काठमाडौं- अनिल गुरुङका लागि घरेलु मैदान विरानो बनिदिएको छ। ए डिभिजन लिगको माहोल, पत्रकारका प्रश्न विरानो जस्तो भएको छ। पहिले जस्तै अनिल...अनिल को आवाज त सुनिन्छ, तर क्षीतिजबाट आएजस्तो मधुरो।
अनिल परिचय दिएर चिनाउनुपर्ने खेलाडी होइनन्। एक समयका फुटबल ‘स्टार’ अनिल राष्ट्रिय टिमबाट सन्यास लिएपछि अग्रभागबाट हराएका छन्। अहिले भने मैदानमा नै भएर पनि हराए-हराए जस्तो। हुन पनि अनिल भनेर दर्शकले खोज्ने गोल जो छैन।
यसपटक सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बिग्रेड ब्वाइज क्लबको कप्तानका रुपमा खेलेका अनिल गोलविहीन भए। गोल नदेखेकैले दर्शक भनिरहेका छन्- अनिलको प्रदर्शन खराब रह्यो।
२०७० अघिका लिगहरुमा अनिल सदाबहार खेलाडी हुन्। त्यसपछि दुई पटक मात्रै लिग भएको छ। दुबै लिगमा अनिलको प्रदर्शन फिक्का नै रह्यो। विशेषगरी अहिलेको लिगमा।
अहिले अनिल उही अनिल जस्तो देखिएनन्। गोल मात्र होइन बल छकाउनेदेखि हरेक कुरामा उनको खेल पहिलेको जस्तो छैन। खेल सधैँ उस्तै रहँदैन पनि। एक समयको उचाइ सधैँको उचाइ पनि रहँदैन। तर पनि अनिलसँगको अपेक्षा सकिएको भने छैन।
३२ वर्षीय अनिल अहिले लिग खेल्ने ‘लेजेन्ड’ खेलाडीमध्ये एक हुन्। सन् २००४ मा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) बाट लिग खेल्न थालेका अनिल पुरानै क्लबबाट खेल्न पाउँदा निकै खुसी छन्। ‘बिबिसी मेरो पुरानो क्लब हो। म १५ वर्षपछि आफ्नो क्लबमा फर्किएको छु। जतिबेला मैले व्यवसायिक लिग सुरु गरेँ त्यो बेला १५/१६ वर्षको थिएँ।’
अनिलको गोलको खडेरी
अनिल बाहिर बोल्दा खुसी भएको प्रत्याभूति दिलाउने प्रयास गर्छन्। तर अनिलको भित्री मन के भन्छ? के साच्चै उनी खुसी छन्? पटक्कै छैनन्। फुटबलमा गोलरक्षकले बल रोकेनन् भने, डिफेन्डरले स्ट्राइकरलाई छेकेनन् भने, अनि फरवार्डले गोल गरेनन् भने दुःख लागि नै हाल्छ।
एउटा लेजेन्ड खेलाडीमा बढ्दो उमेरसँगै प्रदर्शन खस्किनु स्वभाविक होला तर यो कुरा अनिलको मनले कति मान्दो हो?
‘जुनियर भाइहरु धेरै भएको कारण पनि हामीलाई निकै गाह्रो भइरहेको छ। स्कोर लाइनमा निकै थोरै मात्र मौका पाइरहेको छु। गोल गर्न पनि मैले निकै मेहेनत गर्नु पर्छ। म मैदानमा तल–माथि भएर खेल्नु परिरहेको छ’, तपाईंमा गोलको खडेरी लागेको हो? भन्ने प्रश्नको जवाफ दिँदै अनिल भन्छन्।
त्यसो त अनिलले लिगमा गोल गर्ने अवसर नपाएको होइन। न्यु रोड टिम (एनआरटी) विरुद्ध अनिलले पेनाल्टीमा पनि गोल गर्न सकेनन्। बिबिसीले पेनाल्टी पायो। खेलको ६१औं मिनेटमा पाएको पेनाल्टीबाट गोल गर्दै बिबिसीलाई २–१ गोलको स्थितिमा ल्याउने राम्रो अवसर थियो। तर अनिल चुके। उनले प्रहार गरेको बल एनआरटीका गोलकिपर अजित प्रजापतिले रोके।
अनिल भन्छन्, ‘एनआरटीविरुद्ध खेलमा पेनाल्टी मिस भयो। हुन त मैले गोल गर्छु भनेर हानेको। मैले गोल हानेर जित्नु पर्छ भन्ने पनि छैन। मैले भन्दा पनि मेरो टिमले जितोस् भन्ने नै हो।’
यो लिगमा मात्रै हैन यसअघि २०७५ सालमा भएको लिगमा पनि उनी गोलविहीन नै बनेका थिए। करिब १३ वर्षपछि थ्रीस्टारमा फर्किएका अनिलले गत संस्करण मैदानमा भन्दा पनि बेन्चमै धेरै समय बिताए। उनी लयमा पनि थिएनन्। मनाङ मस्र्याङ्दी क्लबका पदाधिकारीसँगको बेमेलका कारण उनी थ्रीस्टार पुगेका थिए।
अनिल सुनाउँछन्, ‘थ्रीस्टारमा पनि म धेरै समय बेञ्चमै बसेँ। त्यति फिल आएन। तर अहिले म पूर्णरुपमा फिट छु। क्लबलाई केही योगदान दिइरहेको छु जस्तो लाग्छ।’
अनिलको सम्झनामा
सहिद स्मारक ‘ए’ डिभिजन लिग कुनै बेला यति धेरै लोकप्रिय थियो कि रंगशालामा दर्शकको घुँइचो हुन्थ्यो। तर पछिल्लो दुई संस्करणको लिग सबैको लागि फिक्का बन्यो। खेलाडीको लागि पनि यस्तै बन्यो। लाग्छ चियामा चिनीको साटो नुन हालियो।
लामो समय लिग खेलेका अनिलको नजरमा भने यो पटकको लिग कस्तो बन्यो? अथवा अहिलेको भन्दा पहिलेका लिगमा के थियो फरक?
‘पहिलेको जस्तो लिगको चार्म छैन। पहिले ‘राइबल’ टिम हुँदा रंगशाला नै भरिएको उदाहारणहरु पनि छन्। अहिले लिगले दर्शकलाई तान्न सकेन,’ कप्तान अनिल थप्छन्, ‘अर्को वर्षदेखि लिगलाई अझै परिष्कृत गर्दै लानु पर्छ। राम्रो गर्नु पर्छ। व्यवसायिक दृष्टिकोणले पनि लिगलाई थप मजबुत बनाउनु पर्छ। तर अहिले त्यस्तो भइरहेको छैन। एन्फाले डबल लिग गरिदियो भने खेलाडीलाई धेरै फाइदा हुने थियो।’
विदेशी खेलाडीको कमजोर खेल
अनिल बिबिसीबाट लिग खेल्ने भएपछि टिमले एक प्रकारको उर्जा पायो। अझ भन्ने हो भने अनुभवि खेलाडीको साथ।
तर बिबिसीले ल्याएका विदेशी खेलाडी नेपाली खेलाडीले जतिको पनि खेल्न सकेनन्। जसले गर्दा बिबिसीलाई प्रत्यक्ष रुपमा घाटा पुग्यो। बिबिसीका जुनियर खेलाडीले जत्तिको पनि खेल्न नसकेपछि अधिकांश समय विदेशी खेलाडी बिबिसीको बेन्चमै बसे।
कप्तान अनिलले भने, ‘हामीसँग धेरै जुनियर खेलाडी छन्। त्यसमा पनि क्लबले ल्याएका विदेशी खेलाडी त्यति राम्रो पाएनौं। विदेशी खेलाडीलाई हामीले बेञ्चमा राख्नु परिरहेको छ। जब की हाम्रा यु–१८ का भाइहरुले जतिको पनि खेल्न सकिरहेका छैनन्।’
बिबिसीले विदेशी खेलाडीको रुपमा यो पटक डिफेन्डर ताजुदिन एडेकुनल बुसारी र मोहम्मद सौकातलाई ल्याएको थियो भने फरवार्डमा जर्ज भिन्सेन्ट र इस्साक इयर्क ओलाकाजीलाई भित्र्याएका थिए।
तर चारै विदेशी खेलाडी फ्लप बने। अनिल आफै कुनै बेला डिफेन्स लाइनमा देखिन्थे भने कुनै बेला मिडफिल्डमा। आफ्नो भूमिका भन्दा पनि केही तल-माथि गर्दै खेलेका थिए।
लिगमा चार खेलसम्म सेट नहोला। तर ५ खेलपछि सेट हुँदै जान्छ। बिबिसीको भने चार खेलपछि चाहिँ सेट बिग्रियो। अनिल यहि तर्क गर्छन्।
‘महंगो पैसा तिरेर ल्याएको छ। खेलाउन परिहाल्यो। तर उनीहरुको प्रदर्शन राम्रो भएन। उल्टै सेट भएको टिम पनि बिग्रियो’ विदेशी खेलाडी प्रति चिक्त नबुझेका कप्तान अनिल भन्छन्।
उपाधि बारे के भन्छन्?
यो पटकको ए डिभिजन लिगको उपाधि दौड निकै रोचक बनेको छ। उपाधिका लागि १२ टिम बाहिरिँदा आर्मी र मछिन्द्र मध्ये एक टिमको पोल्टामा सहिद स्मारक ‘ए’ डिभिजन लिगको ट्रफि पर्नेछ।
तुलनात्मक रुपले मछिन्द्र भन्दा पनि लिगको उपाधिमा आर्मीलाई सहज छ। आर्मीलाई मछिन्द्रविरुद्धको खेल बराबरीले पनि उपाधिका लागि पुग्ने छ। यता मछिन्द्रले उपाधि पहिलो पटक चुम्न आर्मीलाई हराउनै पर्छ।
समान १२ खेल खेलेको आर्मीको २९ अंक हुँदा मछिन्द्रको २८ अंक छ। तर अन्तिम खेलमा मछिन्द्रलाई विमल घर्तिमगरको आगमनले बलियो बनाएको छ। ९० दिन लामो प्रतिबन्धबाट फर्किएका विमलले मछिन्द्रबाट आर्मीविरुद्ध लिगको अन्तिम खेल खेल्न लागेका हुन्।
यता, अनिल भने यो पटकको लिग आर्मीले जित्ने बलियो सम्भावना रहेको बताउँछन्।
‘यो पटक चाहिँ आर्मीको अवसर निकै छ। हुन त आर्मी सधैं बलियो टिम हो। कहिले पनि नराम्रो टिम थिएन। यसअघि हामीले लिग जित्दा पनि आर्मीका सबै खेलाडी राम्रो हुने गथ्र्यो। तर लिगमा आर्मी सधैं खस्किने गरेको थियो। तर यो पटक भने आर्मी निकै बलियो रुपमा देखा परेको छ। सबैको भन्दा पनि आर्मीको लिग जित्ने सम्भावना बलियो देख्छु।’
लिग एक अनुभव
अनिलले लिग खेल्न थालेको १६ वर्ष भयो। ब्रिगेड ब्वाइज क्लबबाटै लिग थालेका अनिल आफ्नो व्यवसायिक फुटबल यहि क्लबमा बिसाउने लक्ष्यमा छन्।
बिबिसी क्लबमा नाम चलेका र स्टार खेलाडी छैनन्। छन् त केबल अनिल तर उनको पनि प्रदर्शन पहिलेको जस्तो छैन।
अधिकांश यु–१८ टिमका जुनियर खेलाडी लिएर बनाएको टिम हो बिबिसी। बिबिसीले जारी प्रतियोगितामा केही उत्कृष्ट प्रदर्शन गर्यो भने केही निराशाजनक। हारको कारण अनिललाई पनि जान्छ भने जितको श्रेय पनि।
बिबिसीले लिगमा हारबाट सुरुवात गर्यो। अन्त्य पनि हारबाटै। अर्थात खेलको १३ खेलमध्ये २ खेलमा जित र ३ खेलमा बराबरी खेल्दा ८ खेलमा हार्न पुग्यो। लिगको पुछारबाट दोस्रो स्थानमा रहेको बिबिसीले ९ अंक बनाउँदै टुंग्यायो।
बिबिसी प्रवेश गर्दा शीर्ष ६ मा स्थान टिमलाई पुर्याउने लक्ष्य बनाएका कप्तान अनिललाई आफूले पनि पाएको अवसरलाई सदुपयोग गर्न नसकेको स्वीकार गर्छन्।
भन्छन्, ‘निकै ठूलो गल्तीहरु मबाट पनि भयो। हामीले पाएको अवसर निकै गुमाइरह्यौं। पाएको अवसरलाई गोलमा परिणत गर्न सकेको भए, शीर्ष ६ मा पुग्ने थियौं।’
यो त लिगमा भएका गल्ति र अवसरहरु भए। तर अनिललाई चाहिँ लिग खेल्न पाउँदा कस्तो लागि रहेको छ त?
‘रंगशालामा लिग खेल्न पाउँदा एकदमै खुसी छु। रंगशालामा खेल्न कै लागि मैले फुटबललाई निन्तरता दिन सकेँ। यो पटक निकै छोटो लिग भयो जस्तो लाग्यो। दुई महिना लिग भयो बाँकी १० महिना के गर्ने? मोफसलको प्रतियोगिताले १० महिना धान्दैन’, अनिललाई आउने दिनको चिन्ता छ।
कस्तो रह्यो नतिजा?
बिबिसी ०–२ मछिन्द्र
बिबिसी २–० फ्रेन्ड्स
बिबिसी ०–१ मनाङ
बिबिसी १–० हिमालयन शेर्पा
बिबिसी १–३ थ्रीस्टार
बिबिसी ०–० सरस्वती युथ क्लब
बिबिसी ०–० संकटा
बिबिसी ०–१ च्यासल युथ क्लब
बिबिसी ०–२ एनआरटी
बिबिसी ०–१ जावलाखेल युथ क्लब
बिबिसी ०–१ पुलिस
बिबिसी ०–३ आर्मी
बिबिसी १–१ एपिएफ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।