भैरहवा- लकडाउनको समयमा रगतको अभावमा कसैको ज्यान नजाओस् भन्ने उद्देश्यले नयाँ वर्षको अवसर पारेर लुम्बिनीका युवाहरुले रक्तदान गरेका छन्। प्रदेशसभा सदस्य फखरुद्दीन खानको अगुवाइमा लुम्बिनी नव युवा क्लब, पडरिया तथा नेपाल रेडक्रस सोसाइटी लुम्बिनीको आयोजनामा रक्तदान कार्यक्रम भएकाे हाे।
लकडाउनको अवस्थामा अधिकांश अस्पतालहरुमा रगतको अभाव हुन थालेको विभिन्न सञ्चारमाध्यमबाट थाहा पाएपछि रक्तदान कार्यक्रमको आयोजना गरिएको प्रदेशसभा सदस्य खानले बताए। कार्यक्रमका प्रमुख अतिथिसमेत रहेको खानले यस्तो समयमा युवाहरुलाई विशेष भूमिका खेल्न आग्रह गरे। अहिले देश विषम परिस्थितिमा रहेको कारण सरकारले आग्रह गरे अनुसार लकडाउनको पालनासँगै आफ्नो टोल छिमेकमा आई पर्ने समस्याबा बारेमा पनि ध्यान दिन उनले आग्रह गरे।
रक्तदान कार्यक्रममा लुम्बिनी नव युवा क्लब लुम्बिनीका अध्यक्ष अहमद हुसेन, नेपाल रेडक्रस सोसाइटीका लुम्बिनी शाखा प्रमुख अल्ताफ खानको सहभागिता रहेको थियो। कार्यक्रममा प्रदेशसभा सदस्यसहित ४७ जनाले रक्तदान गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।