काठमाडौं- नेपाल र युरोपेली संघ संयुक्त आयोगको बैठक काठमाडौंमा सुरु भएको छ। हरेक २ वर्षको अन्तरालमा हुने बैठक यस वर्ष काठमाडौंमा आयोजना गरिएको हो।
बैठकमा नेपाली प्रतिनिधिमण्डलको प्रतिनिधित्व परराष्ट्र सचिव शङ्करदास वैरागीले गरेका छन् भने युरोपेली संघको तर्फबाट एसिया-प्रशान्त क्षेत्र हेर्ने नायब निर्देशक पाओला पम्पालोनीले प्रतिनिधिमण्डलको नेतृत्व गरेकी छिन्।
बैठकमा मुख्यगरी युरोपेली संघले नेपाललाई उपलब्ध गराउँदै आएको आर्थिक तथा विकास सहायता र संयुक्त लगानीको विषयमा छलफल हुनेछ। यसका साथै युरोपेली संघले विश्वव्यापी रुपमा वकालत गर्दै आएको पर्यावरण संरक्षणसम्बन्धी नेपालमा हुँदै आएको कार्यक्रमको मूल्यांकन पनि गरिनेछ।
युरोपेली संघले नेपाल सरकारलाई उपलब्ध गराउँदै आएको व्यापार-वाणिज्य, ऊर्जा, विज्ञान तथा प्रविधि, कृषि, मानव संशाधन विकासका क्षेत्रमा सञ्चालित कार्यक्रमका बारेमा पनि छलफल हुने कार्यतालिका छ।
नेपाल र युरोपेली संघबीच सन् १९७५ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता संघले नेपालको आर्थिक एवं सामाजिक विकासको क्षेत्रमा सहयोग गर्दै आएको छ। संघले यसका अलावा नेपालको राजनीति र विकसित घटनाहरुमा समेत आफ्नो धारणा सार्वजनिक गर्ने गरेको छ। जुन सधैं चर्चा र विवादित बन्ने गरेको छ।
पारस्परिक लाभका विषयमा सहयोग आदानप्रदान गर्न सन् १९८६ मा युरोपेली संघ संयुक्त आयोगको स्थापना भएको हो। यसको प्रधान कार्यालय ब्रसेल्समा छ। अर्को दुई वर्षपछि नेपाल सरकार युरोपेली संघ संयुक्त आयोगको बैठक ब्रसेल्समा बस्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।