काठमाडौं–बैंकर्स संघले सम्पूर्ण बैंकहरुलाई आफ्नो एटिएम बुथमा पैसा अभाव हुन नदिन अपिल गरेको छ। ग्राहकले चाहेका बेला पैसा झिक्न सक्ने गरि पैसाको व्यवस्था गर्न संघले अनुरोध गरेको हो। सरकारले एक साताका लागि लकडाउन गर्दा बैंकहरुले आफ्ना सम्पूर्ण शाखा कार्यालय खोल्न सम्भव नभएपछि संघले एटीएम बुथ नभएका काउन्टरमा कर्मचारी राख्नसमेत निर्देशन दिएको छ।
संघले सम्पूर्ण बैंकहरुलाई आफ्ना बैंकिङ कारोबार तथा सुविधा मोबाइल, फोन, इमेलमार्फते जानकारी गराउन र सेवा प्रदान गर्न भनेको छ।
एटीएम नभएका शाखाले केही समय पैसा राख्ने र झिक्ने कामका लागि खोल्नु पर्नेछ तर उनीहरुले अन्य बैंकिङ कारोबार गर्न पाउने छैनन्। बैंकहरुले नगद बाहेकका अन्य आकस्मिक सेवाका लागि मूल्य कार्यालय वा तोकिएका कार्यालयबाट प्रतितपत्र ‘एलसी’, ग्यारेन्टी, ट्रेजरी जस्ता सेवा उपलब्ध गराउने छन्।
स्थानीय निकायमा रहेका बैंकहरुले स्थानीय प्रशासनसँग अनुमति लिएर बैंकिङ कारोबार गर्न पाउने संघले जनाएको छ। बैंकले आफ्ना सुविधा प्रदान गर्दैगर्दा कर्मचारीको उपयुक्त स्वास्थ्य सुरक्षाको प्रवन्ध मिलाउनु पर्नेछ।
एटीएम नभएका शाखा कार्यालय बिहान ११ वजेदेखि एक बजेसम्म खोल्नु पर्नेछ। सरकारले मंगलबारदेखि लकडाउन गरे पनि बुधबार घोडेजात्राका कारण बैंकहरुले आफ्नो सुविधा प्रदान गरेका थिएनन्। तर बिहीबारदेखि भने बैकिङ सुविधा प्रदान गर्ने भएका हुन्।
संघले यस अगाडि नै सम्पूर्ण बैंकहरुलाई डिजिटल बैंकिङमार्फत् सेवा प्रदान गर्न अनुरोध गरिसकेको छ। बैंकहरुले सम्पूर्ण एटीएममा नियमित रुपमा पैसा हालेर ग्राहकहरुलाई पैसाको अभावको हुन नदिने योजना बनाएका छन्। बैंकहरुले तीन हजार ६६२ वटा एटीएममार्फत् बैंकिङ सुविधा प्रदान गर्दै आएका छन्। हाल बाणिज्य बैंकहरुका मात्रै तीन हजार २७४ वटा शाखा कार्यालय छन्।
प्रत्येक एटिएममा २० लाख रुपैयाँसम्म पैसा राख्न मिल्छ। यस आधारमा बैंकहरुले एटिएमका लागि मात्रै ७ अर्ब २७ करोड रुपैयाँ छुट्टाउनु पर्छ। यदि यसरी नै बैंकिङ कारोबार नहुने निक्षेप जम्मा नहुने अवस्था आयो भने केही समयमै बैंकहरु सँग नोट अभाव हुनेछ। नोटको अभाव हुने भएकाले पनि बैंकहरुले डिजिटल बैंकिङका लागि सम्पूर्ण ग्राहकलाई अनुरोध गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।