काठमाडौं- प्रतियोगितामा उपाधि जित्दा को खुसी नहोला? अझ त्यो पहिलो अन्तर्राष्ट्रिय उपाधि हो भने त खेलाडीको भुँइमा खुट्टै नहुनु पर्ने हो। तर नेपाली महिला भलिबल टिम ऐतिहासिक उपाधिपछि पनि सम्पूर्ण रुपले खुसी छैन। खुसीको अलिकति पर्खाइ बाँकी नै छ, जुन छिटै पूरा गर्ने लक्ष्य छ।
नेपाली महिला भलिबल टिमले उपाधिको स्वाद पहिलोपटक चाख्न पाएकाे हाे। तर, त्यसले पूरा सन्तुष्टि भने दिएन। केही खल्लोपन अझै रह्यो। खेलाडीहरू भन्छन्, ‘१३ औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक जित्यौं भने त्यो स्वाद पूरा हुन्छ। लक्ष्य पनि त्यही छ, सागमा स्वर्ण जितेर इतिहास रच्ने।’
नेपाली भलिबलको इतिहासमा यसअघि न पुरुष टिमले अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि जितेको थियो न त महिला टिमले नै। त्यसैले पनि प्रथम एभिसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि नेपाली भलिबलका लागि इतिहास नै थियो।
जितपछि भलिबल प्रेमीदेखि सबैले ठूलो उपलब्धि हासिल गरेको भन्दै खुसीयाली मनाए। सर्वसाधारणदेखि राष्ट्रपति, प्रधानमन्त्री, उपराष्ट्रपतिसम्मले खुसी साट्दै खेलाडीलाई बधाई दिए। तर, यो उपाधि दिलाएकी भाग्यमानी कप्तान अरुणा शाही र बेष्ट स्पाइकर बनेकी प्रतिभा माली आफूहरु धेरै उत्साहित र खुसी नभएको बताउँछन्।
किन त? कप्तान अरुणा शाही भन्छिन्, ‘अन्तर्राष्ट्रिय प्रतियोगितामा अहिलेसम्म नेपालले उपाधि जित्न सकेको थिएन। यस्तो अवस्थामा हामीले उपाधि जित्दा सबै खुसी हुनु स्वभाविक हो। तर, हामी धेरै खुसी भएनौं। हामीले जित्छौं भन्ने सुरुदेखि नै थियो।’
.JPG)
अरुणाको कुरालाई साथ दिँदै प्रतिभा माली भन्छिन्, ‘उपाधि जित्दा त को खुसी नहोला र! तर निकै कडा प्रतिस्पर्धा भएर उपाधि जितेको भए त्यसको उत्साह बेग्लै हुने थियो। त्यस्तो खुसी हुनुपर्ने ठाउँ पनि थिएन र हामी उस्तो खुसी भएनौं पनि।’
कप्तान अरुणा र प्रतिभा उपाधिपछि पनि धेरै खुसी नहुनुको कारण हो- कमजोर प्रतिस्पर्धी। हुन पनि खेल नै त्यस्तै भयो। नेपालले खेलेका सबै खेलमा सोझो सेटमा नै जित निकाल्याे। आयोजक बंगलादेशसहित माल्दिभ्स, कीर्गिस्तान र अफगानिस्तानलाई लिग चरणमा सोझो सेटमा हराएर नेपाल फाइनल पुगेको थियो। फाइनलमा पनि नेपालले माल्दिभ्सलाई २५–१३, २५–१२ र २५–८ को सेटमा पराजित गर्दै ऐतिहासिक उपाधि जित्यो।
सुरुदेखि उपाधि जित्दासम्म कुनै कठिनाइ नभएकाले आफूहरूले धेरै खुसी हुने ठाउँ नपाएको अरुणा र प्रतिभा बताउँछन्।
‘प्रतियोगितामा बलियो टिम माल्दिभ्स नै हो भन्ने सुनेको थिएँ। तर हामीले पहिलेदेखि नै माल्दिभ्सलाई पराजित गर्दै आइरहेका थियौं। त्यसैले स्वर्ण पदक नै ल्याउँछौं भन्ने लागेको थियो। खेल्दै जाँदा त्यस्तै भयो। कुनै टिम बलियो थिएनन्’ प्रतिभाले भनिन्।
साग जितेर मात्रै खुसी हुन्छौं
सेन्ट्रल जोन प्रतियोगितालाई १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको तयारीको रुपमा नेपालले लिएको थियो। त्यसकै लागि भनेर नेपाली महिला भलिबल टिम लामो समयदेखि बन्द प्रशिक्षणमा छन्।
कप्तान अरुणा र प्रतिभा ऐतिहासिक उपलब्धि पाउँदा पनि खुसी नहुनुको राज नै सागसँग जोडिएको छ। यी दुई खेलाडी मात्रै होइन सिंगो टिम सागमा स्वर्ण पदक जित्दै खुसी मनाउने लक्ष्यमा छ।
‘सेन्ट्रल जोनमा कुनै टिम बलिया थिएनन्। हाम्रो लागि केही कठिन नै भएन। त्यसैले अब हाम्रो लक्ष्य भनेको नै सागमा स्वर्ण हो। यसले अत्याधिक खुसी दिन्छ भन्ने लाग्छ। भारत र श्रीलंकालाई चुनौती दिँदै उपाधि जित्ने अवसर सागमा नै छ’, प्रतिभा भन्छिन्।
अरुणा पनि सेन्ट्रल जोनलाई सागको तयारीको रुपमा मात्रै लिन्छिन्। उनले भनिन्, ‘यो प्रतियोगिताले साग तयारीको लागि महत्वपूर्ण भूमिका खेलेको छ। यसले सागमा निकै राम्रो नतिजा ल्याउन मद्दत गर्छ जस्तो लाग्छ। हामी सागमा स्वर्ण जितेपछि वास्तविक खुसी हुन्छौं।’
.JPG)
विमानस्थलको दृश्यले भावुक बनायो
नेपालको राष्ट्रिय खेल भलिबलले ऐतिहासिक उपाधि जित्दा सबै खुसी नहुने कुरै थिएन। बंगलादेशमा उपाधि जितेर स्वदेश फर्किएकाे महिला भलिबल टिमलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल भलिबल संघका सबै पदाधिकारी, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेश कुमार सिलवालदेखि खेलकुद पदाधिकारी र समर्थकसम्म पुगे।
यसअघि कहिल्यै विमानस्थलमा स्वागतका लागि यति ठूलो माहोल देख्न नपाएकी कप्तान अरुणालाई विमानस्थलकाे दृश्यले निकै भावुक बनायाे। स्वागतपछि प्रश्नका लागि पत्रकारमाझ घेरिँदा उनको भावुकता अनुहारमा प्रष्ट झल्किन्थ्यो।
कप्तान भएपछिको पहिलो उपाधि जित्दा आफूलाई भाग्यमानी ठानेकी अरुणा भन्छिन्, ‘विमानस्थलमा निकै अविस्मरणीय क्षण बन्यो। त्यस्तो स्वागत हुन्छ भनेर सोंचेका थिएनौं। ठूलो उपलब्धि हासिल गरेको जस्तो लागेको थिएन। तर, नेपालीहरु कति खुसी थिए भन्ने विमानस्थलमा आएपछि मात्रै थाहा भयो। निकै भावुक भएँ।’
विमानस्थलमा पुगेका राखेपका सदस्य सचिव रमेश सिलवालले उपाधि विजेता सबै खेलाडीलाई जनहि ३–३ लाख रुपैयाँ दिने घोषणा गरे। यसले पनि खेलाडीलाई थप उर्जा मिल्यो।
यही उर्जा र आत्मविश्वासको साथ नेपाली महिला भलिबल टिम फेरि आइतबारदेखि अभ्यासमा जुटेको छ। सेन्ट्रल जोनमा उपाधि जित्दाका १२ र थप दुई खेलाडी गरी १४ जना खेलाडीले मंसिर १५ देखि २४ गतेसम्म हुने १३औं सागको तयारी थालेका हुन्।
टिममा उषा भण्डारी र हीरा केसीलाई फेरि बोलाइएइको छ। त्यस्तै, सागका लागि बन्द प्रशिक्षणमा कप्तान अरुणा शाही, प्रतिभा माली, सरस्वती चौधरी, निरुता ठगुन्ना, रेश्मा भण्डारी, पुनम चन्द, जानकी भण्डारी, सुनिता खड्का, सफिया पुन, उषा कुमारी बिष्ट, कमला पुन र सलिना श्रेष्ठ छन्।
.JPG)
सागकै लागि नेपाली महिला टिमले थाइल्यान्डमा लामो समय अभ्यास पनि गरेको थियो। थाइल्यान्डको अभ्यासले टिमको मनोबल बढेको छ। थाइल्यान्ड अभ्यासपछि सेन्ट्रल जोनको उपाधिले सागमा भारत र श्रीलंकालाई पराजित गर्ने साहास खेलाडीमा आएको छ।
‘अहिले टिम निकै राम्रो भइरहेको छ। थाइल्यान्डमा भएको अभ्यासले निकै सुधार भएको छ। श्रीलंकालाई जितिन्छ भन्नेमा म विश्वस्त छु। कुरा आयो भारतको, भारतलाई खेलबाटै भनौँला।’, कप्तान अरुणाले भनिन्।
नेपाली महिला टिममा युवा जोस छ। त्यहि जोसले टिमलाई बलियो बनाएको कप्तान अरुणाको बुझाइ छ। उनले भनिन्, ‘नयाँ खेलाडीहरू निकै उत्साहित छन्। उनीहरूको प्रदर्शन निकै राम्रो छ। क्षमताभन्दा पनि राम्रो गरिरहेका छन्। यो हाम्रो लागि बलियो पक्ष हो।’
तर सेन्ट्रल जोनमा पनि नेपाली महिला भलिबल टिमको केही कमिकमजोरी देखिएको थियो। बल रिसिभ, डिफेन्समा टिम चुक्ने गरेको छ। यो पक्षलाई भने कसरी हेरिएको छ त? भन्ने प्रश्नमा कप्तान अरुणाले भनिन्, ‘हाम्रो राम्रो पक्ष भनेको नै स्पाइकर हो। हाम्रो रिसिभ निकै कमजोर छ। अब त्यसैलाई फोकस गरेर अभ्यास गर्दैछौं। हाम्रो कमजोर पक्षलाई सुधार गर्ने प्रयासमा लागि रहेका छौं।’
टिममा अरुणा र प्रतिभाबीच मात्रै होइन सबै खेलाडीमा कोर्टबाहिरको तालमेल पनि राम्रो छ। एकअर्कालाई हरेक अवस्थामा साथ दिइरहेका उनीहरूलाई मिलनसार व्यवहारले नै खेलमा एकजुट हुन सहयोग पुगेको छ। क्लब भलिबलमा फरक-फरक भूमिका भएपनि राष्ट्रिय टिमका लागि एक भएर लागिपरेका छन्।
.JPG)
प्रतिभाको नजरमा अरुणा कस्तो खेलाडी?
अरुणा दिदी सिनियर खेलाडी हो। पहिले धेरै खेल खेलिसक्नु भएको थियो। यो प्रतियोगितामा पनि निकै राम्रो तरिकाले खेलर जिम्मेवारी पूरा गर्नु भयो। अझै राम्रो गर्नुहोस् भन्छु।
सुधार गर्नु पर्ने केही छैन?
मलाई कहिलेकाहिँ कस्तो महसुस हुन्छ भने, अरुणा दिदी म नयाँ हुँ जस्तो गरेर खेल्नु हुन्छ। त्यसले गर्दा कुनै बेला उहाँ आफ्नो क्षमता अनुसारले खेल्न सक्नुहुन्न। उहाँले सुधार गर्नुपर्ने पक्ष त्यहि नै हो। आफ्नो क्षमताअनुसार खेल्नु भयो भने त निकै राम्रो हुन्छ।
अरुणाको नजरमा प्रतिभा कस्तो खेलाडी?
उमेरमा सबैभन्दा सानो भएपनि खेलको दौरानमा सबै जनासँग समन्वयन गर्ने स्वभाव प्रतिभाको छ। आफूसँग भएको खेलको ज्ञान अरुलाई सिकाउने गर्छिन्। खेलमा यो गर्नु पर्छ, यस्तो गर्दा राम्रो हुन्छ भन्ने उनको बानी मलाई निकै मन पर्छ। मिलनसार छिन्। सबैलाई हरेक कुरामा सहयोग गर्छिन्।
सुधार गर्नु पर्ने कुरा?
सबैको नराम्रो र राम्रो कुरा त भइहाल्छ। तर प्रतिभाको नराम्रो भन्दा पनि राम्रो कुरा नै बढी छ। सुधार गर्नुपर्ने २–३ वटा कुरा छ। हा.हा.हा... कसरी भन्नु, भन्नै आएन। हा.. हा..।
भिडियो हेर्नुहोस्
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।