काठमाडौं- भारत सरकारले कोरोनाको प्रभाव तथा संकलन बढ्दै जाँदा अर्थतन्त्रसँग सम्बन्धित १० वटा घोषणा गरेको छ। जनतालाई लक्षित गरी केन्द्रीय वित्तमन्त्री निर्मला सिथारमणले यस्तो घोषणा गरेकी हुन्।
यस्तो छ भारत सरकारको घोषणा
अबको ३ महिनासम्म एटिएमबाट पैसा निःशुल्क निकाल्न सकिनेछ। कुनै पनि बैंकको एटिएम कार्ड अर्को बैंकको एटिएम बुथमा प्रयोग गरेर पैसा निकाल्दा कुनै पैसा लाग्दैन। विद्युतीय कारोबारको शुल्क पनि भारत सरकारले घटाइएको छ।
सरकारले आधार पिन लिंक गर्ने अन्तिम समय ३ महिना थपेको छ। मार्च ३१ मा यो समय सकिने व्यवस्था रहेकोमा यसलाई बढाएर ३० जुन २०२० सम्म थपिएको छ।
सरकारले 'विवाद से विश्वास' स्किमको अवधि पनि बढाएको छ। मार्च ३१ अन्तिम मिति रहेकोमा अब यसलाई बढाएर जुन ३० बनाइएको छ। योबीचमा कुनै जरिवाना पनि नलाग्ने पनि केन्द्र सरकारले घोषणा गरेको छ।
आर्थिक वर्षग २०१८/२०१९ को ट्याक्स रिटर्न फाइल गर्ने अन्तिम समय बढाएर जुन ३० पुर्याइएको छ। यसअघि यो अवधि मार्च ३१ सम्म थियो। सरकारले तोकेको नयाँ अवधिको कुनै जरिवाना लाग्ने छैन भने ब्याज १२ प्रतिशतबाट घटाएर ९ प्रतिशत कायम गरिएको छ।
सरकारले टिडिएस जम्मा गर्ने समय बढाएको छैन। तर जुन ३० पछि टिडिएस जम्मा भए ९ प्रतिशतमात्रै ब्याजदर लाग्नेछ। अहिले यस्तो ब्याजदर १८ प्रतिशत लाग्ने व्यवस्था छ। सरकारले ब्याजदर ५० प्रतिशत हटाइदिएको हो।
जिएसटी फाइलिङका लागि पनि राहत दिइएको छ। मार्च, अप्रिल र मेको जिएसटी रिटर्न भर्ने समय सीमा बढाएर ३० जुन २०२० पुर्याइएको छ।
५ करोड भारुसम्म वार्षिक कारोबार गर्ने कृषि कम्पनीले जिएसटी भर्दा कुनै ब्याज वा हर्जना तिर्नुपर्ने छैन। योभन्दा धेरै कारोबार गर्ने कम्पनीले १५ दिनसम्मको ब्याज र जरिवाना तिर्नुपर्ने छैन।
सरकारले यस्ता कम्पनीका लागि १५ दिनपछि हर्जना लिए पनि बिलम्ब शुल्क ९ प्रतिशत झारिदिएको छ। कम्पोजिसन स्किम लिने समय पनि बढाएर जुन ३० पुर्याइएको छ।
वैदेशिक व्यापार सहज गर्न भन्सार जाँचपास सातै दिन २४ सै घण्टा हुने व्यवस्था मिलाइएको छ।
कर्पोरेट जगतलाई राहत दिन ६० दिनसम्म बोर्ड मिटिङ स्थगित गर्ने सुविधा दिइएको छ। यो राहत आगामी २ त्रैमाससम्म लागू हुनेछ।
वित्तमन्त्री सिथारमणले कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रभाव न्यूनीकरणका लागि सरकारले छिट्टै आर्थिक प्याकेज ल्याउने पनि घोषणा गरेकी छन्। सरकारले ढिला नगरी तत्काल यस्तो प्याकेज ल्याउने बताएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।