काठमाडौं- राप्रपाको एकता घोषणा सभामा तीनै अध्यक्षले गीता छोएर पार्टी नफुट्ने वाचा गरेका छन्।
अध्यक्षहरुमध्ये सुरुमा सम्बोधन गरेका कमल थापाले गीता छोएर आफूले पार्टी नफुटाउने वाचा गरेका थिए।
'म आज तपाईंहरुलाई, राष्ट्रियसभागृहमा उपस्थित सम्पूर्ण कार्यकर्ता, देश र विदेशबाट हेरिरहनुभएका साथीहरूलाई साझी राखेर प्रतिज्ञा गर्दछु, म कहिल्यै पनि पार्टी फुटाउने छैन,' थापाले भनेका थिए।
उनले वाचा गर्दै गर्दा दर्शकदिर्घाबाट अविश्वास प्रकट भएको थियो। त्यसलाई ध्यान दिँदै थापाले गीताको पुस्तिका लिएर वाचा गरेका थिए।
'तपाईंहरुलाई विश्वास लागेन?', कार्यकर्ताको हुटिङलाई ख्याल गर्दै थापाले भने, 'मैले गीता ल्याएको छु। यो गीता हातमा राखेर हामी हिन्दूराष्ट्र चाहने, सनातन धर्मका पक्षपातीहरु यो गीता हातमा राखेर कसम खान्छु कि राप्रपालाई कदापी फुट्न दिने छैन।'
वाचा गर्दै उनले अन्य अध्यक्षलाई पनि वाचा गर्न सहज होस् भनेर पुस्तिका 'ड्यास'मै छाडेका थिए। 'यो गीता उहाँहरूलाई पनि चाहिन्छ कि, म यहीँ छाडेर जान्छु', उनले भने।
उनीपछि बोल्न आएका प्रकाशचन्द्र लोहनीले पनि थापाले छाडेका गीता छोए।
आफ्नो केही बेरको सम्बोधनलाई अन्त्य गर्दै उनले गीताकै प्रसंग निकाले। 'वचन नै सबैभन्दा ठूलो कुरा हो, यहाँ भागवत् गीता पनि रहेछ', उनले भने। त्यति भन्ने बित्तिकै कार्यकर्ताले हुटिङ गरेका थिए।
'हामी धर्म र कर्ममा विश्वास गरेर अगाडि जान्छौं। त्यसमा विश्वास चिन्ता नगर्नुस्। यही हो। धन्यवाद', उनले सम्बोधन सके। उनले गीता छुँदै ड्यास छाडेका थिए।
लोहनीपछि पशुपति शमशेर बोल्न आए। उनले पनि केही बेर सम्बोधन गरे। उनले आफ्नो सम्बोधन सक्दै गीता नछोई ड्यास छाड्न खोजेका थिए। तर कार्यकर्ताले हुटिङ गरिहाले।
थोरै अघि बढेका राणा ड्यासतिरै फर्किए। र गीता छुँदै र हाँस्दै वाचा गरे- यो पार्टी फुट्दैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।