काठमाडौं– कलेटी परेका ओठ। निधारमा देखिन्छन् उमेरका धर्सा। चाउरिएका गालाबाट खहरे बनेका छन् आँसु। ७१ वर्षमा रोल्पाबाट पहिलो पटक काठमाडौं आएकी गोरीदेवीलाई सुहाउँदो स्वरुप होइन यो। तर नियतिले समय फेरिदिएपछि स्वरुप उस्तै कहाँ रहनु!
चरचर चिरिएका पैतालाले उमेरको यति लामो उकालो चढिसक्दा गोरीदेवीले पीडा त पहिले पनि भोगिन्। आँसु त पहिले पनि खसेको हो। तर रोल्पाबाट काठमाडौं आएर खसेको यो आँसुले खप्न सकिने शक्ति कमजोर बनेको छ। उनी बेहोसझैँ टोलाइरहेकी छिन्।
हुन त रोल्पाको सुनिलस्मृति गाउँपालिकाकी गोरिमाया विष्ट यसरी रोएकै महिना दिन भयो। छातीको घाउ उसैगरी हरदिन चहर्याइरहेको छ। पहिले खाटो बनिसकेका घाउसमेत आलो बनिदिएको छ।
गएको पुस १६ गते गोरीदेवीमा नयाँ पीडा थपिएको हो। के थियो त त्यो घटना जसले गोरीदेवीका आँखा महिना दिनसम्म बगिरहेको छ?
हुन त यो समय गोरीदेवीलाई प्रश्न सोध्ने समय होइन। मनको बह कहने अवस्था पनि उनमा कहाँ देखिन्छ र! तर बिसाएका पीडाले नै हुन् थोरै भए पनि साहस मिल्ने।
गोरीदेवीका कान्छा छोरा सुरेन्द्रकुमार विष्ट परदेश र घरदेश ओहोरदोहोर गर्न थालेको १२ वर्ष बितेको थियो। उनी मलेसियामा काम गर्थे। समय मिलाएर पारीवारिक भेटघाटका लागि घर आउँथे। छोरा आउने दिन गनिरहने गोरीदेवी उनी आएपछि फर्कने दिन गन्न विवश हुन्थिन्।
यो वर्ष पनि मंसिरमा छुट्टीमा आएको छोरा मलेसिया फर्कने दिन औँला भाँचेर गनिरहेकी थिइन् गोरीदेवी। छोरा आएको बेला विवाह गरेर बुहारी भित्र्याउन पाइएला भन्ने कत्रो ठूलो आश थियो गोरीदेवीलाई। तर सुरेन्द्रकुमारले विवाहबारे केही कुरा गर्न चाहेनन्। एक दुई गर्दै सुरेन्द्रकुमार विदेश फर्कने दिन पनि नजिकै आयो।
‘कान्छो फेरि जाने दिन नजिकिँदा खल्लो लागिरहेको थियो तर पनि फेरि कमाएर देश फर्की आउँछ भन्ने झिनो आश लागिरहेको थियो,’ केहीबेर आँसु थामेर गोरीदेवीले सुकसुकाउँदै सुनाइन्।
.jpg)
केही दिनमै मलेसिया उड्दै थिए सुरेन्द्रकुमार। मलेसिया जानका लागि पुस १७ गते उनको काठमाडौं आउने तयारी थियो। एक सरो लुगा र आमाको कोसेली पोको पारिसकेका थिए। तर, पुस १७ गते उनी बेहोस भए। केही रोग थाहा नभएका बेला अचानक बेहोस भएका सुरेन्द्रकुमारको केही बेरमै ज्यान गयो।
‘बरु विदेश हुँदा त छोरा आउने जाने गर्दथ्यो। अब त ऊ कहिल्यै आउँदैन, कान्छो कहिल्यै फर्किँदैन...’ गोरीदेवीले यो पटक रोक्न खोजेको रुवाइ झनै भक्कानियो। उनको गला अवरुद्ध भयो। धेरैबेर पछ्यौरीले मुख ढाकिन्। रोहिरहिन्।
०००
गोरीदेवी र उनका श्रीमान् खेतबारीमै काम गर्थे। अभावकै बीच पनि भरिपूर्ण थियो मन। सँगै थिए दुई छोरी र चार छोरा। सन्तान वरपर हुँदा दुःख पनि जिउन मिल्ने थियो। दिनभरको कामले छाक अघाउँदो हुन्थ्यो।
छोराछोरीलाई हेरेर त्यसै दंग पर्थिन् गोरीदेवी। उनीहरूको सुन्दर भविष्यको कल्पनामा पुलकित हुन्थिन्। तर खान लाउनकै परिश्रममा कतिञ्जेल मुस्कुराओस् ओठ।
अभावमा दिनहरुले आवश्यकता अझ बढाइदिए। बढेका छोराछोरी पढाउन सकिनन्। ठूला मान्छे बनाउने सपना अभावसँगै तुहियो। बाँकी बसेको सपना थियो अभावमा रहेका हर घरको कथाजस्तो- खाडी पस्ने।
‘हामी मेलापात, अर्मपर्म, ज्याला मजदुरी गरेर मुस्किलले जीवन चलाइरहेका थियौँ, छोराहरु हामीले जस्तै दुःख भोग्न किन चाहन्थे र! विदेश जाँदा खुसी पाइन्छ भनेर यनीहरु त्यस्तै सोच्न थाले’ गोरीदेवीले सुनाइन्। जेठा र कान्छा छोरा साहुबाट ऋण लिएर विदेश हिँडे।
घरबाट टाढा बसेर केही वर्ष कमाएको पैसा साहुको ऋण तिर्नै ठिक्क भयो। मिलाएर घर फर्कने र विदेश फर्कने चलिरह्यो। छोराहरु आउँदाको खुसी र जाँदाको दुःख गोरीदेवीले तारन्तर भोगिरहिन्। एक दिन कहिल्यै विदेश नफर्कने गरी स्वदेश फर्कलान् भन्ने आश त आमाको मनमा छँदै थियो।
‘जेठो छोरो पनि विदेश गएको...’ गोरीदेवीले जेठो छोराको नियति पूरा सुनाउन सकिनन्। भक्कानो अझ जोडले छुट्यो। मनभित्र गढेको पुरानो व्यथासमेत बल्झियो। ओठ काप्न थाले। बोलि फुटेन।
.jpg)
‘जेठो पनि कान्छोझैँ विदेशबाट आएका बेला मृत्यु भएको थियो। भीरबाट लडेको थियो। बचाउन सकिएन,' रोल्पाबाट गोरीदेवीसँगै काठमाडौं आएका साथीले उनको वाक्य पूरा गरिदिए।
सन्तानको वरपर बसेर रमाउन पर्ने बुढेसकालमा गोरीदेवी गहिरो वेदनामा छन्।
उनको भाग्य पटकपटक निमोठिएको छ। गरिबी र अभावले पिरोलेको जीन्दगीमा सन्तानको वियोगले विक्षिप्त बनाएर दुखाएको छ।
‘अहिले म कमाउन जान्छु। काम गरेर खुसी लिएर फर्कन्छु भन्थ्यो, सानैदेखि टाढाको टाढै भयो। अब त कहिल्यै नजिक नहुने गरी गयो,' गोरीदेवीका यो वाक्य बरबराएजस्तो गरी सुनियो।
सुरेन्द्रकुमारले पसिनाले जोडेको पैसाले सहरमा सानो घर जोड्ने सपना आमालाई सुनाएका थिए। ‘कमाई सोचेजस्तो त छैन। धेरै कमाउन पढिएको पनि छैन। फेरि नेपालमा बसेर के गर्नु, केही वर्ष अझै परदेशमै बस्छु,' सुरेन्द्रकुमारले आमासँग यसै भनिरहन्थे।
‘हामी बिहे गरेर अर्काको घर गइहाल्यौँ, अब त भाइहरूले खुसी ल्याउलान् भन्ने कत्रो आश थियो। आमालाई दुःखले कहिल्यै छाडेन,' गोरीदेवीसँगै बसिरहेकी जेठी छोरीले झनै आँसु थपिदिइन्।
०००
करार अवधिमै छोराकोे ज्यान गएपछि वैदेशिक रोजगार बोर्डबाट आर्थिक सहायता पाइन्छ भन्ने सुनेर गोरीदेवी ७१ वर्षमा राजधानी आएकी हुन्। जेठी छोरी र एक आफन्तको साथमा।
पहिलो पटक काठमाडौं टेकेकी उनले यहाँ पनि आँखाअघि छाइरहेको छोराको अनुहारबाहेक अरु देखेकी छैनन्। गाउँले देख्ने सहरको रमझम उनले देखेकी छैनन्। एकोहोरो टोलाइरहेकी छिन्। बेलाबेला झस्किएकी छिन्।
.jpg)
रोल्पाबाट दुई दिन धाएर वैदेशिक रोजगार बोर्ड आइपुगेकी गोरीमायाले वैदेशिक रोजगार कल्याणकारी कोषबाट ७ लाख रुपैयाँ आर्थिक सहायता पाइन्।
यसअघि वैदेशिक रोजगारीको करार अवधिमै स्वदेश फर्किएको अबस्थामा ज्यान गुमाएमा यस्ता व्यक्तिका परिवारले आर्थिक सहायता पाउने प्रावधान थिएन।
गएको वैशाखमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको अध्यक्षतामा बसेको बोर्डको बैठकले करार अवधिमा स्वदेश तथा विदेश जहाँसुकै ज्यान गुमाए पनि ७ लाख रुपैयाँ आर्थिक सहायता पाउने निर्णय गरेको थियो।
त्यही निर्णयअनुसार गोरीदेवीलाई थोरै भए पनि आर्थिक राहत मिल्यो। उनी अब केही दिनमै रोल्पा फर्किंदैछिन्।
घरमा साइला र माइला छोरा छन्। साइलाको मानसिक सन्तुलन ठीक नभएकाले गोरीदेवीले नै स्याहार गर्नुपर्ने अवस्था छ। माइला आमाबाले झैँ खेतबारीकै मेहनतमा गुजारा गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।