सशस्त्र द्वन्द्वमा श्रीमान् गुमाएकी राेल्पाकी धनमाया पुन।
रोल्पा- विवाह हुँदा १९ वर्षकी थिइन् रोल्पा नगरपालिका २ थलिवाङकी ओमकुमारी डाँगी। विवाह भएको केही दिनपछि श्रीमान् खड्कबहादुर नेपाली सेनामा भर्ना भए। विवाह भएको ५ वर्षपछि २०५८ साल मंसिर ८ गते दाङको घोराहीमा रहेको सेनाकाे व्यारेक आक्रमणमा खड्कबहादुरको मृत्यु भयो। ओमकुमारी दम्पत्ती ५ वर्षमात्रै सँगै बसे।
तत्कालीन माओवादीले पहिलो पटक नेपाली सेनामाथि आक्रमण गर्दा दाङमा रहेको भगवतीप्रसाद गुल्म कब्जा गर्ने बेला खड्कबहादुर दोहोरो भिडन्तमा मारिएका थिए। खड्कबहादुरको मृत्यु हुँदा छोराको उमेर ३ वर्ष ९ महिना र छोरीको उमेर १ वर्ष ३ महिनाको मात्रै थियो। ओमकुमारीका श्रीमान् मारिएको १८ वर्ष पूरा भइसकेको छ। अहिले उनका छोराछोरी हुर्किसकेका छन्।
२०५४ सालमा श्रीमान् गंगाराम पुन भूमिगत हुँदा धनमाया २२ वर्षकी थिइन्। सशस्त्र द्वन्द्वकाे सुरुवाती दिनमा प्रहरीको निसानाबाट बच्दै गंगाराम घर आउने जाने गर्दा उनलाई अभिभावक नभएको अनुभूति भएन। जब २०५८ साल मंसिरमा सरकारले संकटकालको घोषणा गर्यो तब सुरु भयो धनमायाका दुःखका दिन। श्रीमान्सँग भेट हुन त कहाँ हो कहाँ, आफू र साना छोराछोरीसमेत असुरक्षित भएको महसुस गर्दै उनी पनि भूमिगत भइन्।
श्रीमान्को कार्यक्षेत्र प्यूठान आफू भने रोल्पामै। शान्ति सम्झौता हुनुभन्दा करिब २ वर्ष पहिले सेनाको घेराबन्दीमा गंगारामको हत्या भएपछि झन् उनी सँधैका लागि एक्ली भइन् उनी। देशमा भएकाे सशस्त्र द्वन्द्वमा रोल्पामा श्रीमान् गुमाएका महिलाको प्रतिनिधिपात्र हुन् ओमकुमारी र धनमाया।
२०/२२ वर्षकै कलिलो उमेरमा देश बदल्न हिँडेका उनीहरुका श्रीमान्ले न देश बदलिएको देख्न पाए न त आफ्नो परिवार नै बदल्न सके।
स्थानीय शान्ति समिति रोल्पाको तथ्यांकअनुसार रोल्पामा १ फाल्गुन २०५२ देखि ५ मंसिर २०६३ को बीचमा सशस्त्र द्वन्द्वबाट प्रभावित वा पीडीत हुने महिलाहरुको संख्या उल्लेख्य छ। अपहरणमा परेका २ सय ४८ मध्ये ४२ जना महिला छन्।
यसैगरी विस्थापित ३ सय ४१ घरधुरीमध्ये ६ सय ५५ जना महिला छन्। सशस्त्र द्वन्द्वमा देशमै सबैभन्दा बढी मृत्यु हुनेको सूचीमा रोल्पा पर्दछ। रोल्पामा १ हजार ८ जनाको मृत्यु भएको थियो, जसमध्ये १ सय १८ जना महिला थिए।
यसैगरी हालसम्म बेपत्ता रहेका ५३ जनामध्ये ७ जना महिला छन्। टुहुरा १ सय ८३ बालबालिकामध्ये ८७ जना बालिका छन्। सशस्त्रद्वन्द्वमा अपांग हुने ६ सय ४६ मध्ये १ सय १५ जना महिला रहेका छन्। कार्यदलले सूचिकृत गरेर राहत पाउन योग्य एकल महिलाको संख्या रोल्पामा ३ सय ६८ जना रहेको स्थानीय शान्ति समिति रोल्पाले जनाएको छ।
द्वन्द्वका श्रीमती गुमाएका पुरुषहरुमध्ये अधिकांशले अर्को विवाह गरिसकेका छन्। पुन:विवाह पश्चात पुरुषहरु नयाँ जीवनको सुरुवात भएको अनुभूति गरिरहेका छन्। तर, श्रीमान् गुमाएका महिलाहरुमध्ये अधिकांशले पुनः विवहा गरेका छैनन्।
‘एकाधले दोस्राे विवाह गरेका होलान्, नत्र अधिकांशले विवाह गरेका छैनन्‚’ महिला मानव अधिकारकर्मी तिर्था आचार्यले भनिन्। पुरुषप्रधान सोचका कारण पुरुषले तत्कालै विवाह गरिहाल्ने र महिलाले मृतक श्रीमान्कै नाममा बाँकी जीवन एक्लै जिउने देखिएको छ।
उनीहरुमाथि लैंगिक हिंसा र घरेलु हिंसा, घरायसी कार्यबोझ त छँदैछ त्यसमाथि आर्थिक बोझसमेत थपिएको छ। सरकारले दिने राहत एकमुष्ट नदिएका कारण उनीहरुले ठोस काम नसकेकाे आचार्यको भनाइ छ। उनका अनुसार एकल महिलालाई हेर्ने दृष्टिकाेण अझै फेरिएकाे छैन।
द्वन्द्वकाल वा अन्य अवस्थामा एकल भएका महिलाहरुको सामाजिक, आर्थिक, सांस्कृतिक अवस्था एउटै रहेको महिला अगुवा पुष्पा श्रेष्ठले बताइन्। द्वन्द्वमा एकल भएका र अन्य एकल महिला भनेर कित्ता काट गर्नुको साटो उनीहरुको संरक्षणमा एक हुनुपर्ने श्रेष्ठको तर्क छ। एकल महिलाहरुलाई दिने सामाजिक सुरक्षा भत्ता कम भएको श्रेष्ठले बताइन्।
बन्दुक बोक्न र हलो जोत्न पनि पछाडि नपरेका रोल्पाली महिलाहरुको अवस्था निकै दयनीय रहेको मानव अधिकारका लागि एकल महिला समूह रोल्पाका अध्यक्ष तुलसा आचार्यले बताइन्। एकल महिलाहरु घरेलु हिंसाका साथसाथै यौन हिंसाबाट पनि प्रभावित हुने गरेको आचार्यले बताइन्।
सशस्त्र द्वन्द्वकाे समयमा बलात्कृत भई जन्मिएका बालबालिकाहरु अहिले नागरिकता बनाउने उमेरमा पुगेका छन्। आफ्ना बुबा किटान हुन नसक्दा अहिले उनीहरुको भविष्य समेत अन्धकार भएको आचार्य बताउँछिन्। उनले अपांग भएका महिलाहरुलाई कसैले न्याय दिन नचाहेको गुनासो पोखिन्।
माओवादीले संचालन गरेको दशवर्षे सशस्त्र द्वन्द्वमा महिलामाथि सरकार र विद्रोही दुवैपक्षबाट यातना र यौनजन्य हिंसा भएको महिला अधिकारकर्मी श्रीकुमारी रोकाको भनाइ छ। श्रीमान् गुमाएका, छोराछाेरी गुमाएका र आफैँ यातना भोगेका महिलाहरुलाई अरु महिलाभन्दा थप पीडा भएको रोकाले बताइन्।
राजनीतिक पहुँच भएका एकाध महिलाको अवस्थामा परिवर्तन आएको देखिए पनि समग्र द्वन्द्वपीडित रोल्पाली महिलाहरुको अवस्था दयनिय रहेकाे रोका बताउँछिन्। श्रीमान्को मारिएपछि छोराछोरीको संरक्षणमा जुटेकी धनमाया देवर तुकमान पुनको समेत हत्या हुँदा थप पीडित भइन्। 'संघर्षका बीचमा बाँच्न सक्नु नै जीवनकाे फरक अनुभूति रहेछ,' साथीभाइसँग कुरा गर्दा धनमाया भन्छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।