भद्रपुर–पूर्वी नाका काँकडभिट्टा भएर नेपाल प्रवेश गर्ने करीब तीन सय नेपाली भारतीय नाका पानीट्यांकीमा अलपत्र परेका छन्।
मन्त्रिपरिषद्को निर्णयानुसार सीमा नाका बन्द भएपछि उनीहरु अलपत्र परेका हुन् । तिनमा भारतका विभिन्न शहरबाट मजदूरी गरेर फर्कने तथा विद्यार्थी छन् ।
त्यसैगरी नेपालका विभिन्न सहरबाट मजदूरी गरेर घर फर्कने करीब तीन सय भारतीय काँकडभिट्टा नाकामा अलपत्र परेका छन्। इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी उपरीक्षक राजेन्द्र पोखरेलले सरकारको स्पष्ट निर्देशन नआएसम्म आफूले केही गर्न नसकिने जानकारी दिए।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरको टोली काँकडभिट्टा नाका निरीक्षणका लागि आउँदै छन्। जिल्ला ट्राभल सङ्घ झापाका अध्यक्ष नेत्र कार्कीले सरकारले सही निर्णय गरे पनि समय छोटो भएका कारण नाकामा दुवै देशका नागरिक अलपत्र परेको बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।