काठमाडाैं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मास्क नलगाउने व्यक्तिलाई प्रवेश नदिइने भएको छ।
अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गाैचरले बिहीबार सूचना जारी गरी विमानस्थलमा प्रवेश गर्दा अनिवार्य मास्क प्रयोग गर्न आग्रह गरेको हो। मास्क नलगाउने व्यक्तिलाई गेटबाटै फर्काइने कार्यालयले जानकारी दिएको छ।
कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिएसँगै बढ्दो जोखिमलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडानमार्फत् स्वदेश तथा विदेश यात्रा गर्ने सम्पूर्ण यात्रु, आफन्तलाई पुर्याउन तथा लिन आउने व्यक्ति एवं विमानस्थलका कर्मचारीलाई सतर्कता अपनाउन कार्यालयले अनुरोध गरेको छ।
कार्यालयले अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गर्ने व्यक्तिले अनिवार्य रुपमा पीसीआर रिपोर्ट लिई प्रवेश गर्न तथा विमानस्थलमा भीडभाड नगर्नसमेत अपिल गरेको छ।
यस्तो छ विमानस्थल सुरक्षा कार्यालयको सुझाव:
- विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ र यसको बढ्दो जोखिमलाई मध्यनजर राखी सावधानीपूर्वक यात्रा गरौं।
- विमानस्थलजस्तो संवेदनशील/महत्त्वपूर्ण क्षेत्रमा धेरै भीडभाड नगरौं।
- सामाजिक दूरी कायम गरौं।
- ह्यान्ड स्यानिटाइजर, मास्क, पीपीईलगायतका स्वास्थ्य सामग्रीहरुको प्रयोग गरौं।
- प्रस्थान गर्ने व्यक्तिले अनिवार्य रुपमा पीसीआर रिपोर्ट लिई प्रवेश गरौं।
- टिकट भएका यात्रु महानुभावहरु, विशेष अवस्थाका यात्रुलाई पुर्याउन तथा लिन आउनुहुने महानुभावहरुबाहेक अन्य अवस्थामा विमानस्थल एरियामा अनावश्यक भीडभाड नगरौं। सकेसम्म विमानस्थलको प्रवेशद्वारबाटै फर्कौं।
- यात्रु महानुभावहरुले विमानस्थल चेक-इन एरियामा सामाजिक दूरी कायम गरी प्रस्थान गरौं।
- कोभिड-१९ एवं विदेश जाँदा लैजान हुने नहुने चिजवस्तुहरुको बारेमा जानकारी विमानस्थल प्रहरीद्वारा जडान गरिएका फ्लेक्स बोर्ड, डिजीटल डिस्प्ले, टीभी स्क्रिन एवं विभिन्न सूचनापाटीबाट समेत लिने गरौं।
- विमानस्थलसँग सम्बद्ध जुनसुकै समस्या वा गुनासो भएमा प्रहरी सहायता कक्ष, कार्य अधिकृतको सम्पर्क नम्बर ९८५१२८७२३९ वा यस कार्यालयको सम्पर्क नम्बर ०१-४११३१५१ मा सम्पर्क राख्नुहोला।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।