इपियस भाषा परीक्षाको आवेदन शुल्क बढाउन एचआरडी कोरियासँग प्रस्ताव  

नेपाल लाइभ | २०७६ माघ २९ बुधबार | Wednesday, February 12, 2020 १५:४३:०० मा प्रकाशित

सोल (दक्षिण कोरिया)- रोजगार अनुमति प्रणाली (इपियस) कार्यालय, नेपालले कोरियाली भाषा परीक्षाका लागि लिइँदै आएको आवेदन शुल्क बढाउन कोरियाको मानव संसाधन विभाग (एचआरडी) कोरियासँग प्रस्ताव गरेको छ। 

इपियस कार्यालय नेपालले हाल कायम रहेको आवेदन शुल्क २४ डलर कम भएको भन्दै शुल्क बढाउने प्रस्ताव पठाएको एचआरडी कोरियाका प्रवास विभाग प्रमु किम सङ जेलाई उद्धृत गर्दै प्रवासी मजदुर युनियनका अध्यक्ष उदय राईले जानकारी दिए।

प्रवासी मजदुरका समस्याका विषयमा छलफलका लागि शुक्रबार एमटियूको कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै किमले नेपाली आवेदकका लागि शुल्क बढाउनुपर्ने प्रस्ताव आएको बताए।

तर प्रवासी मजदुरको अधिकारका लागि लडिरहेको संस्था एमटियूले भने इपियस कार्यालय नेपालको उक्त प्रस्तावको विरोध गरेको छ।

छलफलमा सहभागी मजदुर युनियनका प्रतिनिधिहरुले अदक्ष कामदार ल्याउने भन्दै सञ्चालित इपियस प्रणालीमा स्किल टेस्टको बहानामा भाषा पास गर्नेहरूलाई बञ्चित गरिएको भन्दै पुरानै नियम कायम गर्न माग गरेका थिए।

छलफलका क्रममा भाषा परीक्षा उत्तीर्ण गरी बसेका सबै नेपालीलाई यथाशीघ्र चाँडो कोरिया ल्याउन माग गरिएको युनियनका अध्यक्ष राईले बताए।

भाषा परीक्षा पास गरेर कोरिया आउन नपाएका नेपालीको संख्या ५ हजार ५ सय ४० रहेको एचआरडी कोरियाको तथ्याङ्क छ। भाषा पास गरेर पनि यहाँ आउन नपाएका नेपालीको यो संख्यालाई सकेसम्म छिटो कोरिया ल्याउन माग गरिएको राईको भनाइ छ।

एचआरडी प्रमुख समक्ष नेपाली सरोकारवालाहरूद्वारा सिप परीक्षणको बहानामा अनुत्तीर्ण गर्न नपाइने, परीक्षा आवेदन शुल्क घटाउनुपर्ने, कोरिया आउने तयारीमा रहेका विदेशीलाई यहाँको मजदुर कानुन, मानव अधिकारलगायतका विषय प्रशिक्षण दिन पाउनु पर्नेलगायतका माग राखिएको थियो।