काभ्रे- काभ्रेको कुशादेवी-पनौती खण्डको मोटरबाटो विस्तारका क्रममा विवाद भएको छ। लकडाउनका बेला सडक खनेको र निर्धारित स्थानभन्दा बढी जग्गा मिचेर सडक खनिएको भन्दै स्थानीयवासीले विरोध गरेपछि सयौंको संख्यामा मानिसको भेला भएका हुन्। स्थानीय दिपेन्द्र हुमागाईंको घरको पेटीमा डोजर लगाएपछि विवाद सुरु भएको हो।
लकडाउनका समयमा सरकारले कसैलाई पनि घरबाहिर ननिस्कन आदेश जारी गरेको छ। तर लकडाउन उल्लंघन गर्दै विवाद सिर्जना भएको सो स्थानमा सयौंको संख्यामा मानिसहरू भेला भएका छन्।
लकडाउन उल्लङ्घन गर्दै सयौं स्थानीय सडकमा आएपनि प्रहरी भने मूकदर्शक बनेको छ। प्रहरीले भने विवाद स्थानीय र आयोजनाबीचको भएकाले आफूहरूले तत्काल केही पनि गर्न नसक्ने बताएको छ। 'विवादपछि मानिसहरू जम्मा भएका छन्। हामी नियन्त्रणका लागि प्रयासमा छौं,' प्रहरी कार्यालय कुशादेवीका असई हेमराज पौडेलले भने।
प्रहरीको बाक्लो उपस्थिति भएकाले काम अहिले पनि जारी छ। पनौती नगरपालिकाका मेयर भीम न्यौपानेले लकडाउनमा सडक खन्ने काम नरोकिने दाबी गरे। 'लकडाउनका बेला पनि विकास पूर्वाधारका काम हुन्छन्। सबै काम ठीकठाक चलिरहेको थियो। विवाद भएपछि मान्छे जम्मा भएका हुन्, मैले भनेको मानेनन्।'



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।