काठमाडौं- शुक्रबारबाट ललितपुरको होटल गार्डेनमा सातौं मेडइन नेपाल एक्पो सुरु भएको छ। दुई दिने एक्पोको उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री मातृका यादवले उद्घाटन गरेका हुन्।
एक्पोको उद्घाटन गर्दै मन्त्री यादवले मेडइन नेपाल एक्पोले नेपालमा सियो पनि बन्दैन भन्नेहरूका लागि गतिलो जवाफ दिएको बताए।
युवाहरूले आफ्नै लगानीमा स्वदेशमै केही गर्न सकिन्छ भन्ने उदाहरण एक्सोमार्फत् प्रस्तुत गरेको उनको भनाइ थियो। स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न र उत्साही बनाउन मन्त्रालयले काम गर्दै आएको भन्दै उनले आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने बताए।
मन्त्री यादवले युवा उद्यमीहरूलाई प्रोत्साहन गर्न सरकार तयार रहेको र गरी पनि रहेको उल्लेख गरे। ‘देशमा व्यवसाय गर्ने वातावरण छैन भन्ने कहीँ कतै सुनिन्छ तर युवाहरूले आफैंले केही गर्न सकिन्छ भनेर लाग्नु भएको छ,’ उनले भने, ‘सरकारले उहाँहरूको आँट र हिम्मतलाई सम्मान गर्छ र हौसला दिन्छ।’
मेला आयोजक नेपाली युवा उद्यमी मञ्चका अध्यक्ष निकोलश पाण्डेले स्वदेशमै उद्यम गरिरहेका र बजारको पहुँच नपाएका उद्यमीहरूलाई स्पेश उपलब्ध गराउने उद्देश्यले मेलाको आयोजना गरिएको बताए।
‘युवा उद्यमी प्रशस्त हुनुहुन्छ,’ उनले भने, ‘आफूले उत्पादन गरेका सामग्रीहरूले सहज बजार पाउन सकेको अवस्था छैन, उद्यमीहरूले उत्पादित समाग्रीहरूको बजारीकरण गर्न सकोस् र दुईचार पैसा आम्दानी पनि गर्न सकोस् भनेर एक्पोको आयोजना गरेका हौं।’
हाल नेपाल युवा उद्यमी मञ्चमा देशभरका ४ सय ५० भन्दा बढी उद्यमीहरुको सहभागिता रहेको छ। प्रदर्शनीमा नेपालमा उत्पादित कपडा, मूर्ति, विभिन्न जडिबुटी, अर्गानिक तरकारी, पश्मिना अचार, महलगायत विभिन्न कम्पनीका उत्पादन तथा फुड, बैकिन गरी १ सय वटा स्टलहरुको सहभागीता रहेको छ। मेला शनिबारसम्म चल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।