सो कोष खडा गरेको थियो।
'समुदायको हितप्रति सधैं सचेत यस कम्पनीले कोरोना भाइरसको विश्व महामारीको आजको समयमा नेपाल सरकारद्वारा नागरिकको जिवन रक्षाका लागि थालिएको अभियानमा स्वयंको दायित्वबोध गरी सहयोग प्रदान गरेको हो,' कम्पनीका महाप्रबन्धक उद्धब कार्कीले भने।
उनका अनुसार यसका अलावा कम्पनीको सिमेन्ट कारखाना रहेको रुपन्देहीको सियारी गाउँपालीकाद्वारा जनताका लागि राहतको व्यवस्थापन गर्नका लागि संचालित कार्यक्रमका लागि कम्पनीले दुई लाख रुपैयाँ बराबरको आर्थिक सहयोग पनि प्रदान गरेको छ। कम्पनीले उपलब्ध गराएको सो रकम गाउँपालिकाद्वारा आर्थिक संकटमा परेका घरपरिवारको खाद्यान्नको लागि खर्च हुनेछ।
यसका साथै अर्घाखाँची सिमेन्टको चुनढुंगा खानी रहेको पाल्पास्थित तिनाउ गाउँपालिका र मचागढी गाउँपालिकाका विपन्न वर्गका घरपरिवारका लागि कम्पनीले २० लाख रुपैयाँ बराबरको राहत सामग्री पनि वितरण गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।