काठमाडौं– सत्तारुढ दलकै सांसदहरुले राष्ट्रकै गौरब र सीमा सुरक्षाको सम्बन्धमा सरकार गम्भीर नभएको आरोप लगाएका छन् ।
संघीय संसद अन्र्तगत राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मुल्यांकन समितिको शुक्रबारको बैठकमा सीमा सुरक्षाको विषयमा गम्भीर नबनेको आरोप लगाएका हुन् । परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्याल अनुपस्थित भएपछि सांसदहरुले सरोकारवाला मन्त्रीहरु नै गम्भीर नरहेको आरोप लगाएका हुन्।
राष्ट्रकै गौरव र सीमा सुरक्षा जस्तो संवेदनशील विषयमा छलफल गर्न बोलाउँदा अनुपस्थित भएर सरकारबाट संसदीय समितिकै मर्यादा उलंघन गर्ने काम गरेको आरोप पनि समिति सदस्यहरुले लगाए । सत्तारुढ दल नेकपाका तर्फबाट समिति भीम रावलले संवेदनशील विषयमाथिको छलफलमा मन्त्रीहरु समितिमा उपस्थित नहुनु आपत्तिजनक भएको टिप्पणी गरे।
उनले सीमा सुरक्षा पोष्ट निर्माणका लागि आवश्यक जग्गा बन मन्त्रालयले उलपब्ध नगराएका कारण समस्या भएको भन्ने गृहमन्त्री रामबहादुर थापाको भनाइप्रति पनि आपत्ती जनाउदै बनमन्त्री र मन्त्रालयका कर्मचारीलाई छलफलमा बोलाउन समिति सभापतिसंग आग्रह गरे। बैठकमा गृहमन्त्री थापाले दार्चुलामा सीमा सुरक्षा पोष्ट निर्माणका लागि मन्त्रालयको प्रस्तावमा बन मन्त्रालयले सहमति नदिएका कारण रोकिएको धारणा राखेका थिए।
त्यसैगरी नेकपाका सांसद पम्फा भुसालले सीमा सुरक्षामा भन्दा राज्य सिंहदरबार भित्र ठूला–ठूला सिंहदरबार बनाउने काममा क्रियाशिल भएको टिप्पणी गरिन्। उनले भनिन्, ‘जनताका लागि चाहिँ पहरेदार बनेजस्तो । सीमा सुरक्षा गर्नुपर्नेमा राज्य सिंहदरबारका वरिपरि ठूला–ठूला पर्खाल बनाउने काममा क्रियाशिल छ ।’
उनले नेपालकै अस्तित्व संकटमा पर्ने संकेत देखापरेको भन्दै गम्भीर बन्न सरकारसँग आग्रह गरिन्। उनले भनिन्, ‘राष्ट्रियताको प्रश्न गम्भीर छ । केही परिघटनाहरुले त्यस्तो कुरा संकेत गर्छ । विभिन्न ढंगका परिघटनाले नेपालको सीमा अतिक्रमण मात्रै होइन नेपाल राष्ट्रकै अस्तित्वको रक्षा हुने हो कि होइन भन्ने आशंका गर्न सक्ने स्थिति भएको छ।’
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट समिति सदस्य मिनेन्द्र रिजालले सरकारका मन्त्रीले समितिको बैठकमा अनुपस्थित भएर संसदीय समितिको मर्यादा नराखेको बताए । अर्को बैठकमा अनिवार्य उपस्थितिका लागि सभापतिले निर्देशन दिनुपर्ने उनको राय थियो।
बैठकमा समिति सदस्यहरुले मन्त्रीहरुको उपस्थितिमा मात्रै छलफल अघि बढाउनुपर्ने आवाज उठाएपछि समिति सभापति निरादेवी जैरुले सीमा सुरक्षाको सन्र्दभमा सर्वसाधरणले गुनासो गर्ने अवस्था सिर्जना नगर्ने गरि काम गर्न सरकारलाई आग्रह गर्दै सरोकारवाला सबै मन्त्रीको उपस्थितिमा छलफल गर्ने गरि बैठक स्थगित गरेकी थिइन्।
समितिले कालापानी, लिम्पियाधुरा, लिपुलेक लगायत विवादित बनेका नेपाली सीमा सुरक्षाका बारेमा छलफल गर्न गृह, परराष्ट्र र भूमि व्यवस्था तथा सहकारी मन्त्रीलाई छलफलमा बोलाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।