काठमाडौं- नेपाल टेलिकमले हाल विस्तार गरिरहेको फोरजीको ठेक्का प्रकरण आफैंमा शंकास्पद छ। ११ अर्बमा सकिने परियोजनालाई १९ अर्ब पुर्याएर दिइएको ठेक्काको एकपछि अर्को बदमासी सार्वजनिक भइरहेका बेला टेलिकमको नेतृत्व भने ढाकछोप गर्न फाइभजी परीक्षणमा जुटेको छ।
टेलिकम व्यवस्थापनले अहिलेकै पूर्वाधारमा रहेर फाइभजी शुरु गर्न सकिने दाबी गरिरहेको छ। यति मात्रै होइन, टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले नेपाल लाइभसँग फोरजी विस्तारको काम सम्पन्न भएलगत्तै ५ ठाउँमा फाइभजीको परीक्षण गर्ने दाबी गरे।
तर नेपाल लाइभको खोजमा फोरजीका लागि जडान गरिएको प्रविधिबाट फाइभजी सेवा प्रवाहको प्रारम्भ गर्न सम्भव देखिन्न। टेलिकम नेतृत्वले फाइभजीको चर्चा शुरु गराउनुको अर्थ फोरजीमा भएको बदमासी छाँयामा पार्ने प्रयास मात्र रहेको पाइएको छ।
२०७३ पुस १७ देखि पोखरा र काठमाडौंबाट फोरजी सेजा सुरु गरेको टेलिकमले अहिले ७७ वटै जिल्लामा फोरजी सेवा पुर्याइसकेको छ। २०७३ मा परीक्षण गर्दा टेलिकमले थ्रीजी सेवा सञ्चालनमा रहेको टावर र पावरमा केही एन्टेना र रेडियो उपकरण जोडेर फोरजीको औपचारिक सुरुवात गरेको थियो।
यो योजननाको प्रारम्भ सेक्युरिटी प्रेस खरिदका लागि ७० करोड रुपैयाँ बार्गेनिङ गरेको अडियो बाहिरलगत्तै राजीनामा दिएका तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बर्खास्त गरेकी टेलिकमकी तत्कालीन प्रबन्ध निर्देशक कामिनीराज भण्डारीका पालामा फोरजी सेवा विस्तारको टेन्डर र शुरु भएको थियो।
फोरजी विस्तारका लागि ग्लोबल टेन्डर गरेकी कामिनीलाई बाँस्कोटाले असक्षम भनेर बर्खास्त गरेका थिए। कामिनीको पालामा अख्तियारमा परेको उजुरी फोरजी विस्तारमा बाधक बन्यो। फोरजीलगायतका काम गर्न नसकेको भन्दै बाँस्काटाले उनलाई बर्खास्त गरेलगत्तै अख्तियारको उजुरी पनि सल्टियो। बाँस्कोटाले १९ अर्ब रुपैयाँमा ठेक्का लगाए। अहिले त्यो ठेक्का विवादमा छ। अख्तियारले फोरजी विस्तारको उजुरी सल्टाउन मन्त्रालयलाई पत्र पठाएका आधारमा बाँस्कोटा ठेक्कामा हाबी भएपनि ठेक्कामा मन्त्रीको सहयोगीको रुपमा वर्तमान प्रबन्ध निर्देशक अधिकारी हाबी भएको जानकार स्रोतले बतायो।
‘कागजपत्र कसरी मिलाउन सकिन्छ भनेर सबै काममा अधिकारी नै खटिएका थिए,’ स्रोतले भन्यो।
यसरी सुरु भएको फोरजी सेवामा टेलिकमले खर्च गरेको रकम कुल लागतमा ४० देखि ५० प्रतिशत बढी भएको भन्दै छानबिनको माग भइरहेको छ। अख्तियार दुरुपयोग अनुसन्धानमा आयोगमा उजुरी परेको छ। सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको आवरणमा हुन लागेको भ्रष्टाचारको पोल खुलेसँगै अहिले फोरजीको ठेक्काको पनि छानबिनको माग उठेपछि यसलाई विषयान्तर गर्न टेलिकमले फोरजीका लागि जडान गरिएको प्रविधिबाट फाइभजी समेत सञ्चालन गर्न सकिने दाबी गरिरहेको छ।
फोरजीको सेवा विस्तारमै अमेरिकी एन्टेना भनेर चिनियाँ एन्टेना जडान गरिरहेको टेलिकमले अहिलेकै प्रविधिका आधारमा फाइभजी सेवा शुरु गर्न सम्भव छ या यो विषयान्तरको प्रयास मात्र हो?
यो प्रश्नको उत्तर पहिल्याउन नेपाल लाइभले टेलिकमका प्राविधिक इन्जिनियर, दूरसञ्चार प्राधिकरणका इन्जिनियर, पूर्व प्रबन्ध निर्देशकलगायतका जानकारहरूसँग जिज्ञासा राख्दा अहिलेको फोरजीको प्रविधिकै आधारमा फाइभजी सेवा विस्तार सम्भव नदेखिएको बताएका छन्।
०००
टेलिकमले फोरजी सेवा विस्तारमा छुट्टयाएको १९ अर्ब रुपैयाँमध्ये झन्डै ८ अर्ब रुपैयाँ पूर्वाधार विकास र बाँकी रकम फोरजीका लागि आवश्यक पर्ने एन्टेना, रेडियो उपकरण र कोर स्विचिङ सिस्टममा खर्च गर्दैछ। ८ अर्ब रुपैयाँमा ६ सय ४० वटा नयाँ बिटिएस टावर निर्माण हुनेछ। यही रकमले पावर र ट्रान्समिसनको काम समेत गर्नुपर्नेछ।
फोरजी विस्तारका लागि छनौट भएको दुई वटा कम्पनीमध्ये चिनियाँ कम्पनी जेडटिईले कोर नेटवर्कको काम मात्रै गर्नेछ। जानकारहरूका अनुसार यसको लागत लगभग पौने २ अर्ब हुनेछ। बाँकी १७ अर्बको काम भने हङकङस्थित सिसिएसआईले गर्नेछ।
यो कम्पनीले गर्ने कामलाई टेलिकमले रेडियो एक्सेस नेटवर्क (र्यान)को काम भनेको छ। सिसिएसआई कम्पनी हङकङ भनेर उल्लेख भएपनि यो हुवावेको आफ्नै कम्पनी हो। यसले टावर, पावर र ट्रान्समिसनको काम समेत गर्ने छ। साथै यही कम्पनीले एन्टेना र रेडियो उपकरणको समेत काम गरिरहेको छ। सम्झौतामा ‘मेड इन अमेरिका’को एन्टेनाको साटो ‘मेड इन चाइना’को तोकिएको मापदण्ड विपरीतको एन्टेना जडान गर्ने यही कम्पनी हो।
टुजीबाट फोरजीसम्म कसरी आइपुग्यो टेलिकम?
नेपाल टेलिकम अहिले टुजी, २.५ जी, थ्रीजी, फोरजी, एड्भान्स फोरजी (एलटी)हुँदै अहिले फाइभजीको चरणमा जाने तयारीमा छ। प्राविधिक जानकारहरूका अनुसार एक तह पार गरेर अर्को तहको प्रविधिमा प्रवेश गर्दा स्पेक्ट्रम नै फरक हुन्छ। टेलिकमले अहिलेसम्म टुजी ९ सय मेघाहर्ज ब्यान्डमा चलाइरहेको छ। थ्रीजी २१ सय ब्यान्डमा मात्रै चलाएको छ। थ्रीजी भनेको न ९ सय मा चल्छ, न १८ सयमा चल्छ। फोरजीलाई १८ सय मेघाहर्जको ब्यान्डमा चलाउन मिल्छ। तर, त्यसका लागि चाहिने एन्टेना र रेडियो उपकरण अरुको भन्दा बिल्कुलै फरक हुन्छ। यो नै मुख्य पक्ष हो।
टेलिकमले फोरजी अहिले १८ सय मेघाहर्ज ब्यान्डमा चलाइरहेको छ। तर त्यसका लागि एटेन्टा, रेडियो उपकरण र कोर स्विचिङ सिस्टम भने बदलिइरहेको छ। फोरजीमा प्रयोग हुने स्विचिङ उपकरण अन्य प्रविधिको भन्दा फरक हुन्छ। यही फोरजी विस्तारका लागि भन्दै टेलिकमले पूर्वाधार अन्तर्गत टावर, पावर र ट्रान्समिसनको काम गरिरहेको हो। यसको लागत झन्डै ८ अर्ब रुपैयाँ रहेको टेलिकम प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी बताउँछन्।
थ्रीजीबाट फोरजीमा जान टेलिकमले टावरमा साढे ३ अर्ब, पावरमा साढे ३ अर्ब र ट्रान्समिसनमा १ अर्ब रुपैयाँ खर्च गर्दैछ। यसको एकिन लागत भने यो होइन। पूर्वाधार निर्माणमा गरेको खर्च ४० प्रतिशतभन्दा बढी भएको टेकिलमकै प्राविधिक इन्जिनियरहरू बताउँछन्।
‘यसरी विस्तार गरिने पूर्वाधारमा राम्रो उपकरण प्रयोग भए त्यसको आयु ३० वर्षसम्म हुन्छ। यसबाट नै पछि फाइभजी अपग्रेड गर्न सक्छौं,’ जानकार स्रोतले भन्यो, ‘तर, टावरमा जोड्ने उपकरण फोरजीका लागि जोडिएको उपकरणबाट सम्भव हुँदैन।’ जानकार स्रोत अहिले फोरजीको विस्तारसँगै अन्य आवश्यक उपकरण नथपी ५ ठाउँमा फाइभजी सेवाको परीक्षण गर्ने दाबी फोरजीको बदमासी लुकाउन फैलाइएको भ्रम मात्र रहेको दाबी गर्छ।
ठेक्का प्रक्रिया नै गलत
अहिले जुन १९ अर्बको फोरजीको प्रोजेक्टको काम भइरहेको छ यसको ठेक्का प्रक्रियादेखि नै गडबडी सुरु भएको देखिन्छ। अहिले जसरी काम भइरहेको छ यसरी ठेक्का सम्झौता गर्नै नहुने जानकारहरूको तर्क छ। जसरी एकै प्याकेजमा टावर, पावर, ट्रान्समिसन र फोरजीको काम भएको छ यी सबै अलगअलग प्रकृतिका काम हुन्। यसलाई अलगअलग कम्पनीमार्फत् गराउनुपर्ने उनीहरूको तर्क छ। अलग प्रकृतिको कामलाई एउटै डालोमा हालेर टेन्डर गर्नु नै सबैभन्दा ठूलो बदमासी रहेको फोरजी सेवा विस्तारबारे जानकार स्रोतले दाबी गरेको छ। यही आधारमा फोरजी विस्तारको लागत ५० प्रतिशत बढाउने काम भएको दाबी समेत स्रोतको छ।
‘किन एकै प्याकेजमा गर्नुहुन्न भन्नुको अर्थ छ,’ नाम उल्लेख गर्न नचाहने स्रोतले भन्यो, ‘फोरजी विस्तारका लागि ट्रान्समिसन त चाहिन्छ। तर ट्रान्समिसनको विषय फरक हो। ट्रान्समिसन विस्तारको काम यसमा जोड्न हुँदैन र मिल्दैन पनि।’
ती प्राविधिकका अनुसार ट्रान्समिसन भनेको ‘ब्याक बोन’ हो। ब्याक बोन जता बनाए पनि हुन्छ। जस्तो बनाए पनि हुन्छ। त्यही फोरजीसँग जोडर ब्याक बोन बनाउनु पर्छ भन्ने हुँदैन। त्यहीसँग जोडेर ट्रान्समिसनको काम गर्नु नै ठूलो गल्ती हो। अहिले पनि टेलिकमसँग ३/४ वटा ब्याक बोन (ट्रान्समिसन लाइन ) छ नै।
टुजी, थ्रीजी र अर्को टेलिकमले पहिले नै फोरजीलाई चाहिन्छ भनेर बनाएको ट्रान्समिसन लाइनका साथै एडिएसएलको समेत छुट्टै ट्रान्समिसन लाइन छ। एडिएसएललाई अहिले एफटिटिएचमा ट्रान्सफर गर्ने काम सुरु भइसकेको छ।
‘ब्याक बोन’ भनेको कहिले केमा आवश्यकता पर्छ त्यही अनुसार बनाउने हो,’ प्राविधिक स्रोतले भन्यो, ‘जस्तै अहिलेको फोरजीलाई आउने दिनेमा एडभान्स फोरजी चलाउने पर्ने अवस्था हेरेर काम गर्नु पर्ने हुन्छ।’
कतिपय ठाउँमा आज पनि टुजीको मात्रै भ्वाइस पुर्याउनुपर्ने आवश्यकता रहेकाले प्रविधि विस्तार गर्दा त्यसलाई समेत छाड्न सकिँदैन। तर, एकै पटकमा फड्को मारेर फोरजी चलाउँछु भनेर काम गर्नुको साटो आवश्यकताअनुसार प्रविधि विस्तार गर्दै जानु किफायती र दीगो हुने एक पूर्व प्रबन्ध निर्देशकले बताए।
‘आज पनि हामी कहाँ म्यनुअल डायल प्याड भएको मोबाइल सेट प्रयोगकर्ता छन्। सेवा विस्तार गर्दा उनीहरूलाई पनि छाड्न सकिन्न,’ ती पूर्व प्रबन्ध निर्देशकले भने, ‘टेलिकमले सहरी क्षेत्र र काठमाडौंका केही ग्राहकलाई मात्र हेर काम गर्न मिल्दैन। टेलिकमले त समग्र देशभरका ग्राहक हेरेर आफ्नो क्षमता बढाउने हो।’
दिनै नहुने कम्पनीलाई जिम्मा
जसरी अहिले फोरजी विस्तारमा हङकङको सिसिएसआई कम्पनीले काम गरिरहेको छ। त्यसको मुख्य कम्पनी हुवावे नै हो। हुवावे ट्रान्समिसन, पावर र टावरको कामका लागि योग्य कम्पनी नभएको जानकारस्रोतको दावी छ। तर, यहाँ सबै काम मिसाएर एउटै कम्पनीलाई दिइएको छ।
उनले उदाहरण समेत दिएका छन्- जस्तै तपाईंले कुनै एउटा रेष्टुराँमा गएर खाजाको सेट माग्दै हुनुहुन्छ भने तपाईंले त खाजा खानु हुन्छ। पकाउने र दिनेले एकै ठाउँमा राखेर दिन्छ। तर, खाजा सेटमा हुने परिकार बनाउने दक्षता सबै एउटामै नहुन सक्छ। फरकफरक आइटम बनाउने दक्ष कुक आवश्यक हुन्छ। तर, यहाँ सबै एउटै व्यक्तिले पकाएको दाल, भात, तरकारी पिज्जा मःम दिएजस्तै गरी यस्तो ठूलो महत्व बोकेको कामका लागि कम्पनी छनोट गर्ने काम भएको छ। यो नै सबैभन्दा ठूलो बदमासी हो।
यसको अर्को पाटो पनि छ। एउटाका लागि बनाएको ट्रान्समिसन लाइन अर्कोमा प्रयोग गर्न सकिन्छ। तर, अहिले यो ट्रान्समिसन निर्माणको काम फोरजीसँगै गर्नुपर्छ भन्ने थिएन। जस्तै फोरजी सँगसँगै काम गर्ने हो भने अहिले निर्माण भइरहेको मध्यपहाडी राजमार्गमा बनाइरहेको ट्रान्समिसनले पछि फोरजीलाई पनि काम गर्न सक्छ। यस कारण ट्रान्समिसन निर्माणको काम भनेको फरक पाटो हो। यसलाई फोरजी सेवा विस्तारसँग जोडेर बदमासी लुकाउने प्रयास भइरहेको प्राविधिकको तर्क छ।
विगतमा ट्रान्समिसनको विषयमा काम गर्ने अलग्गै निर्देशनालय बनेको थियो। यसले नै आवश्यकताअनुसार ट्रान्समिसन विस्तार गर्दै जाने गरेको थियो। तर, यहाँ एकै पटकमा सबै काम हुवावेले नै गर्ने गरी टेन्डर भएपछि त्यो निर्देशनालय अहिले कामविहीन छ। अहिले जसरी एउटै डालोमा हालेर ट्रान्समिसनको काम भइरहेको छ त्यसैले प्रोजेक्टको लागत बढाएको र ट्रान्समिसन विस्तारमा अर्को दक्ष कम्पनीसमेत आउने बाटो बन्द गराएको ती प्राविधिकको तर्क छ।
नेपाल लाइभले भेटेका प्राविधिकका अनुसार ट्रान्समिसन विस्तारको काम भनेको एकदमै अलग काम हो। यो कामको अरुसँग सरोकार नै रहँदैन। यसमा पनि सबै भन्दा पहिले अप्टिकल फाइबर हुन्छ र त्यसमा डिडब्लुडिएमको उपकरण हुन्छ। त्यसमा एउटा यस्तो एड्भान्स राउटर हुन्छ जुन ब्रान्डेड कम्पनीको ल्याएर राख्न सक्यो भने ३० वर्षका लागि ढुक्कै हुन्छ।
तर, हुवावेजस्तो कम्पनीको राउटर ५ वर्ष पनि नटिक्ने उनको तर्क छ।
‘हामीसँग यसका प्रशस्तै उदाहरण पनि छन्,’ ती प्राविधिकले भने, ‘बनाउन त हुवावे र जेडटिईले बनाउँछन्। तर, दिगोपन र गुणस्तरीयता एकदम कम हुन्छ।’
जेटिई र हुवावे कसरी जोडिए?
टेलिकमको टेन्डरमा जेडटिईले सिधै ग्लोबल टेन्डरमा सहभागी जनाएको थियो भने हुवावे सिसिएसआई हङकङमार्फत् टेन्डरमा सहभागी भएको थियो। यी दुई कम्पनीबीच प्रतिस्पर्धा भयो। कोर नेटवर्क (स्विचिङ) सप्लाई गर्ने कामको जिम्मा जेडटिईले पायो। यो पनि हुवावेसँग 'नेक टु नेट' प्रतिस्पर्धा गर्ने कम्पनी हो। योबाहेक आउट साइट (नेटवर्क) बाहिरको कामको ठेक्का हुवावेको प्रतिनिधि कम्पनीले पायो।
हुवावे मुख्य कम्पनी रहेको सिसिएसआइले रेडियो उपकरण, एन्टेना, टावर, पावर र ट्रान्समिसनको काम पायो। सिसिएसआइको प्रमाण पत्र माग्ने हो भने हङकङले सबै हुवावेके प्रमाणपत्र दिन्छ।
यो टेन्डरका बेलामा युरोप-अमेरिकाका विश्वप्रसिद्ध तीन कम्पनीले १५ दिनको थप समय मागेका थिए। तर एक दिन पनि समय थपिएन र ४५ दिनमै टेन्डर खुल्यो। समय नथप्नुको कारण हुवावेलाई नै काम दिनेबाहेक अर्को नियत देखिन्न। यही ठुलो बदमासी भयो।
यसरी आयो फोरजी विस्तारको परिकल्पना
पूर्व प्रबन्ध निर्देशक बुद्धिप्रसाद आर्चायको कार्यकाल २०७३ भदौमा सकिँदै थियो। उनले फोरजी विस्तारको टेन्डर डकुमेन्टका लागि कामिनीराज भण्डारीको नेतृत्वमा ९ सदस्यीय कमिटी बनाएका थिए। फोरजीका लागि उनले टेन्डर डकुमेन्ट २ महिनामा बनाएर बुझाउन निर्देशन दिएका थिए।
जानकार स्रोतका अनुसार त्योसँगै उनले कमिटीलाई २ वटा सर्त राख्न निर्देशन दिएका थिए। उनले सर्तका विषयमा सार्वजनिक खरिद अनुगमन कार्यालय, अख्तियार, संसदीय समिति र मन्त्रालयबाट आउने विषयमा प्रबन्ध निर्देशकको हैसियता मिलाउने वचन दिएको तत्कालीन समितिका एक सदस्यले जानकारी दिए। तर, उनीहरुले काम गरेनन्। आर्चायको कार्यकाल सकिन लागेको भन्दै उनले लगाएको काम आलटालमै बिताए।
के थियो २ सर्त
आर्चायले भण्डारीको नेतृत्वमा बनाएको ९ सदस्यीय समितिलाई नेपाल टेलिकमको नेटवर्कमा ५० प्रतिशतभन्दा बढी हिस्सा रहने गरी पहिलेदेखि नै काम गरिरहेको कम्पनीले भाग लिन नपाउने सर्त राख्न भनेका थिए। दोस्रो सर्त थियो टेलिकममा यहाँभन्दा अगाडि कसैले नेटकर्व सिस्टम सप्लाई गरेको छ र उसले आजसम्म त्यो काम नसकेको भए त्यसले टेन्डरमा सहभागी हुन नपाउने।
दुवै सर्तको कारण हुवावेलाई टेन्डर प्रक्रियामा सहभागी हुनबाट रोक्नु थियो। कारण हुवावेले नेपाल टेलिमको अधिकांश कामको ठेक्का लिएर लापरबाही गरेको थियो। यसको उदाहरण हो सिडिएमए विस्तार। २०१२ मा शुरु गरेर २०१५ सम्ममा सक्काउनुपर्ने काम उसले अहिलेसम्म सकेको छैन। यसबारे नेपाललाइभले अर्को श्रृंखलामा विस्तृत खुलाउनेछ।
आचार्यले दिएको निर्देशन समितिमा रहेकै कुनै सदस्यले हुवावेका प्रतिनिधिसम्म पूर्याए। आफूलाई रोक्ने तयारी गरिरहेको सूचना पाएपछि हुवावेले आफ्नो अर्को कम्पनी खडा गर्यो। जुन सिसिएसआई थियो। हुवावेले जे तयारी गरेको थियो त्यही भयो। उसले आफ्नो नाममा ठेक्कामा सहभागी भएन। सिसिएसआईको नाममा ठेक्कामा सहभागी भयो र काम पनि पायो।
फाइभजीको भ्रम
टेलिकमका प्रबन्ध निर्देशक अधिकारी अहिले फोरजी विस्तारका लागि भएको कामबाटै फाइभजी विस्तार गर्ने दाबी गरिरहेका छन्। टेलिकमको प्रविधिबारे जानकार स्रोतका अनुसार यो हावादारी दाबी मात्र हो। फोरजी विस्तारका क्रममा जडान हुने उपकरणकै आधारमा फाइभजी विस्तार सम्भव नै छैन।
किन त?
प्राविधिकहरूका अनुसार जस्तै टुजीका लागि टेलिकमले ९ सय मेघाहर्जको ब्यान्डबाट काम गरिरहेको छ। त्यसको लागि रेडियो उपकरण अलग नै चाहिन्छ। एक्सेस नेटर्वक पनि अगल नै चाहिन्छ। यसका प्रयोग गरिएको रेडियो उपकरण र एन्टेना सबै फरक हुन्छ।
टुजीपछि टेलिकम थ्रीजीमा जाँदा पनि यी सबै उपकरण बदलिएको थियो। थ्रीजीबाट फोरजीमा जाँदा पनि यी उपकरण बदलिएको छ। थ्रीजी २१ सय मेघाहर्ज ब्यान्डमा विस्तार भएको थियो। फोरजी १८ सय मेघाहर्ज ब्यान्डबाट पिकअप भएको छ। फोरजीलाई आवश्यक परे अझै २३ सय, २६ सय मेघाहर्ज टेलिकमसँग छ। २३ सय भए पनि टेलिकमले त्यसको प्रयोग गर्न सकेको छैन।
टेलिकमसँग अर्को ८ सय मेघाहर्ज छ। जुन पुरानो सिडिएमएले प्रयोग गरिरहेको छ। त्यो पनि फोरजीमा ट्रान्सफर हुन सक्छ।
अब रह्यो फाइभजीको विषय। यो आजका दिनमा सबै देशले परीक्षण गरिरहेका छन्। कसैले ३६ सय मेघाहर्ज ब्यान्डमा परीक्षण गरिरहेका छन् त कसैले ३४ सय ब्यान्डमा परीक्षण गरिरहेका छन्। भारतमै आजका दिनसम्म फाइभजी कुन फ्रिक्वेन्सीबाट शुरु गर्न सकिन्छ भन्ने निर्क्योल गर्न सकेको छैन।
नेपालमा फाइभजी कुन ब्यान्डमा चल्छ भन्ने अहिलेसम्म थाहै छैन। ८ सय, १८ सय, २१ सय र २३ सय मेघाहर्ज ब्यान्डमा फाइभजी चल्दैन भन्ने एकिन भइसकेको छ। यसको अर्थ हामीसँग आजका दिनमा फाइभजीका लागि अलर्ट भएका कुनै पनि ब्यान्ड छैन। अब नयाँ ब्यान्ड आउनु भनेको हरेक विषयमा प्रविधिक पुर्नस्थापित हुनु हो। यसका लागि कोर सिस्टमदेखि सबै प्रविधि परिर्वतन गर्नुपर्छ।
‘प्रविधि सबैको आ–आफ्नो हुन्छ। फाइभजी भनेको नयाँ क्रान्ति हो। फाइभीजी फोरजीकै सबै कुरामा चल्ले हो भने त्यसलाई किन फाइभजी भन्ने,’ जानकार प्राविधिकले प्रश्न उठाए ‘फोरजीमा बनाएको प्रविधिले एडभान्स फोरजी (एलटिई)मा समेत काम हुन सकेको छैन। एडभान्स एलटिई भनेर चलाउन सक्ने अवस्था छैन। यसको उदाहरण हामी माझै हुँदाहुँदै फोरजीकै प्रविधिले फाइभजी चलाउँछु भन्नु गफ मात्रै हो ।’
छिमेकी मुलुक भारतकै उदाहरण हेरौं। भारतमा टेलिकम कम्पनी जिओले शतप्रतिशत नोकियाको सिस्टम राखेर फोरजी विस्तार गरेको छ। तर, उसले फोरजीको एडभान्स एलटिई चलाउन सकेको छैन। भ्वाइस सबैले चलाइरहेका छन्। तर, फोरजीभन्दा अझै राम्रो एडभान्स एलटी चलाउन सकेका छैनन्।
जसरी हामीले टुजीभन्दा २.५ जी (एडभान्स टुजी) भनेका थियौं त्यो पनि त्यस्तै हो। एडभान्स फोरजी (४.५ जी) कभर गर्न नसक्ने प्रविधिले फाइभजीलाई कभर गर्दैन। यो प्राविधिक रूपमा प्रमाणित भएको विषय हो।
टुजीमा चलाएको ट्रान्समिसन नेटर्वक पनि अप्टिकल फाइबर बिच्छ्याएर टावरसम्म लगेको छ भने त्यसबाट फाइभजी चलाउन सकिन्छ। तर, त्यसको क्षमता कति छ भन्ने विषय मुख्य पक्ष हो।
टुजीमा जिपीआरएस, थ्रीजीमा 'एचप्लस' चलाउन पर्ने भयो। फोरजीमा एडभान्स एचप्ल चलाउनु पर्ने अवस्था आइसक्यो। अब फाइभजीमा त एचप्लस भने नामनै रहँदैन। फाइजी भनेको नै फाइभजी भनेर आउने हो। उच्च गतिको इन्टरनेट चलाउने पर्ने भएपछि अहिले भइरहेको नेटवर्कले धान्दैन। तर, अहिले टेलिकम अधिकारीले यो ट्रान्समिसनबाट काम चल्छ भन्ने दाबी गरिरहेका छन्। जानकार स्रोत यसलाई हावादारी गफ मात्र भएको बताउँछ।
अहिलेकै प्रविधिमा फाइभजी चलायो भने के हुन्छ त?
‘यही ट्रान्समिसनमा त्यही अप्टिकल फाइबर लगेर बिटिएस टावरबाट फाइभजी चलाएको अवस्थामा फाइभजीको नाम पनि अहिले जसरी फोरजी भनेर थ्रीजीको सेवाजस्तो भइरहेको छ, फाइभजीको गुणस्तर पनि फोरजी केही भन्दा केही फरक हुँँदैन,’ ती प्राविधिकले भने, ‘सामान्य ट्रान्समिसनको हिसाबले मात्रै हेर्ने हो भने अहिले फोरजीका लागि बनाइएको ट्रान्समिसन फाइभजीका लागि चाहिने क्षमताकै हुँदैन। त्यसैले झुक्याउन मात्र चलाए हो। स्तरीय सेवा दिने उदेश्य हो भने अहिलेको प्राविधिमा फाइभजी सम्भवै छैन।’
उनले किन गुणस्तरीय हुन्न भन्ने उदाहरण पनि दिए।
जसरी हाइवे ८ लेनको बनाइयो, तर पुल ४ लेनको मात्रै भयो भने त्यो पुलमा सधैं जाम हुन्छ। जस्तो कोटेश्वर-माइतीघर सडकमा रहेको सडक र तीनकुनेको पुलमा भइरहेको जाम। अहिले फोरजीको संयन्त्रमै फाइभजी प्रविधि ल्याए त्यस्तै हुन्छ।
पावरको भ्रम
टेलिकमले पावरको विषयमा अहिले ब्याट्री चार्जिङ सिस्टमबाट काम गरिरहेको छ। ब्याट्रीको आयु दुई वर्षको मात्र हुन्छ। दुई वर्ष पछाडि अहिले विस्तार गरिरहेको फोरजीमा प्रयोग भएको ब्याट्री नै परिर्वतन गर्नु पर्छ भने फाइभजीलाई त धान्ने कुरै भएन।
टेलिकमले अहिले प्रयोग गरिरहेको ब्याट्रीको ग्यारेन्टी पाँच वर्षको रहेको दाबी गरिरहेको छ। त्यसको एकिन छैन। दुई वर्षपछि त हुवावेले फेरिदेला तर पाँच वर्षपछि हुवावेले नै बदल्न सम्भव छैन।
हुवावेले टेन्डरमै ब्याट्रीको हकमा विभिन्न सर्त राखेको छ। जसमा यस्तो भएमा, यस्तो समस्या देखिएमा ब्याट्री परिर्वतन नहुने सर्त अवश्य छ। तर, ब्याट्री बिग्रिएर बसिरहेको हुन्छ। हुवावेको कार्यशैलीबारे जानकारका अनुसार उसले सकेसम्म ब्याट्री बदल्नै खोज्दैन।
बाध्यतामा परेर बदल्न राजी भयो भने पनि लामो समय लगाइदिने उसको कार्यशैलीबारे टेलिकमका अधिकारीहरु जानकारै छन्। जसरी अहिले टेलिकमले पावरका लागि भन्दै झन्डै ३ अर्ब रुपैयाँ खर्चिदै छ त्यो ठूलो रकम हो।
टावर
टावरका लागि छुट्याएको रकम भने केही चित्तबुझ्दो रहेको प्राविधिकहरुको मत छ। टावर बनाएपछि जुन सुकै प्रविधिको काम गर्न पनि काम लाग्छ। फेर्ने भनेको त्यहाँको रेडियो उपरकण र एन्टेना मात्र हो। आज पनि टुजीको टावरमा फोरजीको उपकरण राखेर चलाइएको छ। टावर सबैका लागि काम लाग्ने विषय हो। तर,पावरमा भएको रकम बढी नै रहेको ती प्राविधिकको तर्क छ।
हुवावेको कम्पनी सिसिएसआई र जेडटिई दुवै पावर र टावरको उपकरण इक्विपमेन्ट सप्लाई गर्ने कम्पनी हैनन्। योसँगै ट्रान्समिसनका लागि चाहिने उपकरण सिसिएसआई र जेडटिई दुवैले बनाउँदैनन्। यिनीहरूले तेस्रो पक्षसँग किनेर जडान गर्ने हुन्।
‘तेस्रो पक्षबाट किनेर ल्याउने सामान सस्तो छ भन्नु नै हावादारी तर्क हो,’ ती प्राविधिकले भने, ‘उदाहरणका लागि कालिमाटीमा बिक्री हुने सामानको मूल्य चितवनको मूल्यमा पाइन्छ र? कालीमाटीमा आउँदा मार्जिन राखिएको हुन्छ। अनि मात्रै खरिद गरेर बिक्री गर्ने हो। अनि टेलिकमले हुवावेसँग सामान खरिद गर्दै गर्दा सस्तोमा पाइरहेका छौं भनेर कसरी पत्याउने?’
ती प्राविधिकका अनुसार पावर, टावर र ट्रान्समिसनको खरिदमा अर्का दलाल प्रयोग भएकाले नै आयोजनाको लागत यी तीनै वटा शीर्षकमा बढी भएको हो।
फोरजीको मुख्य काम
टावर, पावर र ट्रान्समिसनबाहेक झन्डै ११ अर्बभन्दा बढी रकम फोरजीका लागि राखिएको छ। जसमा रेडियो उपकरण र एन्टेनाको लागत सबैभन्दा बढी छ। यो नै सबैभन्दा प्रमुख र ठूलो काम हो। यसमा बढी लागत हुनुको कारण सम्झौता समयमै अमेरिकी उपकरण हुनेपर्ने उल्लेख हुनु हो।
तर, ठेक्का प्रकृया सकिएपछि यही महंगो उपकरण खरिद छल्न सम्झौता बाहिर गएर अमेरिकी उपकरणको साटो चीनिया उपकरण जडान गर्न स्वीकृत दिइएको हो। टेलिकमले सम्झौतामा मेक्सिको (अमेरिकी उत्पादन)बाट सामान सप्लाई गर्छु भनेर भनेको छ। उदाहरणका लागि उक्त एउटा एन्टेनाको ३ सय डलर राख्यो। तर, अमेरिकाबाट ३ सय डलरमा ल्याउनु पर्ने सामान चाइनाबाट ल्याउन स्विकृति पाए ५० डलर त ढुवानीमा कम हुन्छ। जस्तै ३ सय डलरको सामानलाई पनि ब्रेक डाउन गर्दा उत्पादन लागत २ सय डलर र ढुवानी १ सय डलर हो। तर चाइनाबाट ल्याउँदा लागतमै सय डलरभन्दा बढी सस्तो पर्छ।
सम्झौताअनुसार नै ऐन्टना र रेडियो उपकरणका सामान किन्ने हो भने यसको लागत ५ देखि ६ अर्ब लाग्छ। तर, सम्झौता भन्दा बाहिरको सामान जडानगर्दा आधा भन्दा बढी पैसा जोगिन्छ। हिनामिना हुने यसरी नै हो। यो विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगिसकेको छ।
‘यो रकम पनि फोरजीमा भोल्ट (भ्वाइस) पनि चलाउने भएको कारण बढी भएको हुन सक्छ,’ एक प्राविधिकले भने‘ यो काममा लागि सबै टावरमा एन्टेना र रेडियो उपकरण परिर्वतन पूर्ण रुपमा गरिसक्नु पर्छ। भोल्टे सेवा यस्तो सेवा हो जुन बेलासम्म सबै टावरमा एन्टेना र रेडियो उपकरण जडान हुँदैन तबसम्म चल्दैन।’
ती प्राविधिकका अनुसार यही कारण अहिले जारी फोरजी विस्तारको काम नेपालको इतिहासमा सबैभन्दा ठूलो असफल प्रोजेक्ट हुने जोमिख उत्तिकै छ। अहिले जडान भइरहेको प्राविधिको गुणस्तरकै आधारमासत प्रतिशत भ्वाइस ओभर एलटी चलाउनै नसकिने उनको दाबी छ। पावर, टावर र ट्रान्समिसलाई एक पाटो र फोरजीलाई अर्को पाटोमा हुने गरी टेन्डर गरेको भए यो प्रोजेक्ट ४० देखि ५० प्रतिशत सस्तोमा हुने ती प्राविधिको दाबी छ।
तीन अर्बको योजना गुपचुप
२०७३ मा हुवावेले नेपाल टेलिकममा पेश गरेको प्रस्तावमा फोरजी विस्तार भएको भए तीन अर्बमै काम सकिन्थ्यो। फोरजी विस्तारमै हुवावेसँगै काम गर्ने सकिने थियो। त्यसको लागि आवश्यक परेको अवस्थामा मन्त्रिपरिषदमै प्रस्ताव लगेर स्वीकृत गर्ने योजना तय भएको थियो। त्यसबेलाको योजना भने, भइरहेकै नेटर्वकबाट ३ अर्ब रुपैयाँमै देशभर फोरजी विस्तार गर्ने थियो। यो प्रस्ताव २०७३ सालमा प्रबन्ध निर्देशक रहेका बुद्धिप्रसाद आर्चायले बोर्डमा लगेका थिए। बोर्डले सैद्धान्तिक सहमति पनि दिएको थियो ।
तर सो प्रस्ताव टेलिकमका तत्कालिन पदाधिकारीले तुहाइदिए।
हुवावेको पहिलो प्रस्ताव मानेको भए टावर, पावर र ट्रान्समिसनका लागि भने टेलिकमले बेग्लै प्रक्रियाबाट काम गर्नुपर्ने हुन्थ्यो। हुवावेको सोही प्रस्ताव अनुसार काम शुरु गरेको भए भोल्टे (भ्वाइस सेवा) भने चल्दैनथ्यो। आज यसकै नाममा टेलिकम पदाधिकारीले लागत बढाएर १९ अर्ब पुर्याए।
अहिले फोरजीको विस्तारको काममा लागि स्वीकृत गरिएको प्रस्तावमा सिसिएसआई र जेडटिइसँगै हुवावेले पनि ३ अर्ब रुपैयाँमा देशभर नै फोरजी विस्तार गर्ने प्रस्ताव हालेको थियो। हुवावेले भनेको थियो, ‘म ३ अर्ब रुपैयाँमा देशभर नै फोरजी विस्तार गरिदिन्छु।' तर सो प्रस्ताव अगाडि नै बढाइएन।
यो प्रस्ताव अनुसार काम गर्दा पनि अहिले टावर, पावर र ट्रान्समिसनमा खर्च गरेको ८ अर्ब रुपैयाँ र ३ अर्ब जोड्दा हुने ११ अर्बमै फोरजी विस्तारको काम सकिन्थ्यो। तर, यहाँ फोरजीमा पनि एडभान्स फोरजी (एलटी) र फाइभजी समेत चलाउने सकिने गरी पूर्वाधार बनाउने भन्दै ११ अर्बमा सकिने काम १९ अर्ब पुर्याइयो।
अझै अर्को रमाइलो पक्ष पनि रहेछ। फोरजी सेवा शुरु भए पनि यो आजको दिनसम्म भ्वाइस ओभर(भोल्टे)मा सफल भएको छैन। यो सफल नुहुने बित्तिकै अब मोबाइलमा चलाउने डाटा मात्रै हो। आजको दिनमा फोरजीमा डाटा मात्रै चलाएर अहिलेको लागत फाइभजीका लागि बचत गर्न सक्नु पर्थ्यो। तर त्यस्तो भएन।
१९ अर्ब लागतबाट टेलिकम कति फाइदामा?
टेलिकमले १९ अर्ब लगानी गरेर विस्तार गरेको फोरजीबाट आउने दिनमा आम्दानी कति बढाउनसक्छ? आजको दिन टेलिकमको मोबाइल सेवाबाट ३० अर्ब रुपैयाँ रेभिन्यू जेनेरेट भइरहेको छ। यो फोरजी नआउँदैकै कमाई हो। अब फोरजी आइसकेपछि त्यसमा लगानी गरेको रकमको थप रेभ्युन्यू कति हो?
फोरजी विस्तार सुरु भएको १ वर्ष भन्दा बढी भइसकेको छ। अहिले १ वर्षमा ८ अर्ब खर्च भइसकेको छ भने यसबाट कति आम्दानी भयो? त्यो टेलिकमले सार्वजनिक गर्नु पर्ने पक्ष हो। उसले यो ठाउमा फोरजी सुरु भयो, यति ग्राहक भयो त भनिरहेको छ। तर, आम्दानी सार्वजनिक गरेको छैन। यसबाट नै अहिले विस्तार भइरहेको फोरजी सेवा टेलिकमको आम्दानीको पक्षमा नरहेको देखिन्छ नै।
फोरजी र फाइभजीको विषयमा वायरमा छापिएको यो समाचारले पनि फोरजीकै प्रविधिको आधारमा फाइभजी सम्भव छैन भन्ने देखाउँछ।
वायर लेख्छ- फाइभजी नेटवर्कका लागि फाइभजी टावर नै चाहिन्छ
शायद तपाईंले फाइभजीका विषयमा सुन्नुभएकै होला‚ जुन अहिलेको सबैभन्दा नयाँ मोबाइल नेटवर्क टेक्नोलोजी हो। जसले फोरजीलाई रिप्लेस गरेको छ। यो नेक्स्ट जेनेरेसनको इन्टरनेट प्रवाह गर्ने उपकरण मध्येकै एक हो।
तर यसले कसरी काम गर्छ? के यस्तो किसिमको नयाँ प्रविधिले सेल फोनको रेडियसनको कन्भरसनलाई परिवर्तन गर्न सक्छ। यो सेल टावर फाइभजी नेटवर्कको आधारभूत पार्ट हो। अरु नेटवर्क इन्फास्ट्रक्चरजस्तो‚ जानकारी प्रसारित गर्नका लागि केही उपकरणहरूको आवश्यकता त हुन्छ नै। त्यसैले ५जी नेटवर्कका लागि फाइभजी टावर नै चाहिन्छ।
फाइभजी टावर फोरजी टावरभन्दा भौतिक रूपमा मात्र नभएर काम गर्ने प्रकृतिमा पनि फरक हुन्छ। फाइभजीमा स्पेस कभर गर्नका लागि अझ अरु उपकरण पनि आवश्यकता हुन सक्छ। तिनीहररु धेरै नै सुक्ष्म हुन्छन् र यिनीहरूले रेडियो स्पेक्ट्रमको फरक भागमा डेटा ट्रान्समिट गर्छन्।
फाइभजी स्मल सेल भनेको के हो?
फाइभजीको स्मल सेल भनेको एउटा आधार क्षेत्र हो‚ जसले सबै सम्बन्धित नेटवर्कसँग अहम् भूमिका खेल्छ। तिनीहरूलाई नै स्मल सेल भनिन्छ‚ जो म्याक्रो-सेलको ठीक विपरीत हुन्छ‚ जुन फोरजी नेटवर्कमा प्रयोग गरिन्छ किनकि तिनीहरूको साइज फाइभजीको तुलनामा सानो हुन्छ।
फाइभजी टावरलाई धेरै पावर नचाहिने भएकाले तिनीहरू तुलनात्मक रुपमा केही सानो बनाइएका हुन्छन्। यसले एस्थेटिकका लागि मात्र होइन, स्पेस एफिसिएन्सीमा पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ। साना सेलहरूले हाइ फ्रिक्वेन्सी मिलिमिटर वेभ्सलाई पनि सपोर्ट गर्छन्‚ जोसँग सिमीत रेन्ज हुन्छ।
फाइभजी सेल टावरको सामान्यतया सानो बक्स हुन्छ‚ माथिको चित्रमा पनि देख्न सकिन्छ। कुनै कुनै कम्पनीहरूले एन्टेनाहरूलाई म्यानहोलभित्र पुर्दा त्यसले स्ट्रिटको माध्यमबाट मोबाइलको नेटवर्कलाई बढाउँछ।
साना सेलहरू कमजोर हुँदैनन्। यी सेलभित्र प्रयोग गरिएका प्रविधीले गर्दा फाइभजीलाई अझ तीव्र र छिटो बनाउँछ। डेटा ट्रान्समिटका लागि साना उपकरणभित्रका रेडियो इक्वीपमेन्ट प्रयोग गरिएका हुन्छन्। साना सेलहरूको एन्टिना विशेष किसिमले डाइरेक्सनल हुन्छन्।
यस्ता उपकरणहरूले तुरुन्तै शक्तिको प्रयोगलाई एडजस्ट गर्छ। यसको मतलब वाइरलेस प्रयोग नभएको बेला यसले कम शक्ति खपत गर्छ र धेरै पावर चाहिएको बेला फेरि रिएड्जस्ट गरहाल्छ।
फाइभजी स्मल सेलहरू डिजाइनमा सामान्य र केही घण्टाको अन्तरालमै इन्स्टल गर्न मिल्ने किसिमका हुन्छन्। यो फोरजी टावरभन्दा धेरै नै फरक छ‚ जसबाट इन्स्टल गर्दा धेरै नै समय लाग्ने गर्थ्यो। सम्प्रेषण गर्ने प्रविधीले फाइवरको कनेक्सन वा वाइरलेस माइक्रोवेभको विकल्प रोज्ने गर्छन्।
फाइभजी लोकेसन
तीव्र गतिमा जानकारी सम्प्रेषण गर्ने र स्मार्टवाच‚ भेइकल‚ हाउजेज र फार्मजस्ता अन्य कुराका लागि प्रयोगमा आउने कुरामा फाइभजी कम्पनीले वाचा गरेको छ।
यसलाई पूरा गर्नका लागि र राम्रोसँग सञ्चालन गर्नका लागि फाइभजीका धेरै नै टावरहरूको आवश्यकता हुन्छ। ठूला सहरी क्षेत्रमा‚ व्यापारिक क्षेत्रमा र जनघनत्व धेरै भएका ठाउँमा विशेषगरी धेरै टावरहरुको आवश्यकता हुन्छ।
भाग्यवश‚ फाइभजीका टावरहरु साना हुने भएकाले बिजुलीका पोल‚ ठूला भवनहरूमा पनि यसलाई जडान गर्न सकिने किसिमका हुन्छन्। यस्ता किसिमका टावर आधुनिक किसिमका हुन्छन्। फास्ट पावर स्पीडका लागि स्मल सेललाई सपोर्ट गर्नका लागि व्यस्त क्षेत्रमा बारम्बार फाइभजी टावर इन्स्टल भइरहने गर्छन्। फाइभजीसँग होम ब्रोडब्यान्डलाई रिप्लेस गर्न वरिपरी फाइभजी सेल टावर हुनुपर्छ।
२०२० मा विश्वसामु आएको यो फाइभजीले हरेक टावरहरू कहाँ राख्ने भन्नेबारे भने प्रष्टसँग भनेको समेत छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।