राजविराज– सप्तरीका अधिकांश स्थानीय तहले विकास बजेटबाट सवारी साधन खरिद गरेर आलोचना खेपिरहेका बेला सप्तकोशी नगरपालिकाले मेयरका लागि गाडी किन्न छुट्याएको रकमले निर्माणका लागि प्रयोग हुने उपकरण खरिद गरेको छ।
मेयर उत्तमकुमार शर्माका लागि गाडी किन्न छुट्याइएको रकमले सडक निर्माणका लागि प्रयोग गरिने रोलर र पानी हाल्ने ट्यांकी खरिद गरिएको हो। सप्तकोशी नगरपालिकाको २०७६ असार ३१ गतेको नगरसभाले मेयरका लागि गाडी खरिद गर्न ५० लाख रुपैयाँ छुट्याएको थियो। सोहि रकमबाट ४२ लाखमा रोलर र ६ लाख रुपैयाँमा पानीको ट्यांकी खरिद गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत ललनकुमार कर्णले बताए।
नगरपालिकामा रहेको स१ज ४९० नम्बरको गाडी प्रमुख प्रशासकिय अधिकृत तथा कार्यालय प्रयोजनका लागि प्रयोग हुँदै आएको छ। मेयर/उपमेयरका लागि गाडी अभाव भएपछि नगरसभाले नै गाडी खरिद गर्ने निर्णय गरेको थियो। तर, गत मंसिरमा बसेको कार्यपालिका बैठकले उक्त बजेट रकमान्तर गरी रोलर र पानी ट्यांकी खरिद गर्ने निर्णय गरेको मेयर शर्माले बताए। नगरवासीको आवश्यक्ताका आधारमा उक्त निर्णय गरिएको उनको भनाइ छ।
एक महिनाभित्र एम्बुलेन्स
नगरपालिकाले नागरिकको आवश्यक्तालाई मध्यनजर गरी एम्बुलेन्स खरिदको प्रक्रियासमेत अघि बढाएको छ। एक महिनभित्र नगरपालिकाले आफ्नो एम्बुलेन्स संचालनमा ल्याउने मेयर शर्माले बताए।
समान्य अवस्थाबाहेक अधिकांश बिरामी धरान तथा विराटनगर पुर्याउनुपर्ने भएकाले नगरपालिकाले आफ्नै एम्बुलेन्स राखेर सुविधा दिन खोजेको उनको भनाइ छ।
चार स्थानीय तह मिलेर एउटा दमकल संचालन
सप्तरीमा आगलागीको जोखिम धेरै छ। वर्षेनी सयौं घर जल्छन, सर्वसाधारणको उठिवास हुन्छ। कतिपय आगलागीका घट्नामा सर्वसाधारणले ज्यानै गुमाउनु परेकाे छ।
यसै अवस्थालाई मध्यनजर गरी गत वर्ष सप्तरी निर्वाचन क्षेत्र नं. १ को स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट दमकल खरिद गर्न ७५ लाख रुपैयाँ छुट्याइएको थियो। सोहि रकमाबाट हाललाई कञ्चनरुप र सप्तकोशी नगरपालिका तथा तिरहुत र अग्निसाईर कृष्णासवरण गाउँपालिकाका लागि एउटा दमकल खरिद गरिएको शर्माले जानकारी दिए।
चार मध्ये कुनै पनि स्थानीय तहले आफनो छुट्टै व्यवस्था नगरेसम्म मिलेर संचालन गर्ने गरी सहमतिमै दमकल खरिद गरिएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।