माल्दिभ्स– २५ वर्षअघि नेपालमा अहिले जस्तो इन्टरनेटको सुविधा थिएन्। न सोशल मिडियाको जमाना नै थियो। यस्तो अवस्थामा पनि टापुहरुको देश भनेर चिनिने माल्दिभ्समा तनहुँ दमौलीका चित्र मगर रोजगारीका लागि आएका थिए।
नीलो समुद्रमा अत्यास लाग्ने वातावरणका बीच सुरुमा उनी खुल्न सकेनन्। उनलाई पहिलो पल्ट माल्दिभ्स आउँदा लागेको थियो, समुद्र भए पनि नेपाल जस्तै डाँडाकाँडा होला। तर यहाँ आएपछि कुनै पनि बेला समुन्द्रमा बिलिन हुन सक्ने टापु देखेर उनी अतालिए। खानाको पनि समस्या भयो। नेपालमा मज्जाले दाल–भात र सागसब्जी खाइरहेको बानी, माल्दिभ्समा बिहान बेलुका माछा खाँदा खाँदै उनी वाक्क भइसकेका थिए।
कमाई राम्रो थियो। त्यहीँ पनि उनले माल्दिभ्स पुगेको ३ महिनाभित्रै नेपाल फर्किने मन बनाइसकेका थिए। उनको निर्भिकता र कामप्रतिको लगावबाट उनका मालिक अब्दुल्लाह शाहिद निकै प्रभावित थिए।
त्यसैले शाहिदले उनलाई नेपाल फर्किन दिने कुरै थिएन। उनले चित्रलाई आफूसँगै राख्न अनेकौं उपाय निकाले। जसअन्तर्गत उनले चित्रको तलब सुविधा थप गरे। बस्नलाई राम्रो ठाउँ दिए। अझ, उनी माल्दिभ्सको खानाबाट सन्तुष्ट नभएको थाहा पाएपछि नेपाली स्वादकै खानाको व्यवस्था गरे।
चित्र माल्दिभ्स पुग्दा १५ देखि २० वटा मात्रै रिसोर्ट खुलेको थियो। अहिले पुरै माल्दिभ्समा सयभन्दा बढि रिसोर्ट फैलिसकेको छ। चित्रलाई पत्यारै लाग्दैन, हेर्दा हेर्दै आफू अढाई दशकदेखि माल्दिभ्समा बसेको। भन्छन्, ‘कति छिटो समय वित्यो पत्तै भएन।’
उनी माल्दिभ्समा सेक्युरिटी सेवामा कार्यरत छन्। पहिले सेक्युरिटी गार्डमा नियुक्त भएका थिए। पछि सेक्युरिटी अफिसर हुँदै हाल म्यानेजर भइसकेका छन्। उनीे कोमो मालेफुसीमा रहेको ‘मालेफुसी रिसोर्ट’ मा काम गर्छन्।
समुद्रै समुद्रको देशमा पहिलो पल्ट उनी कसरी माल्दिभ्स आए? यसको कहानी रोचक छ। नेपालमा हुँदा उनी काठमाडौंको कोपिला रिसोर्टमा सेक्युरिटी गार्डको रुपमा काम गर्थे। यही रिसोर्टमा नेपालका उच्चपदस्थ व्यक्तिहरु आइरहन्थे। तिनैमध्ये एक थिए, शुभाष घायल।
घायलको दक्षिण एशियाली क्षेत्रमा राम्रै प्रभाव थियो। उनी दक्षिण एसियाली क्षेत्रीय संगठन (सार्क) को विभिन्न कार्यक्रममा भाग लिइरहन्थे। उनले नै एकदिन चित्रलाई भनेछन्, ‘काम गर्न विदेश जान्छौं। म पठाइदिन्छु।’
विदेशमा राम्रो आम्दानी हुने थाहा पाएका चित्र नाई किन भन्थे! उनी झन पुलकित भए। सार्कको बैठकमा भाग लिन नेपाल जाँदा शुभाषले माल्दिभ्सका साहिदसँग चित्रलाई भेटाइदिएका थिए। साहिदको माल्दिभ्समा भब्य रिसोर्ट थियो।
राम्रो कमाइँको प्रस्ताव आएपछि चित्र केही नसोची साहिदको पछाडि लागेर माल्दिभ्स आएका थिए। ‘जताततै नीलो समुद्र। सानो ठाउँ। अहिले डुब्छ, तैले डुब्छ जस्तो लाग्ने। मलाई त केही दिनमै अत्यास लागेर आयो,‘ नेपाल लाइभसँग माल्दिभ्समा भेटिएका चित्रले भने।
माल्दिभ्सको आम्दानीको मुख्य स्रोत रिसोर्ट व्यवसाय हो। यहाँ अहिले १ सय २७ वटा रिसोर्ट सञ्चालनमा छन् र केही बन्ने तयारीमा छन्। चित्र माल्दिभ्स आउने केही पुराना नेपालीहरुमा पर्छन्। उनले यो अवधिमा माल्दिभ्समा आएको थुप्रै परिवर्तनलाई अनुभव गरेका छन्। भन्छन्,‘माल्दिभ्समा नेपाली सेक्युरिटी अफिसर नभएको सायदै कुनै रिसोर्ट होला।’
नेपालीहरुलाई माल्दिभ्सवासीले निकै माया गर्छन्। माल्दिभ्समा नेपालीहरुको छवी इमान्दार र बहादुरको छ। उनीहरु नेपालीसँग सहज महसुस गर्छन्।
धन र सम्मान दुवै पाएको कारणले गर्दा होला चित्रलाई यति लामो समय देशबाहिर बस्दा पनि घरको खासै न्यास्रो लागेको छैन्। भन्छन्, ‘मान्छेको जात, जहाँ बस्यो त्यहीं रमाउँदो रहेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।