एजेन्सी- कोरोना भाइरसको संक्रमणमा परेर इटलीमा ४५ जना चिकित्सकले ज्यान गुमाएका छन्। सिएनएनका अनुसार इटालीको चिकित्सकहरुको संघका अनुसार अहिलेसम्म संक्रमणमा परेकामध्ये ४५ जना चिकित्सकले ज्यान गुमाइसकेका छन्।
इटालीमा कोरोना भाइरसको संक्रमण बढेपछि चिकित्सकहरुले व्यक्तिगत सुरक्षा कवचको माग गर्दै आएका छन्। इटालीमा कोरोना भाइरसको संक्रमण सुरु भएदेखि अहिलेसम्म ६ हजार बढी स्वास्थ्यकर्मी यसको संक्रमणको चपेटामा परिसकेका छन्।
दैनिक बढिरहेको संक्रमणमा परेका इटलीबासीको उपचारमा चिकित्सकहरु खटिए पनि उनीहरुको सुरक्षामा आवश्यक सामग्रीको अभाव हुँदा उनीहरु आफैं जोखिममा परिरहेका छन्।
कोरोना भाइरसको संक्रमितको सम्पर्कमा आउने आफैं संक्रमणको जोखिममा पर्ने भएपछि विश्व स्वास्थ्य संगठनले उपचारमा खटिने स्वास्थ्यकर्मीलाई संक्रमणबाट जोगाउन पर्सनल प्रोटेक्सन इक्युप्मेन्टमा जोड दिँदै आए पनि युरोप अमेरिकामा समेत अभाव देखिएको छ। बेलायतमा समेत बिहीबार एक चिकित्सकको मृत्यु भएको थियो। नेपालमा एक चिकित्सकको स्वास्थ्य परीक्षण गरिएकोमा संक्रमण नभएको पुष्टि भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।