संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ)का अनुसार‚ सन् १९९० पछि हालसम्म विश्वबाट १२ करोड ९० लाख हेक्टर भू-भागमा रहेको वन विनाश भइसकेको छ। यो झन्डै दक्षिण अफ्रिकाको समग्र क्षेत्रफलको बराबर हो।
हरितगृहको करिब १५ प्रतिशत ग्यास उत्सर्जन वन विनाशबाट उत्पन्न हुने गरेको छ। वन विनाशका कारण हरेक दिन अनगिन्ती पशुपक्षी र बोटबिरुवाहरू नासिएका छन्। यो अवस्थाले समग्र रुपमा ग्रहलाई नै हानी पुर्याउँछ। त्यसैले यस्ता कार्यहरूलाई कसैले पनि प्रोत्साहन गर्नु हुँदैन।
.jpg)
हामीले प्रकृतिप्रति जस्तो व्यवहार देखाउँछौं प्रकृतिले पनि हामीलाई त्यस्तै फल दिन्छ। जस्तोसुकै होस् आफ्नो कर्मको भागिदार आफू नै हुनुपर्दछ। यिनै कुरालाई चरितार्थ बनाउँदै ब्राजिलियन फोटो पत्रकार सेबास्च्याओ साल्गादो र उनकी श्रीमती लेलिया डेलुइज् वानिक साल्गादोको मनमा विनाश भएका वनलाई फेरि हरियाली बनाउने इच्छा जाग्यो। जसको फलस्वरुप उनीहरूले विनाश भएको जंगललाई हरियो जंगलमा परिवर्तन गराउने अभियान सुरु गरे।

साल्गादो‚ फोटो पत्रकारिताको क्षेत्रमा विभिन्न पुरस्कारबाट सम्मानित भइसकेका छन् भने आधा दर्जनभन्दा बढी किताबहरू लेखिसकेका छन्। सन् १९९० मा ब्राजिलको कुनै विनाश भएको जंगलको यात्रा गरेर जब उनी घर फर्के‚ जुन जंगल कुनैबेला रुखै रुखले ढाकिएको थियो। त्यस्तो जंगल त्यस्तो उजाड देखेपछि उनी चकित भए र यो कुरा उनकी श्रीमतिसँग राखे।

उनकी श्रीमती लेलियाले सो जंगल फेरि पनि हरियाली बनाउन सकिने विश्वास व्यक्त गरिन्।
‘जंगल म जत्तिकै बिरामी थियो‚ सबै नासिएको थियो‚’ साल्गादोले सन् २०१५ मा ‘द गार्जेन’ मा भनेका थिए। ‘जंगलको जम्मा ०.५ प्रतिशत जमिन मात्रै रुखले ढाकेको थियो। मेरी श्रीमतीको सल्लाह अनुसार हामीले वृक्षारोपण कार्य सुरु गर्यौं। तत्पश्चात सबै पशुपक्षीहरू उक्त जंगलमा फिर्ता आउन थाले। बोटबिरुवाको पुनर्जन्मसँगै मेरो पनि पुनर्जन्म भएको थियो‚ यो नै मेरो जीवनको सबैभन्दा महत्वपूर्ण क्षण थियो,’ उनले भने।

साल्गादो दम्पतीले ‘इन्स्टिच्युटो टेर्रा’ नामक सानो संस्था स्थापना गरे‚ जसले वातावरण संरक्षणमा काम गर्छ। ‘सायद हामीसँग समाधान थियो‚’ उनले भने‚ ‘संसारमा यौटामात्र चिज छ- रुख‚ जसले कार्बनडाइअक्साइडलाई अक्सिजनमा परिवर्तन गर्न सक्छ। त्यसैले हामीले बृहत रुपमा वृक्षारोपण गर्नुपर्ने देखिन्छ‚’ उनले भने। हामीले रुख बिरुवाहरू रोप्दा जहाँ जंगल छ त्यहीँ नै रोप्नुपर्छ नत्र पशुपक्षीहरू नआउने र पशुपक्षी बिनाको जंगल जंगलजस्तो नहुने उनको भनाइ छ।

आफूले वृक्षारोपण गरेका कुनै बेलाका विनासिएको जंगलमा अहिले चराचुरुङ्गीहरूको आवाज गुन्जिँदा आफ्को मन पनि फुरुङ्ग हुने उनले बताए। उनका अनुसार करिब १ सय ७२ प्रजातिका चरा‚ ३३ प्रजातिका स्तनधारी जनावरहरू पुनः जंगल फर्किएका छन् भने २ सय ९३ प्रकारका रुख बिरुवाहरू रोपिएका छन्। त्यसैगरी १५ प्रजातिका सरीसृप र १५ प्रजातिका उभयचर जनावरहरू रहेकाले त्यहाँको इको सिस्टमको पनि पुनर्जन्म भएको उनको भनाइ थियो।
‘हामीले विनासिएका जंगल वरिपरीका स्थानीयबासीहरूका कुरा सुन्नुपर्छ‚’ साल्गादोले भने‚ ‘मलाई डर लागिरहेको छ कि यदि प्रकृतिसँगको आध्यात्मिक सम्बन्धमा सुदृढीकरण गर्न सकेनौं भने हामी ठूलो दुर्घटनाको सिकार हुने अवस्था नआउला भन्न सकिन्न।’
[यो सामाग्री प्रदीप खद्योतले बोर्डपान्डाबाट भावानुवाद गरेका हुन्]
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।