काठमाडौं- नेपाल सरकारको कोरोना नियन्त्रण रोकथाम तथा उपचार कोषमा महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका सिइओले २ महिनाको तलब जम्मा गरेका छन्। कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले आफ्नो दुई महिनाको तलब ५ लाख ८४ हजार रुपैयाँ कोषमा जम्मा गरेका हुन्।
कम्पनीले भने छुट्टै ७ लाख ५० हजार रुपैयाँ कोषमा जम्मा गरेको छ। यी दुवै गरी जम्मा १३ लाख ३४ हजार रुपैयाँ कोषमा हस्तान्तरण भएको हो। कोषमा थपिएको रकमले कोरोना नियन्त्रण तथा उपचारमा सहयोग पुग्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।
विश्वव्यापी महामारीको रूपमा फैलिदै गएको कोरोना भाइरस (कोभिड-१९) को बिरामी नेपालमा पनि देखा परिसकेको छ। विश्वका सम्पन्न र विकसित राष्ट्र यो महामारीबाट आफ्ना नागरीकहरूलाई बचाउन संघर्ष गरिरहेका छन् र ठूलो धनराशि रोग नियन्त्रणको लागि खर्च गरिरहेका छन्।
नेपालमा साधन श्रोतको अभावमा नेपाली नागरिक रोगले आक्रान्त हुन र मृत्युको मुखमा पुग्न नपरोस् भनी सरकारले भरमग्दुर कोसिस गरिरहेको बताएको छ। हालसम्म नेपालमा १२ जना कोरोना संक्रमित भेटिएका छन् भने १ जना उपचार पछि निको भएका छन्। सरकारले कोरोना नियन्त्रण गर्नका लागि विगत ३ सातायता लकडाउन घोषणा गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।