काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विदेशमा रहेका नेपालीहरुको समस्या सम्बोधनका लागि २४ सै घण्टा सञ्चालन हुने टेलिफोन हेल्पलाइन सञ्चालनमा ल्याएको छ।
कोरोना भाइरस संक्रमणबाट विभिन्न मुलुकमा रहेका गैरआवासीय नेपालीहरुले सामना गरिरहेका समस्या सुनवाई गर्न सो सेवा सञ्चालनमा ल्याइएको एनआरएनए अध्यक्ष तथा कोबिड-१९ उच्चस्तरीय समितिका संयोजक कुमार पन्तले जानकारी दिए।
गैरआवासीय नेपाली संघको काठमाडौंस्थित सचिवालयबाट सो सेवा आइतबारदेखि सुरु हुने संघका महासचिव डा हेमराज शर्माले बताए। कोरोना महामारीले विश्वमा भइरहेको लकडाउका कारणले विदेशमा अलपत्र परेका, वैदेशिक रोजगारी रहेका नेपालीलगायतले आ-आफ्ना समस्या सो हटलाइनमा फोन गरेर टिपाउन सक्नेछन्।
यसअघि एनआरएनएले विश्वभर छरिएका नेपाली समुदायले स्वास्थ्यसम्बन्धी समस्याको सुनुवाई गर्न डा सञ्जीव सापकोटाको संयोजकत्वमा २४ सैं घण्टा स्वास्थ्य हेल्प लाइन सञ्चालनमा ल्याएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।