काठमाडौं–विश्व स्वास्थ्य संगठनले मान्यता नदिएको कोरोनाको र्यापिड टेष्ट किट ल्याएपछि स्वास्थ्य तथा जनसख्या मन्त्रालयले त्यसको गुणस्तर जाँच गर्ने जिम्मा राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्लाई दिएको छ। तर परिषद्सँग उक्त किटको गुणस्तर जाँच गर्न सक्ने न ल्याब छ, न जनशक्ति नै।
स्वास्थ्य मन्त्रालयको लेटरहेड प्रयोग गर्दै मन्त्रालयका विज्ञ सल्लाहकार डा खेम कार्कीले बुधबार जारी प्रेस विज्ञप्तिमा चीनबाट खरिद गरी ल्याइएको र्यापिड टेष्ट किटको गुणस्तर जाँच्न नेपाल स्वास्थ्य अनुसन्धान परिषदलाई अनुरोध गरिसकेको जनाएका छन्। विज्ञप्तिमा परिषदले प्रयोग गर्न योग्य भनी सिफारिस गरेपछि र सम्बन्धित निकायबाट प्रमाणित भइसकेपछि मात्र प्रयोगका लागि वितरण हुने उल्लेख छ।
नेपालमा प्रयोगशाला र यससँग सम्बन्धित विषयको गुणस्तर जाँच गर्ने अधिकार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँग छ। तर, मन्त्रालयले आफू मातहतकै प्रयोगशालालाई बाइपास गर्दै अनुसन्धान परिषद्लाई गुणस्तर जाँच्न दिनुमा ठूलै ‘रहस्य’ रहेको मन्त्रालयका कर्मचारी बताउँछन्।
‘मन्त्रालयले ल्याब र जनशक्ति नै नभएको निकायलाई गुणस्तर जाँच्न भनेर जनस्वास्थ्यमाथि खेलबाड गर्न खोज्दै छ,’ मन्त्रालयका एक कर्मचारीले भने, ‘जनस्वास्थ्य प्रयोगशालालाई दिनु पर्ने काम किन परिषदलाई दिइयो, परिषदमा मन्त्रीले नियुक्त गरेका मानिसहरुले यसलाई मान्यता दिन?’
मन्त्रालयका स्वास्थ्य विज्ञ डा कार्कीले जनस्वास्थ्य प्रयोगशालालाई गुणस्तर जाँच गर्ने जिम्मा नदिई परिषद्लाई दिएको सार्वजनिक गरेपछि मन्त्रालयका कर्मचारीहरु समेत आश्चर्यमा परेका छन्। उनीहरु किटको गुणस्तर जाँच गर्ने जिम्मा परिषद्लाई दिनु गलत भएको भन्दै विरोध गर्न थालेका छन्।
अनुसन्धान गर्नु र पाइलटिङ गर्ने फरक कुरा भएको भन्दै नेपाली जनतामा नयाँ रोग र नयाँ किटको परीक्षण गर्नु गलत भएको उनीहरुको भनाइ छ।
मन्त्रालयका एक कर्मचारी भन्छन्, ‘किट जाँच गर्ने जिम्मा परिषद्लाई दिनु उपयुक्त होइन। किटको गुणस्तरको ल्याबोटरी जाँच हुनुपर्छ। जुन परिषद्ले गर्न सक्दैन। त्यसका लागि त्यहाँ आवश्यक ल्याव, उपकरण र जनशक्ति छैन।’
उनले परिषद्लाई परीक्षणका लागि दिइनु भनेको किटलाई जसरी पनि गुणस्तरयुक्त रहेको देखाउने नियत देखिएको आशंका व्यक्त गरे।
‘विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा हामी कसरी माथि हुनसक्छौं,’ उनले प्रश्न गरे, ‘यदि यसले मान्यता पाउने र भोलिका दिनमा पोजेटिभलाई नेगेटिभ देखाएर समाजमा रोग फैलियो भने? जनस्वास्थ्यमाथि यति ठूलो खेलबाड गर्न मिल्छ?’
मन्त्रालय स्रोतका अनुसार, नेपाली बजारमा सोही र्यापिड टेष्ट किट ५० देखि ६० लाखको परिमाणमा रहेको र त्यो उनीहरुकै चिनजानका मानिसले भित्राएकाले पनि ती किटलाई प्रयोग गर्न मान्यता दिने कसरत भइरहेको छ।
‘कोरोनाको संक्रमण सकिएपछि ती किट काम लाग्दैनन्, प्रयोग गर्न नपाए लगानी डुब्छ, त्यसले प्रयोग गर्न पाउनुपर्ने दबाब आएको छ,’ स्रोतको दाबी छ।
परिषद्का कार्यकारी सदस्य सचिव डा प्रदीप ज्ञवालीले किटको गुणस्तरको अनुसन्धान गर्नका लागि प्रोटोकल तयार भएर इथिकल कमिटिमा पठाएको बताए।
उनले परिषद्सँग ल्याब नभएको स्वीकार गरे। तर जनशक्ति भने भएको दाबी गरे।
‘अहिले हामीले प्रोटोकल बनाएर स्वीकृतिका लागि कमिटीमा पठाएका छौं। स्वीकृत भएपछि काम सुरु गर्छौं। यसका लागि हामी तोकिएको अस्पतालमा किट प्रयोग गर्नेछौं,’ उनले भने, ‘त्यसका लागि अनुसन्धान परिषद्सँग जनशक्ति छ। आवश्यक परेमा बाहिरका ल्याब टेक्निसियनहरुसँग पनि समन्वय गरिनेछ।
उनले ती ल्याबमा देखिएको रिजल्टका आधारमा मन्त्रालयलाई सुझाव दिने बताए।
स्वास्थ्य मन्त्रालयकी पूर्व सचिव डा. सुधा शर्माले किटको गुणस्तर जाँच गर्न क्षमता परिषद्सँग नभएको भन्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई दिनुपर्ने बताएकी छिन्। सामाजिक सञ्जाल फेसबुकमा उनले भ्रममा पार्न खोजिएको भन्दै प्रश्न गरेकी छिन्।
त्रिभुवन विश्वविद्यालयको माइक्रोबायोलोजी विभागका प्रमुख मेघराज बन्जारा पनि नेपालमा ल्याइएका र्यापिड टेष्ट किटको भ्यालिडिटी जाँच गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मात्र गर्न सक्ने बताउँछन्।
उनका अनुसार अन्य धेरै रोगमा र्यापिड टेष्ट किटको प्रयोग राम्रो मानिए पनि कोभिड १९को सन्दर्भमा भने र्यापिड टेष्ट किटको नतिजा राम्रो छैन।
नेपालमा ल्याइएका र्यापिड टेष्ट किटको भ्यालिडिटी जाँच राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मात्र गर्न सक्छ। किनभने त्यहाँमात्र संक्रमित केसको नमूना छ। उनले भने, ‘र्यापिड टेष्ट किटको गुणस्तर परीक्षण गर्न पहिले कन्फर्म्ड केसकै नमुना राखेर जाँच गर्ने हो। नेपालमा संक्रमित केस जम्मा ५ जनामात्र छन्।ु
स्वास्थ्य मन्त्रालयको मंगलबारको नियमित कोरोना ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ सल्लाहकार डा खेम कार्कीले समेत यस्ता किट प्रयोग गर्न नहुने बताएका थिए।
डा कार्कीले ती टेष्ट किटहरु विश्व स्वास्थ्य संगठनले जाँचका लागि गुणस्तरीय नभएको भन्दै अनुमति नदिएकाले प्रयोग नगर्न अनुरोध गरेका थिए।
उनले भनेका थिए, ‘त्यो कीटको परीक्षणबाट रिजल्ट र त्यसबाट उत्पन्न हुने भम्र र क्षतिले थप समस्या ल्याउने भएकाले विश्व स्वास्थ्य संगठन र मन्त्रालयले अनुमति नदिएको किट प्रयोग नगर्नु होला।’
मंगलबार प्रयोग गर्न नहुने बताएका डा कार्कीले नै बुधबार उक्त किटको गुणस्तर जाँचका लागि जनस्वास्थ्य प्रयोगशालालाई बाइपास गर्दै अनुसन्धान परिषदलाई दिएको सार्वजनिक गरेका हुन्।
हेरौं पत्र
स्वास्थ्य मन्त्रालयले आइबिसीआईले चीनबाट विश्व स्वास्थ्य संगठनले अनुमति नै नदिएको र्यापिड टेस्ट किट ल्याएको हो। चीनबाट आइबिसीआईले स्वास्थ्य मन्त्रालयमा ७५ हजार थान यस्ता किट ल्याएको छ। मन्त्रालयले प्रति किट ८ डलरमा यस्ता किट खरिद गरेको हो। ७५ हजार किटका लागि ६ लाख डलर अर्थात ७ करोड २० लाख नेपाली रुपैयाँ परेको छ।
कसरी हुन्छ र्यापिड टेष्ट किटको गुणस्तरीयता जाँच?
मेघराज बन्जारा,
प्रमुख माइक्रोबायोलोजी विभाग त्रिवि
मुख्यतः एकैपटक ठूलो समूह वा समुदायमा संक्रमण फैलियो भने जाँचका लागि र्यापिड टेष्ट किटको प्रयोग गरिन्छ।
किट गुणस्तर जाँच गर्दा पहिले संक्रमित व्यक्तिमा नै जाँच गरिन्छ। एक पटक होइन बारम्बार। एकै व्यक्तिको परीक्षण पनि बारम्बार गर्नुपर्छ। त्यसमा कति पटक पोजेटिभ नतिजा आउँछ त्यसका आधारमा नै प्रयोग गर्न मिल्ने वा नमिल्ने निर्णय हुन्छ।
कुनै पनि रोग पाँच देखि १० मिनेटमा पत्ता लगाउने सकिने जाँचलाई र्यापिड टेष्ट किट भनिन्छ। केही रोगका लागि बनेका र्यापिड टेष्ट किट निकै राम्रा छन्। जसको रिजल्ट पनि निकै राम्रो छ।
तर, कोभिड१९को सन्दर्भमा भने र्यापिड टेष्ट किट उत्पादन भएका छन्, तिनले दिएको रिजल्ट राम्रो छैन। अन्य रोगका लागि बनेका र्यापिड टेष्ट किटको तुलनामा कोभिड १९ का लाग बनेका टेष्ट किट त्यति राम्रा छैनन्।
नेपालमा ल्याइएका र्यापिड टेष्ट किटको भ्यालिडिटी जाँच गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मात्र गर्न सक्छ। किनभने त्यहाँ मात्र संक्रमित केसको नमुना छ।
र्यापिड टेष्ट किटको परीक्षण गर्न पहिले कन्फम्र्ड केसकै नमुना राखेर जाँच गर्ने हो। नेपालमा संक्रमित केस जम्मा ५ जनामात्र छन्।
पीसीआर र र्यापिड टेष्ट किटमा एउटै नमुना सँगै राखेर जाँच गर्नुपर्छ । तिनको रिजल्ट तलुना गर्नुपर्ने हुन्छ।
जस्तो यदि १०० जनाको नमुना लिएर पिसिआर र र्यापिड टेष्ट किटमा सँगै जाँच गरियो दुवैको रिजल्ट एउटै आयो भने यो र्यापिड टेष्ट किट ठीक छ भन्ने हो तर दुवैको रिजल्ट फरक आयो भने त्यो किट गुणस्तरीय छैन भन्ने हो।
अहिलेको सन्दर्भमा राष्ट्रिय अनुसन्धान परिषदले आफैले मात्र यसको जाँच गर्न गाह्रो छ। किनभने र्यापिड टेष्ट किट गुणस्तरीय जाँच गर्ने हो भने जनस्वास्थ्य प्रयोगशालाको सहयोग लिनैपर्छ। अन्यथा त्यसको जाँच हुनै सक्दैन।
यदि र्यापिड टेष्ट किटले पोजेटिभलाई नेगेटिभ र नेगेटिभलाई पोजेटिभ रिजल्ट दियो भने त्यसको रिजल्ट जोखिमपूर्ण हुनसक्छ।
तर, र्यापिड टेष्ट किटको बेफाइदा के छ भने यसले अन्य मिल्दोजुल्दो लक्षण भएका रोगसँग पनि क्रम हुने भएकाले पोजेटिभ देखाउन सक्छ।
कोभिड१९ नयाँ रोग र र्यापिड टेष्ट किट पनि भर्खरै मात्र उत्पादन भएकाले धेरै परीक्षण हुन पाएका छैनन। उत्पादकले आफुले बनाएकाले राम्रो छ भन्ने दावी मात्र गरिरहेको अवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।