प्राधिकरणले हेलिकोप्टर पाइलटलाई सचेत गराउने

उत्तम काप्री | २०७६ भदौ ३१ मंगलबार | Tuesday, September 17, 2019 २०:५२:०० मा प्रकाशित

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकोप्टर पाइलटलाई सचेत गराउने भएको छ।

खराब मौसमका बेला गराइने उडान तथा अवतरणका विषयमा प्राधिकरणले सचेत गराउन लागेको हो। 

खराब मौसमका कारण शुक्रबारदेखि लुक्ला क्षेत्रमा उडान रोकिएसँगै केही हेलिकोप्टर कम्पनीले उडान तथा अवतरण गराएको भन्दै सचेत गराउन लागेको हो। 

मंगलबार मात्र काभ्रे र रामेछापका विभिन्न स्थानमा ९ हेलिकोप्टर आकस्मिक अवतरण गराएपछि प्राधिकरणले तत्कालै हेली पाइलटलाई सचेत गराउन लागेको प्राधिकरण स्रोतले उल्लेख गरेको छ। 

खराब मौसममा उडान गर्ने हवाई सुरक्षाकै विषयमा इयूले समेत नेपाललाई कालोसूचीमा राखेपछि प्राधिकरण सम्बन्धित सबैलाई सचेत गराउन प्राधिकरणले चासो देखाएको हो। 

'खराब मौसममा गराइने उडान तथा अवतरणका बेला गरिने उडान तथा अवतरणका बेला अपनाउनुपर्ने सुरक्षा सम्बन्धी सर्तका विषयमा हेली पाइलटलाई सचेत गराउन लागेका हौं,' प्राधिकरणका महानिर्देशक राजन पोखरेलले भने,'विशेषगरी मंगलबार उडान तथा आकस्मिक अवतरण गराउने हेलिकोप्टर पाइलटलाई सचेत गराउने तयारी गरिएको छ।'

यसैबीच मंंगलबार मौसम खराबीका कारण मंगलबार काभ्रे र रामेछापका विभिन्न स्थानमा आकस्मिक अवतरण गराइएका ९ हेलिकोप्टर मध्ये ५ वटा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका छन्।

अन्य ३ हेलिकोप्टर भने रामेछापको मन्थलीमा अवतरण गरेका छन्। यसैगरी एयरडाइनास्टीको एक हेलिकोप्टर भने सुर्केबाट लुक्ला फर्किएको छ। 

काठमाडौं विमानस्थल अवतरण हुनेमा अल्टिच्युडको एक, सिम्रिकका-२, कैलाशको एक र मनाङको १ हेलिकोप्टर छन्।

सिम्रिक श्री र समिटका एक एक हेलिकोप्टर भने रामेछापमा अवतरण भएका छन्।