काठमाडौं- हंसराज हुलासचन्दले गत आर्थिक वर्षमा २१ अर्ब ६९ करोड रुपैयाँको बाइक तथा पार्टपुर्जाको व्यापार गरेको छ। चालु आवको ६ महिना अवधिमा बाइक, टायर, सर्वो लुब्रिक्यान्ट बिक्री गरेर १२ अर्ब ६९ करोड रुपैयाँ आम्दानी गरेको हो।
कम्पनीको आफ्नै एउटा बजाज शोरुम र केटिएम शोरुम तथा क्षेत्रीय स्तरमा १४८ वटा डिलरसिप छन्। हंसराजले अल्पकालीन तथा दीर्घकालीन गरि ५ अर्ब ७९ करोड रुपैयाँको कर्जा लिएको छ। इक्रा नेपालका अनुसार कम्पनीले उक्त कर्जाका लागि सबैभन्दा सुरक्षित रेटिङ ‘इक्रा एनपि ए टु’ प्राप्त गरेको छ।
उद्योग वाणिज्य महासंघका उपाध्यक्ष शेखर गोल्छाको ५३.८ प्रतिशत लगानी रहेको यस कम्पनीमा १९ शेयरधनी छन्। नेपालको व्यावसायिक घरानाको यस कम्पनीको वित्तीय अवस्था राम्रो भएका कारण सबैभन्दा राम्रो रेटिङ प्राप्त गरेको हो।
कम्पनीको जम्मा आम्दानीमा दुई पाङ्ग्रे सवारी साधनको बिक्रीमार्फत्को हिस्सा मात्रै ७४ प्रतिशत छ। त्यस्तै तीन पाङ्ग्रे सवारीसाधन तर्फको योगदान १४ प्रतिशत रहेको छ भने अन्य स्पेयर पार्टको बिक्रीको बजार हिस्सा ६ प्रतिशत छ। कम्पनीको तीन पाङग्रे सवारीसाधन तर्फको आम्दानीमात्रै ५५ प्रतिशतले सुधार भएको छ। तर दुई पाङ्ग्रे सवारीसाधन तर्फको आम्दानी भने १२ प्रतिशतले बढेको छ। पल्सर ब्राण्डले कम्पनीको आम्दानीमा थप टेवा पुर्याएको छ।
जम्मा बिक्रीमा एसेम्बल प्लान्टमार्फतको टेवा बढ्दै गएको छ। दुई पाङग्रे सवारी साधनतर्फ एसेम्बलिङ प्लान्टबाट मात्रै ५९ प्रतिशत र तीन पाङग्रेतर्फ १२ प्रतिशत उत्पादन गरिरहेको छ।
कम्पनीले दुई पाङ्ग्रे र तीन पाङग्रे सवारी साधन बिक्री गर्दै आएको छ। बजाज ब्राण्डको आधिकारिक बिक्रेता हुलासचन्दको बजार हिस्सा मात्रै ७२ प्रतिशत छ। केही वर्षदेखि कम्पनीको सञ्चालन मार्जिन सुधार हुँदै गएको छ। चार वर्षअगाडि यस्तो मार्जिन ४।६ प्रतिशत रहेकोमा गत वर्ष ७।५ प्रतिशत पुगेको छ। हंसराजकै सहायक कम्पनी हुलास अटोक्राफ्टले एसेम्बलिङ प्लान्ट सञ्चालन गर्दै आएको छ। नेपालमै एसेम्बल प्लान्ट सञ्चालन गर्दा सरकारले कर छुट प्रदान गरेकाले आम्दानीमा थप टेवा पुगेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।