काठमाडौं- मौसम पूर्वानुमान गर्नका लागि चालू आर्थिक वर्षको असार मसान्तसम्म ८८ वटा स्वचालित मौसम मापन केन्द्र जडान हुने भएको छ। जल तथा मौसम विज्ञान विभागले यस्तो तयारी थालेको हो।
अहिले ३० वटा स्वचालित यन्त्र जडान भएका छन्, जसको विवरणमा मौसमसम्बन्धी जानकारी दिइन्छ। मौसम विभागमा अहिले जम्मा २२ जना मौसमविद् छन्। देशभर तापक्रम नाप्ने यन्त्र १५०, वर्षा नाप्ने ५ सय र स्वचालित मौसम मापन प्रणाली ३० स्थानमा छन्।
अहिले विश्वको विवरण (डाटा) प्रयोग भइरहेको मौसम पूर्वानुमानलाई अब भने नेपालको डाटा पनि प्रयोग गरेर पूर्वानुमान गरिनेछ। अहिले जमिनमा राखिएका स्वचालित केन्द्रको रेकर्ड डाटाले मात्र पुग्दैन। 'अहिलेसम्म माथिल्लो वायुमण्डलको कस्तो मौसमी गतिविधि छन् भनेर डाटा लिन सकेका छैनौं, विभागका महानिर्देशक डा ऋषिराम शर्माले भने, 'आगामी फागुन महिनाभित्र कीर्तिपुरको डाँडाबाट पहिलोपटक मौसम मापन गर्ने ‘मौसमी बेलुन’ उडाउने तयारी गरिएको छ।'
यसले माथिल्लो वायुमण्डलको मौसमी विवरण लिन सहज हुन्छ। बेलुनमा हाइड्रोजन ग्यास छोडिन्छ, बेलुन जति माथि जान्छ, त्यहाँको तापक्रम सापेक्षिक आर्द्रताको अवस्था हावाको गति कुन दिशातिर बहेको छ भनेर तल जमिनको रिसिभिङ स्टेशनमा पठाउँछ। तर, यसका लागि मौसम विभागले छुट्टै कम्प्युटर प्रणाली विकास गर्नुपर्ने हुन्छ। विवरण राख्न शक्तिशाली कम्प्युटर चाहिन्छ।
नेपालमा पहिलो पटक सुपर कम्प्युटर (हाई पावर कम्प्युटिङ) खरिदका लागि टेन्डर गरिसकेको विभागले जनाएको छ। एक वर्षभित्र सबै काम सकेर नेपालको मौसमी प्रणालीलाई विश्वका विकशित मुलुकको हाराहारीमा पुर्याएउन सकिने शर्माले बताए।
यसैगरी मौसम विभागले प्राकृतिक प्रकोपको दुर्घटनाका रुपमा लिइने चट्याङ कहाँ, कस्तो र कहिले पर्दैछ भन्ने पूर्वजानकारी दिने उद्देश्यले पहिलो पटक चट्याङ सम्बन्धी सञ्जाल निर्माण गर्ने भएको छ। यो काम अहिले लगभग सकिएको छ। परामर्शदाता कम्पनीले अबको तीन महिनाभित्र सबै तथ्यांक विभागलाई बुझाएपछि चट्याङसम्बन्धी अनुगमन तथा केही समयपछि पूर्वानुमान गर्न सकिने महानिर्देशक शर्माको भनाइ छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।