मधुमेह भएका बिरामीमा हृदयाघात हुने सम्भावना दुई–तीन गुणा अधिक हुन्छ । यदि मधुमेह रोगीलाई उच्च रक्तचाप छ भने हृदयाघातको सम्भावना झन् बढी हुन्छ । मधुमेह र उच्च रक्तचापसँगै धूमपान पनि गरेमा यस्तो सम्भावना निकै गुणा बढी हुन्छ । यससँगै उच्च कोलेस्टेरोल पनि छ भने हृदयाघात हुने निश्चित हुन्छ । त्यसैले मधुमेहका बिरामीका लागि उच्च रक्तचाप, उच्च कोलेस्टेरोल र धूमपान तीन प्रमुख शत्रु हुन् ।
मधुमेहका बिरामीको कोलेस्टेरोल नै फरक खालको हुन्छ । यस्तो कोलेस्टेरोल मुटु वा अरु रक्तनलीमा टाँसिने किसिमको हुन्छ । यसलाई ‘अथ्रोजेनिक डिस्लिपिडेमिया’ भनिन्छ । यसैगरी धूमपान गर्नेको कोलेस्टेरोल पनि फरक किसिमको हुन्छ । धूमपानले नराम्रो कोलेस्टेरोललाई रक्तनलीको भित्तामा टाँसिने प्रक्रिया बढाइदिन्छ । त्यसैले यस्ता व्यक्तिले धूमपान गरेमा हरेकपटकको सेवनसँगै हृदयाघातको खतरा बढ्दै जान्छ ।
मधुमेह भएका बिरामीले खाली पेटमा वा खाना खाएर गरेको सुगरको ल्याब रिपोर्टमा मात्र ढुक्क भएर बस्नुहुँदैन । उनीहरूले ग्लाइकोसाइलेटेड हेमोग्लोविन (एचबिएवानसी) पनि परीक्षण गराउनुपर्छ । त्यसो गर्दा पनि सुगर नदेखिएमा मात्र ढुक्क हुनुपर्छ । मधुमेहका बिरामीमा रक्तचाप १३०/८० को वरिपरि हुनुपर्छ । खराब कोलेस्टेरोल १३० एमजी हुनु पनि खतरा मानिन्छ । मधुमेहका बिरामीले दैनिक कम्तीमा एक घण्टा हिँड्नु आवश्यक छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।