एजेन्सी–विश्वभर १८ हजारभन्दा बढी मानिसको ज्यान लिइसकेको कोरोना भाइरसको कहर रोकिएको छैन। चीनको वुहानबाट सुरु भएको यो भाइरसले हरेक दिन हजारौं मानिस मर्ने क्रम जारी छ। यहीबीचमा चीनमा अर्को खतरनाक भाइरस भेटिएको छ। हन्टाभाइरस नामको यो भाइरसले युनान प्रान्तमा बसमा यात्रा गरिरहेकै अवस्थामा एक जनाको मृत्यु भएको छ।
चिनियाँ अखबार ग्लोबल टाइम्सलाई उद्दृत गर्दै दैनिक भास्करले जनाएअनुसार ती व्यक्तिको मृत्यु हन्टा भाइरसबाट भएको पुष्टि भएको छ। प्रकाशित समाचारअनुसार यो भाइरसबाट मृत्यु हुने खतरा कोरोनाको तुलनामा २४ प्रतिशत बढी रहेको बताइएको छ। बसमा यात्रारत रहेको अवस्थामा मृत्यु भएपछि उक्त बसमा सवार अन्य ३२ जनाको पनि परीक्षण भइरहेको बताइएको छ।
चिनियाँ सेन्टर फर डिजिज कन्ट्रोलअनुसार यो भाइरस मुसाबाट फैलन्छ। तर हावाबाट भने फैलदैन। मुसाको दिसा, पिसाबको सम्पर्कमा आएका व्यक्तिमा यो भाइरस सर्ने सम्भावना रहेको बताइएको छ।
यो भाइरसका संक्रमितमा सुरुमा थकान, ज्वरो, मांसपेशीमा दुखाइ, टाउको दुख्ने, रिंगटा लाग्ने, चिसो लाग्ने र पेट दुख्ने हुन्छ । सुरुमा उपचार नगरिए न्युन रक्तचाप, हृदयाघात, मिर्गौला फेल हुने खतरा रहेको बताइन्छ।
कोरोनाबाट हुने मृत्युदर १४ प्रतिशत रहेकोमा हन्टा भाइरसबाट हुने मृत्यु ३८ प्रतिशत रहेको बताइन्छ। अर्थात् कोरोनाबाट भन्दा यो भाइरसबाट हुने मृत्युदर २४ प्रतिशत बढी हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।