पिताकाे एकसयौं जन्मदिन पुगेको अवसरमा आयोजित समारोहमा आङ सान सुकी।
एजेन्सी- नोवेल शान्ति पुरस्कार विजेता, महात्मा गान्धीको अहिंसावादी र बौद्ध धर्मको शान्तिको दर्शनबाट प्रभावित आङ सान सुकी कुनै बेला प्रजातन्त्रको पर्यायवाचीको रुपमा चिनिन्थिन्।
तिनै सुकीले अल्पसंख्यक रोहिंग्या मुस्लिम नरसंहारको आरोपमा नेदरल्याण्डको दि हेगस्थित इन्टरनेशनल कोर्ट अफ जस्टिस (आईसीजे)मा गएर सफाइ दिनुपर्यो। सुकीले बुधबार एकहिसाबले अन्तर्राष्ट्रिय अदालतमा उभिएर म्यानमारमा भएको नरसंहारको पक्षमा वकालत गरिन्। सुकीले आफ्नो देशका सुरक्षाकर्मीले अल्पसंख्यक रोहिंग्या मुसलमानविरुद्ध आम नरसंहार गरेको भन्ने आरोप अस्वीकार गरिन्।
सम्बोधनका क्रममा उनले लाखौँलाई रखाइन राज्य छाड्न देशभित्रको आन्तरिक सशस्त्र द्वन्द्वले बाध्य पारेको दाबी गरिन्। म्यानमारका सुरक्षा निकायले असमानुपातिक किसिमले बल प्रयोग गरेको हुनसक्ने तर त्यसमा नरसंहारको उद्देश्य नरहेको उनको भनाइ थियो। विश्वव्यापी क्षेत्राधिकारको प्रयोग गर्दै सानो पश्चिमी अफ्रिकी देश गाम्बीयाले मुद्दा हालेपछि सुकीलाई अन्तर्राष्ट्रिय अदालतमा उभिनुपर्ने बनायो।
तीन घण्टा लामो बयान दिँदा प्रत्यक्षदर्शी पीडित रोहिंग्याहरुले आफ्नो बयानमा उल्लेख गरेका आमहत्या, सामूहिक बलात्कार र नाबालिगहरूलाई भवनमा आगजनी गरिएका विषयमा उनी प्रायः मौन बसिन्।
आफ्नो सुरुवाती सम्बोधनमा उनले म्यान्मारविरुद्धको मुद्दा ‘अपूरो र गलत’ भएको उल्लेख गरिन्। रोहिंग्याहरुको बसोबास रहेको रखाइन राज्यमा भइरहेको समस्या शताब्दिऔंदेखि रहेको उनको भनाइ थियो। म्यानमारले सधै रखाइन राज्यमा रहेको उग्रवादीहरूको जोखिमसँग जुधिरहेको बताउँदै त्यसलाई देशको ‘आन्तरिक द्वन्द्व’का रुपमा परिभाषित गरिन्। यद्यपि उनले सम्बोधनका क्रममा युद्ध अपराधमा दोषी ठहर भए सैनिकहरुलाई कारबाही गरिने आश्वासन भने दिन भुलिनन्।
कुनै बेला लोकतन्त्रको वकालतकर्ताको रूपमा अन्तर्राष्ट्रिय सम्मान पाएकी सुकी ‘नरसंहार’ सुरु हुनुअघि सन् २०१६ अप्रिलमा म्यानमारकी ‘स्टेट काउन्सिलर’ अर्थात प्रधानमन्त्री थिइन्।
सेनालाई नियन्त्रण गर्ने अधिकार नभए पनि त्यसअवधिमा मौन रहेर सेनाको कदमलाई साथ दिएको भन्दै सुकीको चर्को आलोचना भएको हो। आफ्नो देशको प्रतिरक्षा गर्न अदालतमा उपस्थित उनी सुरुमा केही हतास जस्तो देखिन्थिन्। सावधानीपूर्वक तयार गरिएका तर्कहरू सुनाएकी सुकीले अदालतलाई आफ्नो देशमा द्वन्द्व बढाउने कुनै कदम नचाल्न आग्रह गरिन्।
हेगस्थित अदालतको म्यान्मारविरुद्धको कारबाही प्रक्रिया कस्तो होला त्यो भने अहिलेलाई अनुमानको विषय मात्रै हो। तर, सम्मानपूर्वक विश्वले हेर्ने नेतृको बदनाम भने भइसकेको छ।
सुकीको जवाफबाट म्यान्मारविरुद्ध मुद्दा हालेको गाम्बीया सन्तुष्ट देखिदैन। उसले सुकीको दाबीको खण्डन गरेको छ। गाम्बीयाको प्रतिनिधित्व गरिरहेका एकजना वकिल पौल रिचलरले म्यान्मारले नरसंहार गरेको भन्ने राष्ट्रसंघको अनुसन्धानलाई अस्वीकार नगरको बताए।
त्यस्तै अर्का वकिल फिलिपे स्यान्डले भने, ‘म्याडम तपाईंको मौनताले तपाईंका भनाइ शब्दभन्दा धेरै बोल्छ।’ राष्ट्रसंघका अनुसार म्यान्मारबाट विस्थापित भएर बंगलादेशमा शरण लिन पुग्ने रोहिंग्या मुस्लिमहरुको संख्या बढेर ३ लाख ९० हजार पुगेको छ।
उहिलेकी सुकी
सुकीको जन्म तत्कालीन रङ्गोनमा १९ जुन १९४५ मा भएकाे हाे। आङ सान सुकीको नामले अरु बर्मेलीको जस्तै उपनाम समेट्दैन। उनको नाम तीन जनाको नामबाट राखिएको थियो। ‘आङ सान’ उनको बुवाको नामबाट राखिएको हो भने ‘सु’ हजुरआमा र ‘की’ आमाको नामबाट।
सुकीले दुई वर्षकी हुँदा आफ्ना पिता गुमाउनुपर्यो। जो स्वतन्त्र म्यान्मारका पिता पनि मानिन्छन्। उनका बुवा आङ सान निकै क्रान्तिकारी मानिन्थे। जसले म्यान्मारलाई जापान र बेलायतको उपनिवेशबाट मुक्ती दिलाए। तर, देश उपनिवेश मुक्त बनाएको ६ महिनापछि उनको हत्या भयाे।
बर्मेलीले सुकीलाई सम्मान पूर्वक ‘आन्टी आङ सान सुकी’ भन्छन्। उनलाई कतिपयले आमा सु पनि भनेर सम्बोधन गर्छन्। उनी महात्मा गान्धीको दर्शन र बुद्धको विचारबाट प्रभावित थिइन्।
सैन्य शासनमा रहेको देशलाई प्राजातान्त्रिकीरण गर्न उनी सन् १९८८मा ‘नेशनल लिग फर डेमोक्रेसी’ बनाएर राजनीतिमा प्रवेश गरिन। तर, त्यसको एक वर्षपछि उनी नरजबन्दमा परिन्। यदि देश छाडे उनलाई त्यसबाट मुक्त गर्ने भन्दै प्रस्ताव पनि गरियो। तर उनले सिधै अस्वीकार गरिन्।
अहिंसाको दर्शनमा विश्वास गर्ने सुकीकै पार्टीमा पूर्वसैन्य कमाण्डरहरु प्रवेश गरेपछि आफैंले जन्माएको पार्टीबाट उनी बाहिरिनु पर्यो।
घरमा नजरबन्द परेका बेला सुकी आफूलाई बुद्धको ध्यानमा लिप्त बनाउथिन् र बुद्धका विचारबारे अध्ययन गर्थिन्। बुद्ध दर्शनप्रतिको उनको लगाव उनका लेख र भाषणमा पनि झल्किन्थ्यिो। उनले बुद्ध दर्शन र प्रजातन्त्रलाई परिपुरकका रुपमा दाँज्ने गर्थिन्।
सुकीले १५ वर्ष आफ्नै घरमा नजरबन्द भएर बिताइन्। सैन्य सरकारले उनलाई आफ्नाे पार्टीका समर्थक र अन्तर्राष्ट्रिय पाहुना भेट्नबाट बन्देज लगाएको थियो। नजरबन्दमा रहेका बेला उनी श्रीमानले ल्याइदिएका दर्शन, राजनीति र जीवनीसम्बन्धी पुस्तकहरु पढेर समय बिताउँथिन्।
सन् १९९० मा जुनता (सैन्य सरकार)ले आम निर्वाचनको घोषणा गर्यो। जसमा उनको दल नेशनल लिग फर डेमोक्रेसी (एनएलडी)ले ८० प्रतिशत संसदीय क्षेत्र पक्का गर्दै ५९ प्रतिशत मत पायो। कतिले त्यतिबेला सुकी प्रधानमन्त्री बन्ने ठानेका थिए। तर, सेनाले त्यो शक्ति उनलाई हस्तान्तरण गर्न मानेन।
प्रजातन्त्रका लागि अथक प्रयत्न गरेकी उनलाई धेरैले शान्तिको प्रतिक (पीस आइकन) मान्थे। नजरबन्दमै रहेका बेला उनले सन् १९९१ मा नोवेल शान्ति पुरस्कार पाइन्। छोराले त्यो पुरस्कार थापेका थिए। पुरस्कारबापत पाएको सबै राशी उनले बर्मेली जनताको शिक्षा र स्वाथ्यका लागि खर्च गर्न एउटा ट्रस्ट स्थापनाका लागि खर्चिइन्।
बीस वर्षपछि भएको सन् २०१० को चुनावमा सेनाले सर्मथन गरेको पार्टीले निर्वाचन जित्यो। र, त्यही वर्ष सेना उनलाई नजरबन्दबाट मुक्त गर्न सहमत भयो। सन् १९९० यता म्यान्मारमा पहिलोपटक सन् २०१५ मा स्वतन्त्ररुपमा चुनाव गराइयो। जसमा सुकीको दल एनएलडीले अध्याधिक बहुमत पायो।
राष्ट्रपति बन्न उनका लागि यो मत पर्याप्त थियो। तर, संवैधानिकरुपमै उनलाई त्यसबाट रोकियो। सन् २०१६ मा पहिलोपटक गैरसैनिक व्यक्ति राष्ट्रपति बने। सुकी नयाँ सिर्जना गरिएको पद स्टेट काउन्सिलर (प्रधानमन्त्री) बनिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।