काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पेट्रोलियम पदार्थ र खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको आपूर्तिमा कुनै समस्या रहेको जनाएको छ।
सरकारले मंगलबारबाट लकडाउनको घोषणा गरेपनि औषधि, खाद्यान्न, ग्यासलगायत अत्यावश्यक वस्तुको बिक्री वितरणमा सहजताका लागि पसल खुला राख्न भनेको छ।
मन्त्रालयका अनुसार अहिले कुनै पनि वस्तुको अभाव बजारमा छैन भने मौज्दातको अवस्था पनि पर्याप्त छ। मंगलबारसम्ममा सरकारसँग २५ हजार ८ सय १८ मेट्रिक टन चामल मौज्दात रहेको छ।
यसले करीब ३ महिनासम्मको माग धान्न सक्छ। त्यस्तै चिनी ७ हजार ५ सयम मेट्रिक टन मौज्दात छ भने २ हजार ५ सय मेट्रिक टन आयातको क्रममा रहेको छ। साल्ट ट्रेडिङसँग १ लाख ५९ हजार मेट्रिक टन नुन मौज्दात छ, जसले १० महिनासम्मको बजार माग धान्न सक्छ।
त्यस्तै पेट्रोलियम पदार्थमा पनि कुनै अभाव नरहेको र आपूर्ति नियमित रुपमा भइरहेको मन्त्रालयले जनाएको छ। मंगलबार डिजेल २ हजार ५ सय ५२ किलोलिटर आपूर्ति भएको छ भने २ हजार ७ सय २१ किलोलिटर बिक्री भएको छ।
नेपाल आयल निगमसँग मंगलबारसम्ममा ५ हजार १ सय ४७ किलोलिटर डिजेल मौज्दात छ। त्यस्तै पेट्रोल ५ हजार ३ सय ८० किलोलिटर आयात भएको छ भने ८ हजार ६ सय ३७ किलोलिटर खपत र ३४ हजार १ सय ७४ किलोलिटर मौज्दात रहेको छ।
मट्टितेल र हवाई इन्धन क्रमशः २ हजार ६ सय ८३ किलोलिटर र ७ हजार १ सय ७६ किलोलिटर बराबर हो। यसरी कुल ४९ हजार ९ सय ८० किलोलिटर पेट्रोलियम पदार्थ निगमसँग मौज्दात छ। अहिलेको मौज्दातले औसत १० दिनको माग धान्छ।
तर मंगलबारबाट अत्यावश्यक बाहेक सबै प्रकारका सवारी साधनको संचालनमा रोक लगाइएका कारण पेट्रोलियम पदार्थको माग ८० प्रतिशतसम्म घटेको निगमले जनाएको छ।
त्यस्तै खाना पकाउने एलपिजी ग्यासको बजारमा केही अभाव देखिएपनि नियमित आपूर्ति भइरहेकाले अभाव नहुने मन्त्रालयले मंगलबार जारी गरेको सूचनामा भनिएको छ। मार्च महिनाको कोटा ५० हजार मेट्रिक टन बराबर रहेकोमा मंगलबारसम्म ३१ हजार ९ सय ४४ मेट्रिक टन ग्यास आयात भइसकेको छ।
आपूर्तिमा कुनै असहज परिस्थिती नरहेपनि वितरणमा देखिएको समस्याका कारण ग्यास अभाव देखिएको समेत आयल निगमले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।