काठमाडौं-विश्वभर महामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोक्न विश्वका विभिन्न देशहरुले व्यापक उपाय अपनाउन थालेका छन्। त्यस्ता उपायमा विमानस्थल बन्द, यातायात प्रतिबन्धदेखि पूर्ण रुपमा सीमा बन्दसम्मका छन् ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरसको प्रकोपलाई महामारी घोषित गरिसकेको छ । यी हुन्, हालैका दिनहरुमा त्यस्ता उपाय अपनाउने देशः
अल्बानिया
अल्बानियाको सरकारले इटालीको उडानसहित छिमेकी देशबाट आउने सबै यात्रुलाई रोक्ने निर्णय गरेको छ।
अर्का सूचनासम्मका लागि गत मार्च १६ मा त्यहाँका अधिकारीरुले बेलायतमा हुने सबै उडान बन्द गरेका छन्। मार्च २२ मा अल्बानियाले सबै व्यावसायिक उडान बन्द गरेको थियो।
अल्जेरिया
त्यहाँको सरकारले गत मार्च १६ देखि युरोपसँगका हवाई र सामुद्रिक यात्रामा प्रतिबन्ध लगाएको थियो। यसअघि नै मोरक्को, स्पेन, फ्रान्स र चीनसँगको उडानमा अल्जेरियाले प्रतिबन्ध लगाएको थियो।
एङ्गोला
एङ्गोलाले हवाई, जमिन र सामुद्रिक नाका बन्द गरेको छ।
एन्टिगुवा र बर्बुडा
एन्टिगुवा र बर्बुडाले गत मार्च १२ मा २८ दिनअघि चीन, इटाली, इरान, जापान, दक्षिण कोरिया र सिंगापुर गएका नागरिकलाई प्रवेशमा प्रतिबन्ध लगाएका थिए।
अर्जेन्टिना
अर्जेन्टिनाले गत मार्च १५ मा कम्तिमा पनि दुई हप्ताका लागि सीमा बन्द गर्ने र मार्च १६ बाट सुरु हुनेगरि अमेरिका र युरोपका उडान रद्ध गर्ने निर्णय गरेको थियो।
अर्मेनिया
अर्मेनियाले गत मार्च २२ मा किराना पसलबाहेक सबै मल र पसल बन्द गर्ने निर्णय गरेको थियो।
अस्ट्रेलिया
अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले गत मार्च १९ मा आफ्ना नागरिक, स्थायी वासिन्दा र उनीका नातेदारबाहेकलाई सीमा बन्द गर्ने बताएका थिए ।
त्यसअघि मोरिसनले मार्च १८ मा ‘मानवीय जैविक सुरक्षा आपतकाल’ घोषणा गर्दै नागरिकलाई विदेश यात्रा नगर्न अनुरोध गरेका थिए।
अस्ट्रिया
अर्को सूचना नभएसम्मका लागि अस्ट्रियाले युरोपेली देशबाट प्रवेशमा प्रतिबन्ध लगाएको थियो। युरोपली क्षेत्रबाट प्रवेश गर्ने अनुमति पाएकाहरुलाई १४ दिन ‘सेल्फ क्वारेन्टाइन’मा बस्नुपर्ने नियम बनाएको थियो।
केही अपवादबाहेक हङ्गेरी, चेक रिपब्लिक, जर्मनी, स्वीटजरल्याण्ड र इटालीसँगका नाका बन्द गरेका छन्।
बहराइन
बहराइनले मार्च १८ मा अर्को सूचना नआएसम्मका लागि उडान घटाउने घोषणा गरेको थियो। त्यस्तै ‘अनअराइभल’ भिसा पनि रोकिएको छ ।
बंगलादेश
बंगलादेशले मार्च १६ देखि ३१ सम्म अमेरिकाबाहेक युरोपेली गन्तव्यका सबै उडान स्थगित गरेको थियो ।
बेलिज
बेलिजको स्वास्थ्य मन्त्रालयका अनुसार अधिकांश बन्दरगाह बन्द गरिएको छ। शान्ता इलेना सीमा र गोल्डसन अन्तर्राष्ट्रिय विमानस्थल भने खुला नै रहेका छन्। कार्गोबाहक साधन भने सबै बन्दरगाहबाट प्रवेश पाउने छन् ।
बोलिभिया
गत मार्च १८ देखि लागू हुने गरि बोलिभियाले बेलायत, आयरल्याण्ड र इरानबाट यात्रा प्रतिबन्ध लगाएको छ। यसअघि नै बोलिभियाले स्पेन, चीन, दक्षिण कोरिया र इटालीबाट आउने यात्रुलाई प्रतिबन्ध लगाएको थियो। त्यस्तै सीमा क्षेत्रमा कडा मेडिकल स्क्रिनिङको व्यवस्था गरेको छ। यो व्यवस्था आउँदो मार्च ३१ सम्म रहने सरकारले बताएको छ ।
ब्राजिल
ब्राजिलले मार्च १९ मा अर्जेन्टिना भेनेजुयला, पाराग्वे, बोलिभिया, पेरु, कोलम्बिया, सुरिनाम र फ्रेन्च गुयानाबाट आउनेहरुलाई यात्रा प्रतिबन्ध गरेको थियो।
१५ दिनसम्म कायम रहने यो व्यवस्था अन्तर्राष्ट्रिय संघसंस्थामा कार्यरत र कूटनीतिज्ञका हकमा यो लागू हुने छैन।
बुल्गेरिया
बुल्गेरियाले टर्कीसँगको सीमा बन्द गरेको छ । मार्च १५ बाट लागू हुने गरि इटाली र स्पेनबाट आउने उडान बन्द गरिएको थियो।
कम्बोडिया
कम्बोडियाले गत मार्च १७ देखि इटाली, जर्मनी, स्पेन, फ्रान्स, इरान र अमेरिकाबाट आउने विदेशीलाई प्रतिबन्ध लगाएको थियो ।
क्यामरुन
क्यामरुन सरकारले मार्च १८ देखि अनिश्चितकालसम्मका लागि स्थल, वायु र सामुद्रिक नाका बन्द गरेको छ। कार्गो विमानबाहेक सबै अन्तर्राष्ट्रिय उडान ‘ग्राउन्डेड’ भएका छन् ।
क्यानडा
क्यानडाले गत मार्च १६ मा सीमा बन्द गर्ने र क्यानडेली नागरिक र स्थायी बासिन्दा बाहेकलाई प्रवेश प्रतिबन्ध लगाएको थियो। यद्यपि क्यानडेली नागरिकका नातेदार, विमान कम्पनीका कर्मचारी, कूटनीतिज्ञ र अमेरिकी नागरिकलाई भने यो नियम लाग्दैन।
चिली
चिलीले १८ मार्चदेखि सुरु हुनेगरि अनिश्चितकालसम्मका लागि सीमा बन्द गरेको छ। कोरोनाको उच्च जोखिम भएका कुनै पनि देशबाट आउनेहरु १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने छ ।
चीन
चीनले देशबाहिरबाट आउनेलाई १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने नियम बनाएको छ भने विभिन्न देशसँगका सीमा बन्द गरेको छ । त्यस्तै अन्तर्राष्ट्रय उडानमा यात्रु संख्या घटाउने नियम पनि चीनले बनाएको छ ।
कम्बोडिया
कम्बोडियाले गत मार्च १६ देखि ३० सम्मलाई स्थल, वायु र सामुद्रिक नाका बन्द गरेको छ। यसमा दैनिक हजारौं शरणार्थी आउने भेनेजुयला पनि रहेको छ। कम्बोडियाले मार्च २५ देखि आन्तरिक उडान पनि बन्द गर्दै छ।
कङ्गो रिपब्लिक
गणतन्त्र कङ्गोले सबै सीमा बन्द गरेको छ ।
कोस्टारिका
संकटकाल घोषणा गरिसकेको कोस्टारिकाले मार्च १८ देखि विदेशीका लागि सीमासमेत बन्द गरेको छ।
क्रोएसिया
मार्च १२ मा क्रोएसियाले अन्तर्राष्ट्रिय सीमामा शृंखलाबद्ध प्रतिबन्ध घोषणा गरेको थियो। चीन, इटालीजस्ता कोरोना अतिसंक्रमित देशबाट आउनेहरु १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने छ । भाइरससंक्रमित स्पेन, अमेरिका र स्वीडेनजस्ता कोरोना भाइरस प्रभावित देशबाट आउने नागरिक दुई सातासम्मका लागि ‘सेल्फ क्वारेन्टाइन’मा बस्नुपर्ने छ ।
साइप्रस
साइप्रसले मार्च १३ मा १५ दिनका लागि सीमा बन्द गर्ने घोषणा गरेको थियो। तर, साइप्रसका नागरिक, त्यहाँ काम गर्ने युरोपेली नागरिक र विशेष अनुमति भएकालाई भने यो नियम लागू हुने छैन।
चेक रिपब्लिक
चेक रिपब्लिकका प्रधानमन्त्रीले गत मार्च १२ मा जर्मनी र अस्ट्रियासँगका नाका बन्द गर्ने र कोरोनाको उच्च जोखिममा रहेका देशका नागरिकलाई प्रवेश प्रतिबन्ध लगाएको थियो। जोखिम भएका देशमा आफ्ना नागरिकलाई जान पनि चेकले प्रतिबन्ध लगाएको छ ।
डेनमार्क
मार्च १३ मा डेनमार्कले गैर नागरिकका लागि अस्थायीरुपमा सीमा बन्द गरिएको बताएको थियो।
डोमेनिकन गणतन्त्र
डोमेनिकन गणतन्त्र सरकारले मार्च १६ बाट लागू हुने गरि युरोप क्षेत्रका उडान र पानीजहाँजबाट आउने सबै यात्रुलाई एक महिनाका लागि प्रतिबन्ध लगाएको थियो।
जिबुटी
गत मार्च १५ मा सबै अन्तर्राष्ट्रिय उडान स्थगन गरेको जिबुटीले जनाएको छ ।
इक्वेडर
मार्च १६ देखि लागू हुने गरि इक्वेडरले १२ दिनका लागि सीमा पूर्ण रुपमा बन्द गरेको थियो ।
इथोपिया
गत मार्च २० मा इथोपियाले अफ्रिकी महादेशकै ठूलो सरकारी ध्वजाबाहक उड्यन कम्पनीले ३० देशमा उडान स्थगन गरेको थियो। मार्च २३ देखि सबै आगन्तुकले अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने नियम बनाएको थियो। त्यस्तै इथोपियाले स्थलमार्गसमेत बन्द गर्ने घोषणा गरेको छ ।
इजिप्ट
मार्च १९ देखि ३१ सम्मका लागि सबै हवाई उड्यन बन्द गर्ने घोषणा इजिप्टले गरेको छ ।
एल साल्भाडोर
मार्च १६ देखि एल साल्भाडोरले सबै व्यावसायिक उडान बन्द गरेको छ। गत मार्च ११ मै एल साल्भाडोरले कूटनीतिज्ञ र वैध बासिन्दाबाहेक सबैलाई प्रवेश प्रतिबन्ध लगाएको थियो। प्रवेश अनुमति पाएका सबैलाई ३० दिनसम्म क्वारेन्टाइनमा बस्नै पर्ने नियम बनाएको छ ।
फिनल्याण्ड
फिनल्याण्डले मार्च १९ देखि लागू हुनेगरि सीमामा सघन प्रतिबन्ध लगाउने बताएको थियो ।
फ्रान्स
फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्राँेले गत मार्च १६ मा सीमा बन्द गर्ने घोषणा गरेका थिए। फ्रान्सेली नागरिकलाई भने घर फर्कन अनुमति दिइने छ ।
युरोप क्षेत्रको बाहिरी नाकासमेत मार्च १७ देखि ३० दिनलाई बन्द गरिएको छ ।
गाम्बिया
गाम्बियाले छिमेकी सेनेगलसँगको सीमा २१ दिनका लागि बन्द गर्ने निर्णय गत मार्च २३ मा गरेको थियो ।
जर्जिया
सबै नाका बन्दै गर्दै जर्जियाले विदेशीलाई प्रवेश प्रतिबन्ध लगाएको छ । मार्च २० देखि हवाई उडानसमेत बन्द गरेको छ ।
जर्मनी
मार्च १६ देखि जर्मनीले अस्ट्रिया, स्वीट्जरल्याण्ड, फ्रान्स, लक्जमबर्ग र डेनर्माकसँगको सीमा बन्द गरेको थियो । इटाली, स्पेन, अस्ट्रिया, फ्रान्स, लक्जमबर्ग र डेनमार्कका उडान प्रतिबन्ध गरेको छ । यो व्यवस्था डेनमार्कसँगको जलयातायातका हकमा पनि लागू हुने छ ।
घाना
घानाले मार्च १७ देखि सुरु हुने गरि प्रवेश प्रतिबन्ध लगाएको छ भने १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने नियम बनाएको छ ।
ग्रिस
ग्रिसले मार्च १४ देखि सबै उडान बन्द गरेको छ, जुन मार्च २९ सम्म लागू हुने छ ।
ग्रेनेडा
ग्रेनेडाले हङकङ, चीन, दक्षिण कोरिया, जापान, सिंगापुर, इरान, इटाली, जर्मनी लगायतका देशबाट आउनेलाई अनिवार्य क्वारेन्टाइनमा जानुपर्ने नियम बनाएको छ।
ग्वाटेमाला
ग्वाटेमालाले सबै नागरिकका लागि मार्च १६ देखि ३० सम्मका लागि उडानमा प्रतिबन्ध लगाएको छ ।
गुयाना
अन्तर्राष्ट्रिय यात्रुलाई लक्षित गर्दै गुयानाले मार्च १८ देखि १४ दिनका लागि विमानस्थल आंशिक रुपमा बन्द गरेको छ ।
हाइटी
हाइटी सरकारले मार्च १९ मा राज्यमा आपतकाल घोषणा गरेको थियो। सबै सीमा बन्द गर्दै कफ्र्यूसमेत घोषणा गरेको छ । अमेरिकाबाहेक सबै देशका उडान स्थगित गरेको छ।
होन्डुरस
कार्गोबाहेक सबैका लागि होन्डुरसले सीमा बन्द गर्न आदेश दिएको छ ।
हङ्गेरी
मार्च १६ मा अन्तर्राष्ट्रिय यात्रुका लागि सीमा बन्द गरेको थियो ।
भारत
मार्च १८ मा भारतले अधिकांश देशका लागि राहादानी दिन बन्द गरेको थियो ।
मार्च १७ देखि फ्रान्स, स्पेन र जर्मनीका लागि अर्को सूचना जारी नभएसम्मका लागि भिसा जारी गर्न बन्द गरेको थियो । मार्च २२ मा एक साताका लागि सबै अन्तर्राष्ट्रिय उडान बन्द गरेको थियो । छिमेकी देशहरुसँगको सीमा बन्द गरेको भारतले २१ दिनका लागि ‘लकडाउन’घोषणा गरेको छ।
इराक
इराकले मार्च १५ देखि सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ ।
इटाली
इटालीले गत मार्च १० मा १ करोड ६० लाख मानिसलाई क्वारेन्टाइनमा राखेको थियो।
जमैका
जमैकाले इरान, चीन, दक्षिण कोरिया, इटाली, सिंगापुर, जर्मनी, स्पेन, फ्रान्स र बेलायतबाट आउने यात्रुलाई प्रतिबन्ध लगाएको छ।
जापान
जापानले चीन, इरान र इटालीका यात्रुलाई प्रवेश प्रतिबन्ध लगाएको छ ।
जोर्डन
जोर्डनले मार्च १७ मा इजरायल र इजरायल नियन्त्रित पश्चिमी किनारा क्षेत्रको सीमा र इजिप्टसँगको सामुन्द्रिक बन्दरगाह बन्द गरेको छ । त्यस्तै इराकबाट हुने उडानसमेत बन्द गरेको छ।
लेबनान र सिरियामा यात्रा प्रतिबन्ध लगाएको जोर्डनले फ्रान्स, जर्मनी र स्पेनबाट आउनेलाई प्रवेश प्रतिबन्धसमेत लगाएको छ ।
कजाकस्तान
मार्च १५ मा संकटकाल घोषणा गरेको कजाकस्तानले आफ्ना नागरिक र कूटनीतिज्ञ बाहेकलाई प्रवेश प्रतिबन्ध लगाएको छ ।
केन्या
केन्याले कोभिड–१९का बिरामी देखिएका सबै देशमा यात्रा प्रतिबन्ध गरेको छ।
कुवेत
सबै व्यावसायिक उडान बन्द भएका छन् ।
किर्गिस्तान
गत मार्च १७ मा किर्गिस्तानले सबै विदेशीलाई प्रवेश प्रतिबन्ध लगाएको छ।
लाटभिया
लाटभियाले हवाई, स्थल, सामुन्द्रिक र रेलबाट हुने यात्रा प्रतिबन्ध लगाएको छ ।
लेबनान
लेबनान सरकारले मार्च ११ मा इटाली, इरान, चीन र दक्षिण कोरियाबाट हुने सबै उडान स्थगित गरेको थियो ।
लिबिया
संयुक्त राष्ट्रसंघसमर्थित लेबनानी सरकारले मिस्राता अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै उडान बन्द गरेको थियो। सीमासमेत बन्द भएका छन् ।
लिथुआनिया
मार्च १६ मा लिथुआनियाले विदेशीका लागि सीमा बन्द गरेको थियो। व्यापारिक यात्राबाहेक त्यहाँका सबै नागरिकलाई विदेश यात्रामा प्रतिबन्ध लगाइएको छ।
मडागास्कर
मार्च २० बाट लागू हुने गरि मडागास्करले व्यापारिक उडान ३० दिनका लागि बन्द गरेको थियो । संक्रमित देशबाट आउने सबैलाई अनिवार्य क्वारेन्टाइनमा राखिने व्यवस्था गरिएको छ।
मलेसिया
मलेसियाले मार्च १६ देखि ३१ सम्मका लागि सीमा बन्द गरेको छ ।
माल्दिभ्स
चीन, इटाली, बंगलादेश, इरान, मलेसिया, जर्मनी, दक्षिण कोरिया र बेलायतबाट आउने यात्रुलाई प्रवेश प्रतिबन्ध गरिएको छ। चीन, दक्षिण कोरिया र इटालीसँगका सिधा हवाई उडान स्थगन गरिएको छ।
माली
भाइरस प्रभावित देशका लागि मालीले मार्च १९ देखि हवाई उडान प्रतिबन्ध गरेको छ।
मेक्सिको
मेक्सिकोले मार्च २० सम्म अमेरिकासँगको सीमामा अनावश्यक यात्रामा प्रतिबन्धका लागि सहमत भएको थियो। यसमा ३० दिनपछि पुनरावलोकन गरिने छ।
मोरक्को
मार्च १४ मा मोरक्कोले २५ देशका लागि उडान स्थगन गरेको छ ।
नेपाल
मंगलबारदेखि एक साताका लागि नेपालमा ‘लकडाउन’को घोषणा गरिएको छ । चीन र भारतसँगका सीमा एक साताका लागि बन्द गरिएको छ भने सबै अन्तर्राष्ट्रिय उडान रद्ध गरिएका छन्।
नेदरल्याण्ड
नेदरल्याण्डमा यात्रा गर्न चाहने गैरयुरोपेली मुलुकका यात्रुलाई मार्च १९ देखि यात्रामा कडाइ गरिएको छ।
न्युजिल्याण्ड
मार्च १९ देखि न्युजिल्याण्डले सबै गैर नागरिकका लागि सीमा बन्द गरेको छ।
नाइजेरिया
चीन, इटाली, इरान, दक्षिण कोरिया, स्पेन, जापान, जर्मनी, अमेरिका, नर्वे, बेलायत, स्वीट्जरल्याण्ड र नेदरल्याण्डबाट आउने यात्रुलाई प्रवेश प्रतिबन्ध लगाउने घोषणा नाइजेरियाले मार्च १८ मा गरेको थियो ।
नर्वे
नर्वेले मार्च १६ देखि बन्दरगाह र विमानस्थल बन्द गरेको छ । सीमा बन्द नगरिने तर प्रवेश विन्दुमा कडाइ गरिने नर्वेले बताएको छ।
ओमन
ओमानले सबै पर्यटन भिसा बन्द गरेको छ भने पानीजहाजमा पनि प्रतिबन्ध लगाएको छ ।
पाकिस्तान
मार्च २१ मा पाकिस्तानले अप्रिल ४ सम्मका लागि सबै अन्तर्राष्ट्रिय उडान बन्द गरेको थियो।
पराग्वे
मार्च २६ सम्मका लागि पाराग्वेले युरोप क्षेत्रका उडान बन्द गरेको थियो। ब्राजिलसँग जोड्नै मैत्री पुलमाथिको आवागमनमा पनि प्रतिबन्ध लगाइएको छ ।
पेरु
मार्च १५ मा संकटकाल घोषणा गर्दै पेरुले कम्तिमा पनि १५ दिनका लागि सीमा बन्द गर्ने निर्णय गरेको थियो ।
फिलिपिन्स
अप्रिल १४ सम्मका लागि आन्तरिक र बाह्यि उडान बन्द गरिएका छन् ।
पोल्याण्ड
पोल्याण्डले मार्च १३ मा विदेशीहरुका लागि प्रवेश प्रतिबन्ध लगाउने घोषणा गरेको थियो।
पोर्चुगल
बेलायत, अमेरिका, क्यानडा, भेनेजुयला, दक्षिण अफ्रिकासहित युरोपेली क्षेत्रमा पोर्चुगलले उडान प्रतिबन्ध लगाएको छ।
कतार
कतारले मार्च १८ कार्गो र ट्रान्जिट उडानबाहेक सबै उडान बन्द गर्ने घोषणा गरकोे थियो।
रोमानिया
त्यहाँको सरकारले मार्च २१ देखि प्रवेश प्रतिबन्ध लगाएको छ भने देशभित्रै पनि यात्रा प्रतिबन्ध लगाएको छ ।
रुस
मार्च १४ मा रुसी सरकारले पोल्याण्ड र नर्वेसँगको सीमा बन्द गर्ने घोषणा गरेको थियो।
रुवान्डा
गत मार्च २२ मा रुवान्डाले अत्यावश्यउकीय वस्तु, कार्गो र स्वदेश फर्किरहेका नागरिकको प्रवेशबाहेक सीमा पूर्ण रुपमा बन्द गरेको छ।
सेन्ट लुसिया
फ्रान्स, जर्मनी, स्पेन, बेलायत, चीन, जापान, दक्षिण कोरिया, इटाली र सिंगापुरबाट आउने यात्रुका लागि सेन्ट लुसियाले प्रवेश प्रतिबन्ध लगाएको छ ।
साउदी अरेबिया
मार्च १५ मा साउदी अरेबियाले सबै अन्तर्राष्ट्रिय उडान स्थगित गरेको छ।
सर्विया
सर्वियाले मार्च १९ मा विमानस्थल, सडक र सीमा क्षेत्रको रेल सेवा बन्द गर्ने घोषणा गरेको छ।
सिंगापुर
सिंगापुरले फ्रान्स, जर्मनी, इटाली र स्पेनबाट आएकालाई १४ दिनसम्म प्रवेशमा रोक लगाएको छ।
स्लोभेनिया
मार्च ११ मा इटालीसँगको सीमा बन्द गर्दै स्वास्थ्य जाँच सुरु गरेको थियो।
सोमालिया
सोमालियाले सबै अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको छ ।
दक्षिण अफ्रिका
दक्षिण कोरियाले इटाली, इरान, दक्षिण कोरिया, स्पेन, जर्मनी, फ्रान्स, स्वीट्जरल्याण्ड, अमेरिका, चीनसहित कोरोना संक्रमणको जोखिम भएका देशबाट वा ट्रान्जिट बनाएका यात्रुको प्रवेशमा प्रतिबन्ध लगाएको छ ।
दक्षिण कोरिया
मार्च १७ मा दक्षिण कोरियाले सीमा जाँचमा कडाइ गरेको बताएको थियो।
स्पेन
स्पेनले ३० दिनसम्मका लागि विदेशीहरुलाई यात्रा प्रतिबन्ध लगाएको छ ।
श्रीलंका
मार्च २२ मा श्रीलंकाले सबै उडान र पानीजहाजमा अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको छ।
सुडान
मार्च १६ मा सुडानले सबै विमानस्थल, बन्दगाह र सीमा बन्द गरेको थियो ।
सुरिनाम
सुरिनामले मार्च १४ मा सबै स्थल र सामुन्द्रिक नाका बन्द गरेको थियो ।
स्वीडेन
स्वीडेनले ३० दिनका लागि देशबाहिरका अनावश्यक यात्रामा कडाइ गरेको छ ।
ताजिकिस्तान
मार्च २० देखि ताजिकिस्तानले चीन, इरान, इटाली र दक्षिण कोरियाबाट आउने यात्रुलाई आउन प्रतिबन्ध लगाएको छ।
ट्युनिसिया
ट्युनिसियाले मार्च १६ मा सीमा र अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ।
टर्की
ग्रिस र बुल्गेरियासँगका सीमा बन्द गरेको टर्कीले कोरोना भाइरस प्रभावित देशमा उडान प्रतिबन्ध लगाएको छ।
तुर्कमेनिस्तान
तुर्कमेनिस्तानले सबै अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ।
युगान्डा
मार्च १८ मा इटालीजस्ता कोरोना संक्रमित देशमा यात्रा प्रतिबन्ध लगाएको थियो। मार्च २२ देखि सबै उडान बन्द गरेको थियो।
युक्रेन
युक्रेनले मार्च १३ मा सबै विदेशीलाई प्रवेश प्रतिबन्ध लगाएको थियो।
युएई
युएईले लेबनान, सिरिया, टर्की र इराकमा मार्च १७ देखि लागू हुने गरि अनिश्चितकालसम्मका लागि उडान स्थगित गरेको छ।
बेलायत
मार्च १७ मा अनावश्यक यात्रा नगर्न सुझाव दिएको बेलायतले सोमबार देशभर ‘लडकडाउन’को घोषणा गरेको छ ।
अमेरिका
अमेकिाले कोरोना प्रभावित चीन, इरान, अस्ट्रिया, बेल्जियम, चेक गणराज्य, डेनमार्क, एस्टोनिया, फिनल्याण्ड, फ्रान्स, जर्मनी, ग्रीस, हंगेरी, आइसल्यान्ड, इटाली, लाटभिया, लिथुआनिया, लक्जमबर्ग, माल्टा, नेदरल्याण्ड, नर्वे, पोल्याण्ड, पोर्चुगल, स्लोभाकिया, स्लोभेनिया, स्पेन, स्विडेन, स्विजरल्याण्ड, बेलायत र आयरल्यान्ड लगायतका देशका यात्रुलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएको छ ।
उरुग्वे
मार्च २० बाट सुरु हुने गरि युरोपेली मुलुकमा उडानमा प्रतिबन्ध लगाएको छ।
उज्बेकिस्तान
विदेशी नागरिकलाई प्रवेश प्रतिबन्ध लगाइएको छ ।
भेनेजुयला
भेनेजुयलाले युरोप क्षेत्रका सबै उडान स्थगन गरेको छ ।
भियतनाम
कोरोना भाइरस प्रभावित क्षेत्रमा सबै उडान स्थगन गर्ने निर्णय मार्च २१ मा भएको थियो ।
यमन
सबै अन्तर्राष्ट्रिय उडान बन्द गर्ने घोषणा मार्च १४ मा गरिएको थियो ।
(एजेन्सीको सहयोगमा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।