प्यूठान- प्यूठान हालको झिमरुक गाउँपालिका-४, कौछेमा ८६ वर्ष इतिहास बोकेको ५५ झ्याले घर छ। आकर्षक कलाकृतियुक्त यो घर काठ र इट्टाले प्रयोग गरेर बनाइएको हो। इटा प्रयोग गरेर प्यूठानमा पहिलो पटक यो घर बनेको बताइन्छ। आठकोठे भव्य यो घर उबेला आलिसान महल मानिन्थ्यो। यो घरको माथिल्लो तलामा भान्छाघर छ।
काठैकाठको भर्याङ अहिले पनि यथावत् छ घरमा। काठ, इँटालगायतका स्थानीय सामग्री प्रयोग भएको भएपनि यो घर बनाउने कालिगढ भने काठमाडौंबाट झिकाइएको थियो। २ वर्ष लगाएर बनाइएको यो घर उतिबेला दरबारका नाममा दर्ज भयो। अहिले पनि यो घरलाई दरबार भन्ने नै बढी छन् प्यूठानतिर। उतिबेला जिल्लामा यति आलिसान र भव्य घर कसैले बनाएका थिएनन्।
उतिबेलै बनाइएको भए पनि यो वातावरणमैत्रीको नमुना पनि हो। दरबारको बीच भाग खुला छाडिएको छ। कचहरी गर्ने थलो हो यो खुला भाग उतिबेला। घरका झ्याल र ढोका काष्ठकलाले सिंगारिएका छन्। झट्ट हेर्दा तत्कालीन राजा र राणाहरूको दरबारजस्तो लाग्ने यो घर नेपालका अधिकांश कम्युनिस्ट नेताका गुरु मानिने मोहनविक्रम सिंहका पिता खिमविक्रमले बनाएका हुन्। उनले तत्कालीन राणा शासकलाई चुनौती दिन भव्य महल निर्माण गरेका हुन्।
२००७ साल अघि राणाहरूको जगजगी थियो। २००७ सालमा प्रजातन्त्र आउनुअघि राणाहरूसँग सर्वसाधारणले प्रतिस्पर्धा गर्न पाउँदैनथे। तर मोहनविक्रम सिंहका पिता खिमविक्रमले वि. स. १९९८ सालमै राणासँग पौठेजोरी खेलेका थिए, ५५ झ्याले भव्य दरबार बनाउन सुरु गरेर। वि. स. २००० मा निर्माण सम्पन्न भएको यो दरबार बनाउन दर्जनौं कालिगढ दुई वर्षसम्म प्यूठानमै बसेका थिए।
राणाहरूलाई चुनौती दिन खिमविक्रमले दरबार मात्र बनाएनन्। नामबाट समेत राणाहरूलाई चुनौती दिए उनले। नामको पछाडि राणापरिवारले मात्र बहादुर र विक्रमजस्ता मध्यनाम राख्न पाउँथे। यसलाई चुनौती दिए खिमविक्रले। उनले आफ्नो नाम र थरका बीचमा ‘विक्रम’ थपे, राणाहरूलाई चुनौती दिनकै लागि।
अहिले धन हुनेले ठूला घर बनाउनु र नामका पछाडि 'बहादुर', 'विक्रम', 'ध्वज' लेख्नु सामान्य भइसक्यो। त्यसबेला यस्तो लेख्न र ठूला घर बनाउन राणा र राजपरिवारलाई मात्र स्वीकृति थियो।
खिमविक्रमले ५५ झ्याले दरबार बनाएपछि यसको चर्चा चारैतिर फैलियो। काठमाडौं बाहिर पनि ५५ झ्याले दरबार बनाएर तत्कालीन शासक राणाहरूसँग टक्कर गरेको आरोप लाग्यो उनीमाथि। खिमविक्रम सिंहले थुप्रै मुद्दा खेपे। थुप्रै पटक प्रक्राउ परे।
तत्कालीन राणाहरूले आफूहरूको अस्तित्वसँग टक्कर गर्न खोजेको आरोपमा सर्वश्वहरणसहित डाँडा कटाउने आशयसहितको मुद्दा लागेको गाउँका बुढापाकाहरू बताउँछन्। त्यतिबेला राणाको कुनै पनि काम देखासिकी गरेको थाहा पाए डाँडा कटाउने वा मुद्दा चलाइन्थ्यो। पछि 'राणाको नक्कल होइन' भनेपछि दुई वटा झ्याल बन्द गर्नुपरेको थियो। यसपछि मात्र खिमविक्रमले सफाइ पाए।
मुद्दा हारेपछि उनले १ हजार ८४ रुपैयाँ जरिवाना तिरेका थिए। तर कारबाही भोगे पनि विक्रम लेख्न भने छाडेनन्। ठूलो रकम तिरेपछि उनलाई जुद्ध शमशेरले विक्रम लेख्न छुट दिएका थिए। अहिले खिमविक्रमका सन्ततिहरूले नाममा विक्रम जोड्दै आएका छन्। मोहविक्रम लगायत सबै छोराहरूले त्यसैलाई निरन्तरता दिएका छन्। खिमविक्रमका चार श्रीमती थिए। गाउँमा खिमविक्रम सम्पन्न मानिन्थे। त्यसबेला उनको घरमा काम गर्नेहरू दर्जनौं थिए।
ठूलो घर बनाउन उनले माटो पोलेर इँटा बनाउन गाउँमै कालिगढ झिकाएका थिए। त्यतिबेला जिल्लामा कसैले पनि इँटाले घर बनाएका थिएनन्। बांगेसाल र दरभान क्षेत्रबाट बेठ (झारा)मार्फत् काठ बोकाएर ल्याइएको थियो। तीनतले घरको माथिल्लो तलासम्म घोडा पुग्न सक्ने बनाइएको छ। हाल घरको माथिल्लो तलामा भान्छाघर छ। काठैकाठको भर्याङ अझसम्म पनि उतिकै बलियो देखिन्छ। गाउँ डुलेर आएपछि उनी त्यही भर्याङबाट घोडामै चढेर भान्छाकोठामा पस्थे भन्ने छ। वि.सं. १९६० मा जन्मिएका खिमविक्रमको २०२१ सालमा मृत्यु भएको थियो। खिमविक्रमको निधन भएको वर्षौं बिते पनि त्यो घर अझै उस्तै ठडिएको छ।

खिमविक्रम बाँचुन्जेल चर्चाको केन्द्रमा रहेको पुराना कम्युनिस्ट नेता खगुलाल गुरुङले बताउँछन्। खगुलाल मोहनविक्रमसँगै कम्युनिस्ट बनेका थिए। 'खिमविक्रम निडर स्वभावका थिए,' खगुलाल भन्छन्, 'उनी हाम्रो किसान आन्दोलनसँग मात्र डराएका हुन्। खिमविक्रम मुद्दा, लडाइँ, झगडामा जिल्लाभर प्रख्यात थिए। मच्छीमा भएको झगडामा उनको गर्धनमा खुकुरी प्रहार भएको थियो। ठूलो घाउ लागेको भएपनि बाँचेका थिए। उनको घाउ सेक्न थुप्रै घिउ खर्च भएको हल्ला चलाइएको थियो।’
गन्धर्वहरूले मच्छीको त्यो घटनाबारे गीत पनि बनाएका थिए।
कालो बाख्रो काटीकाटी सारंगीलाई ताँती।
जति काट्दा पनि नकाटिने खिमविक्रमको घाँटी।।
यो गीत पछिसम्म पनि गन्धर्वहरूले प्रयोग गरिरहेका स्थानीयहरू बताउँछन्।
‘उनको अघिपछि हिँड्ने सहयोगी निकै बलिया र लडाकु स्वभावका थिए,’ ७५ वर्षीय पूर्णबहादुर जीसी बताउँछन्, 'गाउँमा बदमासी गर्ने र उनको भनाइ नमान्ने कोही देखे भने उनी नियन्त्रणमा लिइहाल्थे। घरमा मान्छे थुन्ने छुट्टै कोठा थियो। त्यो कोठा अझै पनि छ।’ कोठामा थुनी कोर्रा लगाएर मान्छेलाई ठीक पार्ने गरेको पूर्णबहादुर बताउँछन्।
मुद्दामामिला गर्न पनि खप्पिस थिए, खिमविक्रम। उनको नाम सुन्ने प्यूठान, गुल्मी, अर्घाखाँची, दाङ र रोल्पाबासी मुद्दा मामिलामा फसाउलान् भनेर डराउँथे।
काङ्ग्रेस परिवारका खिमविक्रमको त्यो जगजगी उनका माइला छोरा (मोहनविक्रम) पितासँग विद्रोह गर्न थाले। गाउँका सोझासाझालाई अन्यायमा पारेको मोहन विक्रम सहँदैनथे। घरमा रहेको भकारी फोरेर मोहनविक्रमले गरिबलाई अन्न बाँड्न लगाएको गाउँका बुढापाका बताउँछन्। मोहनविक्रम र खगुलालको अगुवाइमा जिल्लामा पहिलोपटक रातामाटामा कम्युनिस्ट पार्टीले श्रम शिविर चलाएको थियो।
बुबा सुरुमा सामन्ती संस्कारको भएकाले आफू बुबासँग विद्रोह गरेको मोहनविक्रम बताउँछन्। त्यसैकारण कम्युनिस्ट बनी कम्युनिस्ट दर्शनका किताब पढ्न थाले। घरमा पढ्ने वातावरण नभएपछि नजिकैको ओढारमा बसेर मोहनविक्रम पढ्ने गर्दथे। यही ओढारमा तत्कालीन अवस्थामा कम्युनिस्टको बैठकसमेत बस्थ्यो।
यो घरमा अहिले खिमविक्रमका ठाहिला छोरा महेन्द्रविक्रम सिंह बस्दै आएका छन्। घर हेर्न आउनेजाने बढ्न थालेका मोहनविक्रम बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।