शरीर स्वस्थ राख्न जुम्बा

दीपक घिमिरे | २०७६ भदौ १६ सोमबार | Monday, September 02, 2019 १८:१४:०० मा प्रकाशित

भैरहवा- बदलिँदो जीवनशैलीका कारण मानिसहरु अनेकथरी रोगका सिकार भइरहेका छन्। चाहे बालक होऊन् वा वृद्ध, नियमित कसरत वा खानपानको तौरतरिका नमिल्दा उनीहरु रोगबाट गुज्रनुपरेको छ।

स्वस्थ हुन र मोटोपनबाट टाढा रहन यतिबेला जुम्बा डान्समा धेरैको आकर्षण बढेको छ। भैरहवामा पनि बालबालिकादेखि वृद्धवृद्धासम्म जुम्बामा तानिएका छन्। 

आफूलाई स्वस्थ राख्न विभिन्न योग तथा कसरतमा लागेका युवादेखि पाका पुस्तासम्म अहिले जुम्बामा आकर्षित भएका छन्। 

लायन्स क्लब अफ सिद्धार्थनगर, गौतमबुद्धका अध्यक्ष गौतम गुप्ताले छोटो समयमा नै तौल नियन्त्रणमा ल्याउनका लागि यो डान्स उत्तम विकल्प रहेको बताउँछन्।

कतिपय अवस्थामा तौल नियन्त्रणमा राख्नका लागि गर्भवतीले समेत जुम्बा गर्ने गर्छन्, जुन सामान्य तरिकाले गरिन्छ।

बच्चादेखि वृद्धवृद्धाले जुम्बा डान्स सजिलै गर्न सक्ने क्लबका कार्यक्रम संयोजक विनित उपाध्याय बताउँछन्।

‘जुम्बापछि तनावमुक्त भइन्छ। यसले शरीरमा एक प्रकारको ऊर्जा ल्याउँछ। आलस्यपना र तनाव घटाउँछ, युरिक एसिड, थाइराइड, मुटुरोग लगायतका समस्या कम गर्न पनि जुम्बा प्रभावकारी मानिन्छ,' उपाध्यायले भने।

के हो जुम्बा?
जुम्बा संगीतका माध्यमबाट गरिने नाच हो। गीत बज्दा हात फैलाउने, कमर मर्काउने, मुन्टो निहुर्‍याउने, गोडा उचाल्ने जुम्बा नृत्यका विशेषता हुन्। यसैलाई जुम्बा भनिन्छ।

अव्यवस्थित खानपान तथा जीवनयापनका कारण मधुमेह रोग हुने भएकोले यसको नियन्त्रण, रोकथामका लागि यो आवश्यक हुने अध्यक्ष गुप्ता बताउँछन्।

जुम्बा एक प्रकारको नृत्य भएको र यसले मधुमेह नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ। 'समयमै सचेतना अपनाए मधुमेह रोगबाट बच्न सकिन्छ। एक घन्टा व्यायामले बाँकी २३ घन्टा शरीरलाई स्वस्थ राख्न मद्दत पुग्दछ,' उनले भने।

यहाँका जिम हाउसहरुमा समेत जुम्बा डान्स हुने गरेको छ। जुम्बाले मधुमेह, ब्लडप्रेसर लगायतका रोगबाट टाढा राख्न सहयोग पुग्ने भएकाले पनि सबैको आकर्षण बढेको रुद्रदेवी कलाकेन्द्रका जुम्बा प्रशिक्षक सुनिल गुप्ताले बताए। ‘डान्स गर्दा शरीरबाट पसिना निस्कन्छ, शरीर मर्काउने भएकाले हामीलाई स्वस्थ राख्न मद्दत पुग्छ’, उनी भन्छन्।

उनका अनुसार जुम्बा डान्स ‘सफ्ट एक्सरसाइज’ पनि हो। जुम्बामार्फत गरिएको व्यायामले शरीरलाई स्वस्थ राख्नुका साथै पाचन प्रक्रियालाई मजबुत बनाउने गर्दछ।