काठमाडौं– दक्षिण पूर्व एसिया तथा प्रशान्त क्षेत्रमा कार्यरत नेपाली चार राजदूतहरुले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा एक महिनाको तलब जम्मा गर्ने भएका छन्। बैंककस्थित नेपाली राजदूतावासका अनुसार नेपाल सरकारद्वारा स्थापित उक्त कोषमा एक महिनाको तलब जम्मा गर्ने आइतबार सामूहिक निर्णय भएको हो।
उक्त कोषमा एक महिनाको रकम जम्मा गर्ने निर्णय गर्नेहरुमा मलेसियाका लागि उदय राज पाण्डे, म्यानमारका लागि भीम कुमार उदास, अष्ट्रेलियका लागि महेश राज दहाल र मलेसियका लागि गणेशप्रसाद ढकाल रहेका छन्।
यसअघि उक्त कोषमा विभिन्न ९ वटा युरोपेली मुलुकमा रहेका नेपाली राजदूतहरुले १ महिनाको पारिश्रमिक जम्मा गर्ने घोषणा गरी सकेका छन्। डेनमार्क, जर्मनी, बेल्जियम, अस्ट्रिया, फ्रान्स, स्वीट्जरल्याण्ड, बेलायत, रुस र स्पेनका राजदूतहरुले कोरोना कोषमा आफ्नो एक महिनाको पारिश्रमिक जम्मा गर्ने निर्णय गरेका थिए।
शुक्रबार ९ वटा देशमा रहेका राजदूतहरुले भिडियो वार्तामार्फत् कोषमा १ महिनाको पारिश्रमिक जम्मा गर्ने घोषणा गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।