काठमाडौं- विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले महामारी घोषणा गरेको छ। चीनको वुहानबाट फैलिएको कोरोना संक्रमण चीनभन्दा बाहिर १३ गुणा बढेको भन्दै महामारी घोषणा गर्ने निष्कर्षमा पुगिएको संगठनका प्रमुख डा टेड्रोस अधानोम घेब्रेयससको भनाइ छ।
पछिल्लो विवरणअनुसार २१ लाख ६७ हजार ९ सय ५५ जनालाई कोरोना संक्रमण भइसकेको छ भने १ लाख ४६ हजार ५५ जनाको मृत्यु भएको छ। उपचारपछि ५ लाख ५० हजार ९ सय ८७ जना घर फर्किएका छन्। पछिल्लो समय चीनमा संक्रमणको दर घटे पनि अमेरिका‚ इटालीलगायतका देशमा भने संक्रमणको दर तीव्र छ।
२१औं शताब्दीको दोस्रो दशकमा फैलिएको सबैभन्दा ठूलो महामारी कोराना नै हो। इतिहासमा यस्तै महामारी पटकपटक फैलिएका छन्।
लगभग सय वर्षको अन्तरालमा ठूला महामारी देखिने गरेका छन्। विगतको इतिहास हेर्दा प्रत्येक शताब्दीको दोस्रो दशकतिर यस्ता महामारी देखिएका छन्।
१९२० को स्पेनिस रुघा
‘स्पेनिस फ्लू’का नामले परिचित यो रुघा एक असमान्य घातक महामारी थियो। सन् १९१८ देखि १९२० सम्म रहेको यो महामारीका कारण विश्वभरका ५० करोड मानिस प्रभावित भएका थिए।
उक्त महामारीका कारण १ करोड ७० लाखभन्दा बढी मानिसको अनुमान गरिएको थियो।
मानव इतिहासमै सबैभन्दा घातक महामारी मानिएको यसको संक्रमण कहाँ उत्पति भएको थियो भनेर एकिन विवरण भने उपलब्ध छैन। महामारीका कारण बालबालिका र वृद्धवृद्धाहरुको मृत्यु हुने गरेको भए पनि स्पेनिस फ्लूका कारण युवा र वयस्कको मृत्युदर उच्च थियो।
यसको सम्बन्ध पहिलो विश्व युद्धसँग पनि जोडिएको छ। शैन्य शिविरमा बसेका लाखौं युवामा यो महामारी व्यापक रुपमा फैलिएको थियो। यसका लागि विभिन्न पक्षलाई जिम्मेवार ठानिएको छ।
युद्धमा खटिने सैनिक र शिबिरका मानिसको जीवनस्तर न्यून प्रकृतिको हुनु, भिडभाड, तनाव, त्रासका कारण पनि यसको संक्रमणका कारण धेरै मानिसको मृत्यु भएको मानिएको छ।
१८२० को हैजा
हैजाको पहिलो महामारीको रूपमा लिइने यसको संक्रमण सन् १८१७ देखि १८२४ सम्म फैलिएको थियो।
यसलाई एसियाको पहिलो महामारी हैजा पनि भनिएको छ।
भारतको कलकत्ता सहरबाट सुरु भएको यो हैजा दक्षिण पूर्वी एसिया, पूर्वी अफ्रिका र भूमध्यरेखीय तट क्षेत्रमा यो फैलिएको थियो। यो महामारीबाट कति मारिएका थिए भन्ने चाहिँ एकिन छैन।
१७२० को महाविपत्ति
फ्रान्सको मार्सिलेबाट उत्पत्ति भएको यो विपत्ति युरोप क्षेत्रको ठूलो प्रकोप हो। यसमा करिब एक लाख मानिसको मृत्यु भएको थियो।
ठूलो मात्रामा मृत्युको बावजुद पनि मार्सिलेबाट यो प्रकोपको नियन्त्रण चाँडै भएको थियो।
आर्थिक क्रियाकलाप समान्य अवस्थामा आउन केही वर्ष लागेको थियो। (एजेन्सीको सहयोगमा) -अपडेटेड
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।