काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए)ले विदेशमा कोरोना संक्रमित नेपालीको संख्या ६ सय नाघेको उल्लेख गरेको छ। एनआरएनएले प्रेस विज्ञप्ति जारी गर्दै शनिबार साँझसम्म विश्वका विभिन्न स्थानमा कोरोना संक्रमण भएका नेपाली ६ सय ६५ पुगेको र १४ जनाको मृत्यू भएको उल्लेख गरेको छ।
एनआरएनएका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित उच्चस्तरीय समिति अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा ८, अमेरिकामा ५, युएईमा १ जना नेपालीका ज्यान गएको हो।
स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार ६ सय ६५ जना गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित भएका छन्। विदेशस्थित नेपाली राजदूतावास, गैरआवासीय नेपाली संघका शाखा तथा स्थानीय संघसंस्थाबाट प्राप्त सूचनाका आधारमा सो आँकडा तयार पारिएको डा सापकोटाले जनाए।
संक्रमित हुनेमा अमेरिका ५ सयभन्दा बढी रहेको एनआरएनएले जनाएको छ। बेलायतमा १ सय, स्पेन १८, युएई १०, जर्मनी ४, पोर्चुगल ८, अष्ट्रेलिया ९, साउदी अरब ४, कुवेत ५, जापान १, मलेसिया १, म्यानरमार १ र हङकंङ १ जना कोरोना संक्रमित रहेको समितिले जनाएको छ।
एनआरएनएले जारी गरेको तथ्यांकमा बहराइनलगायत कतिपय मुलुकमा रहेका कोरोना संक्रमित नेपालीको संख्या समावेश गर्न छुटपुट भएको देखिएको छ भने कतिपय मुलुकको तथ्यांक अस्पष्ट भएको समेत उल्लेख छ। नेपालीहरुका कतिपय गन्तव्य मुलुकहरुमा राजदूतावास नहुँदा समेत कोरोना संक्रमित नेपालीको यकिन तथ्यांक आउन सकेको छैन। एनआरएनएका प्रेस संयोजक चिरन शर्माले छुटपुट रहेको तथ्यांक पुनः थप्दै लैजाने नेपाल लाइभलाई बताए।
हाल विश्विका भिनिन्न देश पुगेका नेपालीको संख्या ५० लाखको हाराहारीमा रहेको अनौपचारिक तथ्यांक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।