नयाँ दिल्ली- भारतकाे तमिल नाडु सेलम जिल्लाकी ३१ वर्षीया प्रेमा सेल्भम एउटा दर्दनाक कहानी बोकेर हिँडिरहेकी आमा हुन्, जसले अप्ठ्याराे परिस्थितिमा पनि हार नमानी त्यसको सामना गरिन्।
उनको पीडाको महसुस त तब हुन्छ जब उनी आफ्ना व्यथा सुनाउन थाल्छिन्‚ ‘भाेकाएकाे ७ वर्षको मेरो छोरोले विद्यालयबाट फर्किएपछि मसँग खाना माग्यो। जब खाना पाएन, चिच्चाएर रुन थाल्यो।’ तर‚ उनीसँग केही पनि थिएन। सेलम आफैंले आफूलाई अत्यन्तै असहाय महशुस गरिरहेकी थिइन्।
यो कुरा गत जनवरी ३‚ शुक्रबारको हो। उनको भान्सा रित्तो थियो। न त चुलो नै बलेको थियो। घरमा खानेकुरा केही नभएपछि भान्सामा केही पाकेको थिएन।
.jpg)
प्रेमाले सुनाइन्‚ ‘मसँग केही थिएन। यसले मलाई दुखाइरहेको थियो। मन पुरै भारी भएर आएको थियो। ‘यदि म आफ्ना सन्तानलाई खानासम्म पनि खुवाउन सक्दिनँ भने यस्तो जीवन बाँच्नुको पनि के अर्थ?’ भनेर सोच्न थालिसकेकी थिएँ।’
प्रेमासँग सम्पत्ति र गहनाको नाममा फुटेको कौडी पनि साथमा थिएन। न त कुनै बहूमूल्य सामान‚ जसलाई बेचेर छाक टार्न सकियोस्। प्रेमा बताउँछिन्‚ ‘मसँग १० रुपैयाँ पनि थिएन। घरमा केही प्लास्टिकका बाल्टिनमात्र बाँकी थिए।’
उनले कतै सुनेकी थिइन्‚ कपाल पनि बेच्छन् मान्छेहरू भनेर। त्यसपछि उनलाई आफ्नो शरीरमा पनि बेच्न बाँकी केही रहेछ भन्ने कुराको महशुस भयो।
प्रेमा भन्छिन्‚ ‘म एउटा यस्तो पसलमा गएँ जहाँ कपाल किन्न मानिसहरूको लाइन लाग्ने गर्थ्यो। त्यहाँ गएर मैले आफ्नो टाउकोको सबै कपाल बेचिदिएँ। यसबाट मलाई १५० रूपैयाँ मिल्यो।’
प्रेमाले आफ्नो कपाल बेचेर कमाएको पैसाले उनलाई कुनै एउटा सामान्य होटलमा गएर एक प्लेट खाना मिल्ने जति पैसा हात परेको थियो। तर‚ उनले आफ्नो गाउँमा आएर केही बढी नै सामान किनिन् जसबाट उनलाई केही राहत मिलोस्।
प्रेमा भन्छिन्‚ ‘मैले २० रुपैयाँ प्लेटको ३ तीन प्लेट खाना मेरा तीन सन्तानको लागि किनें।’
.jpg)
प्रेमाले आफ्ना छोराले खाएर बाँकी रहेको खाना खाइन्। यो त मात्र एकदिनको कुरो थियो।
प्रेमालाई थाहा भएको एउटा अन्तिम विकल्प त्यही कपाल थियो। अब त त्यो पनि रहेन। ‘अब भोलीका लागि खानेकुरा कसरी मिल्ला?’ यही चिन्ताले उनलाई खाइरहेको थियो। वर्षौंसम्म उनी आफ्ना श्रीमानसँग ईंट्टा भट्टामा काम गर्थिन्। यसबाट आफ्नो परिवारको गुजारा चल्नेजत्तिमात्र आम्दानी हुनेगर्थ्यो।
उनको श्रीमानले अब आफ्नै ईंट्टाभट्टा चलाउने भनेर बैंकबाट लोन लिए। तर‚ त्यो ईंट्टाभट्टा धेरै समय टिक्न सकेन। कमाइको भाँडो रित्तिसकेकाले उनको श्रीमान चारैतिरबाट ऋणले घेरिइरहेका थिए। यो वेदना सहन गर्न नसकी सात महिनाअघि आफैंलाई जलाएर उनले आत्महत्या गरेका थिए।
प्रेमाको अन्तिम विकल्प ‘कपाल’ पनि बेचिसकेपछि उनको मनमा पनि आफ्नो श्रीमानको बाटो अँगाल्ने इच्छा जाग्यो। उनले आत्महत्याको कोशिस गरिन्।
उनी सुनाउँछिन्‚ ‘कुनै एउटा पसलमा गएर विष मागेकी थिएँ।’
तर पसलेले उनको स्थिति देखेर उनलाई गाली गरेर त्यहाँबाट फर्काइदियो। घर फर्किएपछि उनले एक स्थानीय विषालु झारलाई पिसेर खाने निर्णय गरिन्। यसो गर्दै गरेको कुरा उनका छिमेकीले थाहा पाएर रोके।
प्रेमाका अनुसार उनलाई विष सेवन गर्नबाट जति पनि छिमेकी रोक्न आए ती सबैले श्रीमानले लगेको ऋणको कुरा उठाइरहेका थिए।
आफ्ना श्रीमानको मृत्यु भएपछि प्रेमामात्र परिवारमा एकजना थिइन् जो कमाएर परिवार पाल्नका लागि उमेरले योग्य थिइन्। उनी ईंट्टाभट्टामा काम गरिरहिन्। काम अति नै कष्टकर थियो तर पनि उनले चर्को घाम र दर्कने पानीको पनि परवाह नगरीकन हरदिन मेहनत गरिरहिन्।
प्रेमा सुनाउँछिन्‚ ‘जब म काममा जान्थें‚ दिनको २०० रुपैयाँ मिल्थ्यो। त्यो पैसा घर चलाउनका लागि पर्याप्त थियो।’
.jpg)
उनका तीन छोरामध्ये दुई छोरा विद्यालय जाने उमेरको नभएकाले ती छोरालाई पनि उनीसँगै लाने गर्थिन् प्रेमा। तर‚ उनले कपाल बेच्ने समयभन्दा तीन महिना अगाडिबाट उनी बिरामी भइन्। काममा जान नसक्दा उनको आर्थिक स्थिति दिनप्रतिदिन कमजोर हुँदै गइरहेको थियो।
प्रेमा भन्छिन्‚ ‘बिरामी भएकाले ईंट्टाको बोझ सँधै झैं थेग्न नसक्ने भएकी थिएँ। बिमारका कारण घरबाट बाहिर निस्कनै पनि समस्या हुने गरेको थियो।’
ऋणको दबाव
आम्दानी कम भएका कारण प्रेमाले ऋण तिर्न पाइनन्। पैसा दिनेहरूले दबाव दिन थाले। प्रेमा झन् निराश हुँदै गइन्। उनी अशिक्षित भएकाले उनलाई सरकारको योजनाहरूको बारेमा थाहा छैन।
एकतर्फ प्रेमा लगातार बिरामी भएकाले ओच्छ्यानमा ढलिरहेकी थिइन्। अर्कोतर्फ ऋणको भारले उनलाई थिचिरहेको थियो।
यस्तो कठिन परिस्थितिमा उनलाई सहयोग गर्नका लगि एक अन्जान पुरुष आइपुगे – बाला मुरुगन।
.jpg)
बाला मुरुगन भन्छन्‚ ‘मलाई प्रेमाको बारेमा मेरो एउटा साथीले भन्यो। उसको ईंट्टाभट्टा प्रेमा बस्ने गाउँ नजिकै थियो।’
प्रेमाको यस्तो दर्दनाक कहानी सुनिसकेपछि मुरुगनको परिवारलाई उनीहरूको पनि कुनै बेलाको त्यस्तै दुःखदायी क्षण याद आयो। बाला भन्छन्‚ ‘म दश वर्षको हुँदा हाम्रो परिवारसँग खानका लागि चामलको एक सितोसम्म पनि थिएन। आमाले दैनिक पुराना कागज‚ किताब बेचेर चामल किनेर ल्याएर हाम्रो पेट भर्नुहुन्थ्यो।’
त्यो समय बालाकी आमाले पनि आफ्नो परिवारसहित आत्महत्याको प्रयास गरेकी थिइन्।
बाला सुनाउँछन्‚ ‘आमाले मलाई र मेरी बहिनीलाई एकैसाथ राख्नुभयो। सुरुमा आफैंले त्यो विषालु औषधि खानुभयो। जब बहिनीले पनि त्यो औषधिको चक्की निल्न थाली उसलाई आमाले रोक्नुभयो र आत्महत्या नगर्ने निर्णयमा पुग्नुभयो।’
बालाकी आमा विष खाइसकेपछि अन्तिम अवस्थामा आत्महत्या नगर्ने निचोडमा पुगिन्। त्यही बेलामा बालाले सबै गाउँले बोलाएर अस्पताल पुर्याए। उक्त घटनापछि बालाले दिनरात मेहनत गरेर परिवारलाई गरिबीको चपेटाबाट बाहिर निकाले। उनी अहिले कम्प्युटर ग्राफिक्स सेन्टर चलाएर बसेका छन्।
.jpg)
बालाले प्रेमालाई आफ्नो परिवारको संघर्षको बारेमा सुनाएपछि प्रेमालाई पनि केही साहस आयो। प्रेमाको परिवारलाई खानको लागि केही मिलोस् भन्ने हेतुले बालाका साथी प्रभुले उनलाई केही आर्थिक सहयोग गरे।
यसपश्चात बालाले आफ्नो फेसबुकमा यी सबै घटना लेखे।
बाला भन्छन्‚ ‘एकदिनमै मलाई एक लाख बिस हजार आर्थिक सहयोग मिलेको थियो। मैले प्रेमालाई यो कुरा सुनाएँ। त्यसबेला प्रेमाको मुहारमा मुस्कान छाएको थियो।’
प्रेमालाई लाग्यो अब उनका दुःखका दिन गए। प्रेमाको अनुरोधमा बालाले रकम जुटाउन रोकिदिए। बाला सुनाउँछन्‚ ‘अब बाँकी रकम प्रेमा आफैंले काम गरेर फिर्ता गर्छु भनेकी छन्।’
उनलाई जिल्ला प्रशासन कार्यालयले पनि दूध बेच्न डिलरसिपको व्यवस्था गर्ने विश्वास दिलाएको छ।
बाला मुरूगनले पनि प्रेमालाई लगातार मद्दत गर्ने विश्वास दिलाएका छन्। अन्जान व्यक्तिबाट मिलेको सहयोगले प्रेमा औधी खुशी भएको कुरा बताउँछिन्। ‘यिनै विश्वासको आडले जिन्दगीमा फेरि उत्साह आएको छ।’ प्रेमा मन्द मुस्कान छोड्दै सुनाउँछिन्।
यो सामाग्री बिबिसी हिन्दीको सहयोगमा प्रदीप खद्योतले भावानुवाद गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।