काठमाडौँ- मुलुकको मौसमी सूचना प्रणालीलाई विश्वस्तरको बनाउने लक्ष्यसहित जल तथा मौसम विज्ञान विभागले अत्याधुनिक मौसमी राडार जडान प्रक्रिया सुरु गरेको छ।
विभागले मौसमी सूचनालाई व्यवस्थित र प्रभावकारी बनाउन नेपालमा पहिलो पटक सुर्खेत, पाल्पा र उदयपुरमा राडार जडान गर्न थालेको हो। मौसमी प्रणालीलाई आधुनिकीकरण गर्न तीन वटा मौसमी राडार जडानको प्रक्रिया थालिएको विभागका महानिर्देशक डा ऋषिराम शर्माले जानकारी दिए।
सुर्खेतको रातानाङ्ला, पाल्पाको सिद्धिकोट र उदयपुरको नामेटारमा मौसमी राडार राखिनेछ। हाल अनुमानित मौसमी विश्लेषण हुँदै आएकामा राडार जडानपछि वास्तविक सूचना पाउन सकिनेछ।
'सुर्खेतमा मौसमी राडारको काम अघि बढिसकेको छ। सम्झौता भइसकेकाले अब करिब पाँच महिनाभित्र राडार पनि आइपुग्छ,' उनले भने, 'पाल्पा र उदयपुरमा राडार राख्नका लागि जग्गा प्राप्ति भई टेन्डर प्रक्रिया अघि बढेकाले केही हप्तापछि सबै प्रक्रिया टुंगिन्छ।' राडारका लागि एसियाली विकास बैंकको जलवायु प्रकोप समुत्थान निर्माणअन्तर्गत आर्थिक सहयोग प्राप्त भएको छ भने बाँकी नेपाल सरकारले बेहोर्नेछ।
मौसमी सूचना प्रणालीको अत्याधुनिक उपकरण राडार राखेपछि समयमै सही सूचना सहज रुपमा प्राप्त हुनेछ। यसले मुलुकको उड्डयन क्षेत्रलाई सुरक्षित तथा प्राकृतिक प्रकोप बाढी, पहिरो आदि घटनालाई न्यूनीकरण गर्न सहयोग पुग्ने महानिर्देशक शर्माको भनाइ छ। राडारले नेपालभरिको मौसमी सूचना स्वचालित (अटोमेटिक) रुपमा संकलन गरी वास्तविक समयसहित जानकारी दिन्छ। एक राडारको पूर्वाधारसहित करिब रु २४ करोड पर्छ।
के गर्छ मौसमी राडरले?
महानिर्देशक शर्माका अनुसार राडारले नेपालको आकासमा वायुमण्डल वरिपरि घुमेर तस्बिर खिच्छ। पहाडको उच्च भेगमा राखिने राडारले नेपालको वायुमण्डलको सबै भू–भागमा वास्तविक समयमा तस्बिर खिचेर पठाउँछ। त्यस आधारमा वायुमण्डलमा कस्तो खालको बादल छ, पानी, असिना, हिमपात पार्ने बादल हो कि होइन, कति परेको छ र कति समयदेखि त्यो बादल छ, भनेर थाहा पाउन सकिन्छ। यस्ता सूचनाका आधारमा तत्कालको मौसमी पूर्वानुमान गर्न यो प्रणालीले सहज हुन्छ।
राडारले कुनै पूर्वानुमान नगरी जे देखिन्छ, त्यही बताउँछ। कुनै बादल बनिरहेको छ भने त्यो बादलभित्र के छ, पानी, हिउँका कस्ता कण छन्, असिना पर्ने बादल हो होइन; त्यो सूचना दिन्छ। त्यसका आधारमा मौसम विभागले केही घन्टापहिले नै यो ठाउँमा बादल देखिएको छ र यतिखेर पानी पर्छ भनेर सूचना दिन्छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।