बेनी- ४० वर्षपहिले ‘विदेश पनि जान्न, जागिर पनि खान्न’ भन्ने अडानका साथ रु एक हजारको लगानीबाट कृषि पेसा सुरु गरेका म्याग्दीको बेनी नगरपालिका–२ खबराका चन्द्रबहादुर कार्की अहिले रु एक करोडभन्दा बढी सम्पत्तिको मालिक बन्न सफल भएका छन्।
सँगैका साथीहरु अहिले कृषि वैज्ञानिक, वरिष्ठ कृषि विकास अधिकृत लगायत निजामती सेवाको उच्च तहमा पुगे पनि कार्कीको प्रगति देखेर उनीहरु पनि आश्चर्य चकित हुने गरेका छन्।
२०३४ सालमा १८ वर्षको उमेरदेखि रु एक हजारको लगानीबाट कृषि पेसा सुरु गरेका कार्की अहिले जिल्लाका नमुना कृषक र कृषि पेसाबाट नै सामाजिक सेवामा सक्रिय व्यक्तिका रुपमा चिनिन्छन्।
आफ्नो १८ रोपनी जग्गामा मौसमी तथा बेमौसमी तरकारी खेती गरेका कार्की जिल्लामा मिश्रित खेती प्रणालीका पहिलो कृषकसमेत हुन्।
कार्कीको खेतबारीमा बाह्रैमास आलु, बन्दा, काउली, गोलभेँडा, साग, ब्रोकाउली, धनियाँ, लसुन, प्याज, खुर्सानी लगायतका तरकारी र केरा, सुन्तला, कागती, अम्बालगायतका फलफूल लहलह झुलिरहेका र लटरम्म फलिरहेका देखिन्छन्। गोठमा भैँसी, बाख्रा, घर वरपर राखेका मौरीका घारमा रहेका मौरी र माछा पालनबाट पनि कार्कीले मनग्गे आम्दानी गर्दै आएका छन्।
'मैले १८ वर्षको उमेरदेखि तरकारी खेती सुरु गरेको हुँ,' कार्कीले विगत कोट्याउँदै भने, 'त्यतिबेला मलाई जागिर खान वा विदेश जानका लागि धेरै अफर आएका थिए, तर मैले जागिर पनि नखाने र विदेश पनि नजाने अड्डी लिएर कृषि पेशा सुरु गरेँ।'
एक हजार लगानीबाट सुरु गरेको व्यावसायिक तरकारी खेतीले कार्कीलाई अहिले रु एक करोडभन्दा बढीको मालिक बनाएको छ। तरकारी बिक्रीबाट आएको आम्दानीले कार्कीले अत्यन्तै महँगो सहरमध्येमा पर्ने बेनी बजारको मंगलाघाटमा घडेरी किनेर घरसमेत बनाइसकेका छन्। कृषिबाट मात्र वार्षिक रु १२ लाखभन्दा बढी कमाइ गर्छन् उनी। गाउँमा र बेनीको मंगलाघाटमा गरी उनको दुई वटा पसलसमेत छ।
'माटोसँग खेल्दा र पसिना चुहाउँदा निकै आनन्दको अनुभूति हुन्छ,' कार्कीले भने, 'यही माटोमा गरेको परिश्रमले मलाई यहाँसम्म ल्याइपुर्यायो। यिनै पसिना विदेशी भूमिमा खर्च गरेको भए न मैले यत्तिको कमाउन सक्थेँ, न मलाई आत्मसन्तुष्टि नै हुन्थ्यो।'
खबराको पिपलडाँडाको तल्लोपट्टि पर्यटकीयस्थल लब्लीहिलको नजिकै रहेको उनको घर र खेतबारी कृषिको प्रयोगशालाजस्तो देखिने स्थानीय भरत कार्कीले बताए। सधैँभरि तरकारी र फलफूलले हरियाली देखिने कार्कीको नर्सरी, तरकारी खेती र केराबारी हेर्नका लागि लब्लीहिलमा पुगेका आन्तरिक तथा बाह्य पर्यटक समेत उनको घरमा नै जाने गरेका छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।