फाइल तस्बिर
काठमाडौं–संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले लकडाउनका बेला किसानले उत्पादन गरेका दूध पाउडर बनाउने प्रयोजनका लागि उद्योगमा पठाउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ।
समितिकी सभापति पूर्णाकुमारी सुवेदीले लकडाउनका कारण किसानका उत्पादन निर्वाध रुपमा उपभोक्तासमक्ष पुग्न समस्या भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उक्त निर्देशन दिएकी हुन्।
समितिले दूध उत्पादक किसानले बजारको समस्याका कारण उत्पादित दूध नष्ट गर्नुपर्ने अवस्था भएको उल्लेख गर्दै सुरक्षित तरिकाले दूध संकलन एवं बिक्री गर्ने प्रबन्ध तत्काल गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ।
यस्तै, समितिले कैलालीको टिकापुरमा केरा उत्पादक किसान तथा अन्य देशैभरका किसानलाई हालैका दिनमा परेका समस्याको स्मरण गर्दै कुखुरा, अण्डा, माछामासु, तरकारी,फलफूल उत्पादक किसानलाई लकडाउनबाट पुगेको क्षति पनि अपूरणीय रहेको उल्लेख गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।